‘विप्लव माओवादीका गतिविधि नियन्त्रण गरिने’

  • 13 मार्च 2019
विप्लव माओवादीका नेता तस्वीर कपीराइट RSS

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको उसले जनाएको छ।

मन्त्रिपरिषद् बैठकपछि रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, "उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो। सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो।"

सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पुर्याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ।

घटनाक्रम

केही साता अघि उक्त समूहले गराएको विस्फोटमा परी ललितपुरमा एकजनाको ज्यान गएको थियो।

देशका विभिन्न ठाउँमा उक्त समूहले बम विस्फोट गराउँदै आएको छ।

तस्वीर कपीराइट .

दुई दिन अगाडि प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधि नसच्च्याए सरकारले नियन्त्रण गर्ने चेतावनी दिएका थिए।

मङ्गलवार इलाम र झापाको सिमाना सुखानीमा आयोजित स्मृति सभामा बोल्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई वामपन्थीकै सरकार भए पनि नछोडिने बताएका थिए।

"कम्युनिस्ट पार्टीको नाम लिएर लुटमार गर्ने काम बन्द गर्नुस्। होइन भने जनताको सरकार छ, शान्ति सुव्यवस्था र अमनचयन कायम गर्नका लागि नियन्त्रण गर्नुपर्ने हुन्छ।"

गत वर्ष चुनावको संघारमा विप्लव माओवादीले आफ्ना गतिविधि तेज पारेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले उक्त पार्टीको नेतृत्व तहविरुद्ध समेत कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिएको थियो।

विप्लव माओवादीको पृष्ठभूमि

विसं २०६९ को असारमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।

पछि वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी "क्रान्तिकारी हुन नसकेको" भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे।

औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दल विप्लव माओवादीका रूपमा चिनिन्छ।

'निर्णायक क्रान्ति' गर्ने भन्दै उसले सरकारी पक्षसँग वार्ता गर्न मानेको छैन।

पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो गरेका छन्। त्यहाँ उनीहरूले 'जनसरकार' को घोषणा पनि गरेका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
हेमन्तप्रकाश ओली

सम्बन्धित समाचार