महिला दिवस: नेपालमा महिनावारीका बेला हुने महिलाको खर्च पाकिस्तानपछि दोस्रो स्थानमा

  • 8 मार्च 2019
स्यानीटरी प्याड

महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बीबीसीले गरेको एउटा विश्लेषणमा देखिएको छ। त्यो विश्लेषणका लागि एशियाका विभिन्न १८ देशबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।

औसतमा नेपाली महिलाहरूले आफ्नो मासिक आयको तीन प्रतिशत रकम महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्ने गरेका छन्। यो एशियाकै राम्रो अर्थतन्त्र भएका देशहरू सिङ्गापुर (०.२२%) र दक्षिण कोरिया (०.३४%) भन्दा झन्डै दश गुणाले बढी खर्च हो।

यो रकम औसत नेपाली परिवारले शिक्षामा खर्च गर्ने रकमजति नै हो।

यो विश्लेषण खुद्रा पसलमा बिक्री हुने स्यानिटरी प्याड, दुखाइ कम गर्ने औषधि र डन्डीफोर आउँदा लगाउने क्रिमको मूल्यका आधारमा गरिएको छ। विशेषज्ञहरूका अनुसार यी सामग्री सामान्यतया प्रत्येक चक्रमा सात दिन प्रयोग गरिन्छ।

अन्तर्राष्ट्रिय मुद्राकोषले देखाएको विभिन्न देशको पर्जेजिङ पावर प्यारिटी (पीपीपी)को दरलाई आधार मानेर मूल्यको समायोजन गरिएको छ। त्यसपछि उक्त देशका महिलाहरूको औसत मासिक आय सँग तुलना गरिएको छ।

नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्। यो रकमले काठमाण्डूमा तीनवटा शयनकक्ष भएको अपार्ट्मेन्टमा सात महिनाको भाडा तिर्न पुग्छ।

त्यति रकमले एउटी महिलाले सप्ताहान्तमा हलमै गएर झन्डै पाँच सयवटा चलचित्र हेर्न सक्छिन्। हरेक सप्ताहान्तमा चलचित्र हेर्न जाने हो भने उक्त रकम १० वर्षका लागि पर्याप्त हुन्छ।

तलको क्याल्कुलेटर प्रयोग गरेर विभिन्न देशका महिलाले महिनावारी हुँदा गर्नुपर्ने खर्चको बारेमा थाहा पाउन सकिन्छ।

देश सामग्रीको औसत मूल्य र तलबको अनुपात
पाकिस्तान ६%
नेपाल २.७%
लाओस २.४%
बाङ्ग्लादेश २.१%
भारत २%
फिलिपिन्स २%
म्यानमार २%
इन्डोनेशिया १.७%
श्रीलङ्का १.२%
कम्बोडिया १.१%
भियतनाम ०.८%
मलेशिया ०.८%
थाईल्यान्ड ०.७%
ब्रुनाई ०.६%
चीन ०.५%
जापान ०.४%
दक्षिण कोरिया ०.३%
सिङ्गापुर ०.२%

एक महिनामा निम्न सामग्रीहरू तपाईँ कति प्रयोग गर्नुहुन्छ?

नेपालमा डिस्पोजेबल स्यानिटरी प्याड महँगो छ। उदाहरणका लागि नेपाली महिलाहरूले भारतीय महिलाहरूको तुलनामा झन्डै दुई गुणा खर्च गर्छन्। वास्तवमा नेपालमा धेरै महिलाहरू निकै कम खर्च गर्छन्। तर यो खुसी हुने विषय हैन।

तस्वीर कपीराइट Getty Images

स्यानिटरी प्याडको खर्च धान्न नसक्ने हुँदा उनीहरू कम खर्च गर्छन् र स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाउँछन्। यसो गर्दा आर्थिक भार नपरे पनि अरू किसिमले मूल्य तिर्नुपर्छ।

"अधिकांश महिलाहरू सारी वा कपडा प्रयोग गर्छन् वा खुल्ला रूपमा रगत बगाउँछन्। फोहर कपडाको बारम्बार प्रयोग गर्ने वा अनुपयुक्त रूपमा धुने, सुकाउने र राख्ने प्रक्रियाले मूत्रनलीमा सङ्क्रमण हुन सक्छ," ब्रिटिश अक्याडमीको आर्थिक सहयोगमा अनुसन्धान गरेका डा. केय स्टयान्डिङ र डा. सारा पार्करले प्रतिवेदनमा भनेका छन्।

महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न नसक्दा उनीहरू हेपिन्छन्। तसर्थ त्यस्तो अवस्थामा उनीहरू छाउपडी भनिने पुरानो प्रचलनअनुसार गाईगोठ वा छाप्रोमा छुट्टै बस्न बाध्य हुन्छन्।

सन् २०११ मा संयुक्त राष्ट्रसङ्घले पश्चिम नेपालका ग्रामीण भेगमा उल्लेख्य सङ्ख्यामा महिलाहरूलाई छाउपडी मान्न बाध्य पारिएको बताएको थियो। सो परम्परालाई नेपाल सरकारले गैरकानुनी घोषणा गरिसकेको छ।

तस्वीर कपीराइट Getty Images

माथिको क्याल्कुलेटरले कसरी काम गर्छ?

क्याल्कुलेटरमा राखिएको तथ्याङ्क महिलाहरूले आफ्नो देशमा महिनावारीका बेला प्रयोग गर्ने लोकप्रिय सामग्रीको मूल्य र प्रत्येक मासिक चक्रमा हुने त्यस्ता सामानको औसत प्रयोगको आधारमा सङ्कलन गरिएको हो। त्यस्ता सामग्रीको मूल्य सम्बन्धित देशमा रहेका चर्चित अन्लाइन स्टोरबाट प्राप्त गरिएको हो।

मूल्य नभेटिएको अवस्थामा बीबीसीका स्थानीय संवाददाता र महिनावारी हुँदाको सरसफाइसम्बन्धी क्षेत्रमा काम गर्ने गैरनाफामूलक संस्थाबाट प्राप्त गरिएको हो।

औसत महिलाले महिनावारीको पहिलो दिनमा दुखाइ महसुस गर्ने हुँदा पेनकिलर अर्थात् दुखाइ कम गर्ने औषधिलाई समेत गणना गरिएको हो।

व्यक्तिगत खर्चको मूल्य महिनावारीका बेला एउटा चक्रमा प्रयोग गरिएको सामग्रीलाई ४८० ले गुणन गरेर पत्ता लगाइन्छ जुन राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार एउटी महिला आफ्नो जीवनकालमा महिनावारी हुने औसत सङ्ख्या हो।

सफ्टवेयर इन्जीनिएर: लेबेन आसा

डिजाइनर: अर्विन सुप्रीयादी