भारतीय आक्रमणको पाकिस्तानले जबाफ दिन्छ: पाकिस्तानी विदेशमन्त्री

  • 26 फेब्रुअरी 2019
शाह महमूद क़ुरैशी तस्वीर कपीराइट @SMQureshiPTI

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रुभताको उल्लङ्घन गरेको र त्यसको उचित जबाफ दिइने बताएका छन्।

आफ्नो वायुसेनाका विमानहरूले बम हानेर पाकिस्तानमा रहेको लडाकु समूह जैश-ए-मोहम्मदको शिविरमा ध्वस्त पारिदिएको दाबी भारतीय पक्षले गरेको छ भने पाकिस्तानी सेनाले भारतीय विमानहरूलाई लखेटिएको बताएको छ।

मङ्गलवार बिहान भएको घटनापछि पाकिस्तानमा सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्यो।

प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको बैठकपछि एउटा विज्ञप्तिमा भारतको दाबीको खण्डन गरिएको छ।

"बालाकोटनजिक रहेको कथित आतङ्कवादी शिविर नष्ट पारिएको र ठूलो मानवीय क्षति भएको भारतीय दाबीको हामी खण्डन गर्छौँ।"

पाकिस्तानले स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूलाई सो स्थानमा लैजान थालेको छ।

सो आक्रमण अनावश्यक रहेको भन्दै पाकिस्तानले उचित समयमा आफ्नै किसिमले प्रत्युत्तर दिने बताएको छ।

तस्वीर कपीराइट Getty Images

बैठकपछि विदेशमन्त्री कुरैशीले भने, "एकचोटि फेरि भारत सरकारले आफ्नो उद्देश्य पूरा गर्न आधारहीन र मनगढन्ते दाबी गरेको छ। यो उनीहरूको आफ्नो घरेलु आवश्यकता पूरा गर्न गरिएको हो किनभने त्यहाँ निर्वाचनको वातावरण छ र त्यसका लागि क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा पारिदिए।।"

प्रधानमन्त्री इमरान खानले सेना र सर्वसाधारणलाई जस्तोसुकै परिस्थितिका लागि तयार रहन भनेको उनले बताए।

उनले भने, "यो पाकिस्तानविरुद्ध आक्रमण हो र पाकिस्तानले जबाफ दिन्छ।"

उनले परिस्थितिलाई बिगार्ने आफ्नो उद्देश्य नभएको तर आक्रमणको प्रत्युत्तर दिने पाकिस्तानको अधिकार भएको उनले बताए।

फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मीलाई लक्ष्य गरी जैश-ए-मोहम्मदले एउटा आत्मघाती आक्रमण गरेको थियो। सो घटनामा ४६ भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो।

सो आक्रमण पाकिस्तानले गराएको आरोप भारतीय पक्षले लगाएको छ। त्यसपछि भारत र पाकिस्तानबीच कटुता उत्पन्न भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारी तथा षड्यन्त्रकारीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए।

पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमाथि आक्रमण भए प्रतिकार गर्ने बताएका थिए।

वार्ताबाट मात्र कश्मीरको विवाद समाधान गर्न सकिने तर भारतले सैन्य कारबाही गरे आफूले प्रत्युत्तर दिने उनले बताएका थिए।

कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ।

पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

कश्मीरको पुलवामामा भएको आक्रमण पाकिस्तानले गराएको आरोप भारतीय पक्षले लगाएको छ। त्यसपछि भारत र पाकिस्तानबीच तनाव चर्किएको हो।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार