बोइङ: ब्रिटेनले पनि ७३७ म्याक्स मोडलको विमानको उडानमा प्रतिबन्ध लगाएको छ

  • 14 मार्च 2019
सिल्क एअरको म्याक्स एट विमान तस्वीर कपीराइट Reuters

ब्रिटेनको नागरिक उड्डयन प्राधिकरणले "सावधानीस्वरूप चालिएको कदम" भन्दै यूकेको आकाशमाथिको हवाई क्षेत्रबाट बोइङ सेभन थ्री सेभेन म्याक्स मोडलका विमानको उडानमा प्रतिबन्ध लगाएको छ।

बोइङ कम्पनीले निर्माण गरेको सेभेन थ्री सेभेन म्याक्स मोडलको विमानको उडानमा यसअघि सिङ्गापुर, चीन, मलेशिया र अस्ट्रेलियाले अस्थायी प्रतिबन्ध लगाएका थिए।

आइतवार १५७ जनाको ज्यान जानेगरी इथियोपियन एअरलाइन्सको बोइङ म्याक्स एट विमान दुर्घटना भएपछि ति देशहरूको यस्तो निर्णय आएको छ।

गत पाँच महिनाभन्दा कम समयमा उक्त मोडलको विमान दुर्घटनाग्रस्त भएको त्यो दोस्रो घटना थियो।

सिङ्गापुरको चाङ्गी विमानस्थलन संसारको सबैभन्दा व्यस्त मध्येको छैठौँ विमानस्थल हो र एशियालाई युरोप र अमेरिकासँग जोड्ने महत्त्वपूर्ण केन्द्र पनि हो।

तर त्यहाँबाट केही थोरै सङ्ख्यामा मात्रै बोइङको म्याक्स विमान सञ्चालनमा छन्।

कुनै पनि अस्ट्रेलियाली विमान सेवाले बोइङ सेभेन थ्री सेभेन म्याक्स सञ्चालन गर्दैनन्।

तस्वीर कपीराइट Reuters

त्यहाँ खाली सिल्कएअर र फिजी एअरवेजले मात्रै उक्त मोडलको विमान उडाउँछन्।

प्रतीक्षा

अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणमा हवाई सुरक्षा प्रमुख शेन कारमोडीले भनेका छन् ती विमानहरूको उडानमा लगाइएको प्रतिबन्ध उक्त सङ्गठनले "सुरक्षा जोखिमको समीक्षा गर्न थप जानकारी"को प्रतीक्षा गरिरहँदासम्म कायमै रहनेछ।

संसारको विभिन्न देशहरूले उक्त दुर्घटनापछि म्याक्स एट मोडलका विमानहरूलाई पहिले नै ग्राउन्डेड अथवा उडानमा प्रतिबन्ध लगाइसकेका छन्।

दक्षिण कोरियाले पनि देशभित्र म्याक्स एट विमान भएको एकमात्र विमान सेवा इस्टार जेटलाई पनि बुधबारदेखि ति विमानहरू नउडाउन निर्देशन दिएको छ।

मलेशियाले भने आफ्नो हवाई क्षेत्रबाट नै ति मोडलका विमानहरू नउडान प्रतिबन्ध लगाएको एएफपी समाचार संस्थाले जनाएको छ।

संयुक्त राज्य अमेरिकामा भने देशको संघीय उड्डयन प्रशासन (एफएए) ले दुईवटा नराम्रा दुर्घटनामा परेको भएतापनि उस्को विश्वासमा बोइंग सेभेन थ्री सेभेन म्याक्स एट मोडलका विमानहरू उडानका लागि योग्य रहेको सोमवार विमान कम्पनीहरूलाई बताएको थियो।