महाशिवरात्रि पर्वबाट नेपालले लिन सक्ने तीन फाइदाहरू यी हुन्

  • 4 मार्च 2019
पशुपतिनाथ मन्दिर

नेपालमा महाशिवरात्रि पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रिको बेला काठमाण्डूको पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ।

तर पशुपतिनाथको भिडको गाथा अर्कै छ। अरु मठ मन्दिरमा हुने भिडसँग महाशिवरात्रिको बेला पशुपति क्षेत्रमा हुने भिडको तुलना हुन नसक्ला।

आनादि कालदेखि नै अस्तित्वमा रहँदै आएको विश्वास गरिने पशुपतिनाथको मन्दिर ईशाको पहिलो वा दोस्रो शताब्दीतिर सुपुष्प देव राजाको पालामा स्थापित भएको मानिन्छ।

पशुपतिनाथको मन्दिरमा महाशिवरात्रि पर्व मनाउने प्रचलन र परम्परा पनि त्यति नै पुरानो हुनसक्ने जानकारहरू बताउँछन्। पछिल्लो कालखण्डमा विक्रम सम्बत् २००७ सालअघि बाहिरी विश्वको लागि बन्द रहने नेपाल महाशिवरात्रिको बखत मात्र खुल्ने गरेको संस्कृतिविद् डाक्टर गोविन्द टण्डन बताउँछन्।

उनी भन्छन्, "महाशिवरात्रिको बेलामा आठ दिन नेपाल खुल्ने गर्दथ्यो। त्यहिबेला भारतीय र अन्य देशका हिन्दू तीर्थयात्रीहरू पशुपतिनाथको दर्शन गर्न आउने गर्दथे।"

२००७ सालको राजनीतिक परिवर्तनपछि परिदृश्य बदलियो। नेपाल बाहिरी विश्वका लागि खुल्ला भएपछि नेपालमा विदेशी आउने क्रम बढ्यो। पशुपतिनाथमा पनि भारतीय र अन्य देशका तीर्थालु आउने क्रम बढ्यो।

तस्वीर कपीराइट Reuters

संस्कृतिविद् डाक्टर गोविन्द टण्डन पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव पनि हुन्। उनको विचारमा महाशिवरात्रि पर्वबाट नेपालले मूलत: तीन किसिमको लाभ लिन सक्छ।

आर्थिक फाइदा

पशुपतिनाथको मन्दिरमा ओइरिने तीर्थयात्री तथा अन्य पर्यटकहरूले नेपालभित्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैसा भित्र्याइरहेका हुन्छन्। उनीहरूको बढ्दो संख्याले देशको पर्यटन उद्योगलाई आर्थिक फाइदा पुर्‍याउने नै भयो।

तीर्थालु तथा पर्यटकहरूले पशुपतिनाथको मन्दिरमा पनि भेटीघाटी, दान दक्षिणा, दस्तुर वा अन्य स्वरूपमा आर्थिक फाइदा पुर्‍याइरहेका हुन्छन्। यो शिवरात्रिको अवसरमा करिब १० लाख तीर्थालु पशुपतिनाथ पुग्ने अनुमान गरिएको छ।

उनीहरू मध्ये थुप्रै तीर्थालु छिमेकी भारत, मलेशिया, इन्डोनेशिया, मरिसस अन्य देशबाट आएको अनुमान गरिएको छ। यो महाशिवरात्रिको अवसरमा कति भेटीघाटी मन्दिरमा चढाइएला? त्यो प्रष्ट छैन।

तर पशुपतिनाथमा वर्षेनी करोडौँ रूपैयाँ नगद र सुनचाँदी जस्ता बहुमूल्य धातु भक्तजनहरूले चढाउने गरेको टण्डन बताउँछन्। पशुपतिनाथ आउने यात्री नेपालका अन्य मठमन्दिरमा पनि आकर्षित हुने गरेका छन्। उनीहरूको नेपाल बसाइ लम्ब्याउन सकिन्छ।

उनी भन्छन्, "हामीले नेपालमा यातायात र मन्दिर क्षेत्रमा अन्य सेवा सुविधा विस्तार गर्न सकेमा त्यो अझै बढ्छ। त्यो देशको आम्दानीको अन्य श्रोत बन्न सक्छ।"

आध्यात्मिक फाइदा

तस्वीर कपीराइट Keshav Koirala

जानकारहरू भन्छन् पशुपतिनाथ धेरै हिन्दूहरूका लागि जीवनमा एक पटक नपुगी नहुने तीर्थस्थल हो। थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्दछन्।

टण्डनका विचारमा पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्दछ। पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दू धर्मावलम्बीको विश्वास रहँदै आएको छ।

टण्डन भन्छन्, "विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन्। महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ।"

सांस्कृतिक फाइदा

आर्थिक र आध्यात्मिक लाभसँगै महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ। युनेस्कोको विश्व सम्पदा अङ्कित पशुपति क्षेत्र एउटा खुला संग्रहालय जस्तो छ।

वाग्मती नदी किनारमा अवस्थित पाशुपत क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक विविधिताहरू देख्न सकिन्छ।

पशुपतिनाथको भ्रमणमा आउने तीर्थालु वा पर्यटकहरूले पशुपति क्षेत्रका तिनै विविधता हेर्न र तिनमा भिज्न सक्दछन्। विदेशी तीर्थालु र पर्यटकको आगमनले सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्ने ठान्छन् संस्कृतिविद् टण्डन्।

उनी भन्छन्, "धेरैभन्दा धेरै भारतीय र अन्य छिमेकी देशका तीर्थालु पशुपति क्षेत्रमा आकर्षित गर्न सकियो भने देश देशबीचको सम्बन्ध सुधारमा पनि सहयोग पुग्दछ।"

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको भ्रमण एवं दर्शन गरेपछि पशुपतिनाथ आउने भारतीय तीर्थालुहरूको संख्या बढिरहेको उनी बताउँछन्। भारतीय तीर्थालु आउने क्रम महाशिवरात्रि पर्वमा मात्र सीमित छैनन्। उनीहरू वर्षैभरि पशुपतिनाथको भ्रमणमा आउने गर्छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
पशुपतिमा शिवरात्रि

सम्बन्धित सामग्री