मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा

  • 14 मार्च 2019
मिर्गौला तस्वीर कपीराइट crick institute

मिर्गौलाको महत्त्वबारे जनजागरण अभियान सञ्चालन गरेर बिहीवार मार्च १४ मा विश्व मिर्गौला दिवस मनाइँदैछ।

यसै अवसरमा हामीले त्रिभुवन विश्वविद्यालयको टिचिङ अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा. दिव्या सिंहसँग कुराकानी गरेर मिर्गौला र यसमा हुने समस्याबारे थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा यहाँ प्रस्तुत गरेका छौँ।

मिर्गौलाको काम

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्।

मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन्।

शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन्।

हड्डीलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौलामै बन्छन्। तर रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाव पर्न गई यी काम राम्ररी हुन पाउँदैनन्।

मिर्गौलामा कसरी समस्या देखिन थाल्छ

मिर्गौलामा प्राय: मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ। चालीस वर्ष कटेपछि यस्तो समस्या बढी देखिएको छ।

केही मानिसमा वंशाणुगत कारणले मधुमेह हुन्छ। तिनले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ।

तस्वीर कपीराइट RSS

तौल धेरै हुँदा यसको जोखिम उच्च हुनेगर्छ। सामान्य रूपमा भन्दा त धेरै गुलियो र चिल्लो भएको खानेकुरामा नियन्त्रण राख्नु नै यसबाट बच्ने तरिका हो।

एकैखाले आहार नभई शरीरलाई चाहिने सबैखाले तत्त्वहरु समेटिने सन्तुलित भोजन गर्नुपर्छ।

कम उमेरका मानिसमा पनि

मिर्गौलाको समस्या सबै उमेर समूहका व्यक्तिमा हुन सक्छ। तर त्यसको कारण फरक हुनसक्छ।

बालबालिकालाई पिसावनलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले सङ्क्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर मिर्गौलाको समस्या देखिएको पाइन्छ।

पिसाबमा अत्यधिक प्रोटिन चुहिने समस्या देखियो भने पनि यस्तो जोखिम बढ्छ।

तस्वीर कपीराइट Science Photo Library

महिलामा फरक कारण

महिलाहरूमा पाइअलोनिफ्राइटिस भनिने मिर्गौला सुन्निने समस्याले पछिसम्म नराम्रो असर पारेको पाइएको छ।

अध्ययनहरूका अनुसार शरीरको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित यो रोग मङ्गोल वर्ण भएका र थारू समुदायका महिलामा केही बढी देखिएको छ।

तर अन्य महिलामा पनि यस्तो समस्या देखिने गरेको छ।

तस्वीर कपीराइट RSS
Image caption विश्व मिर्गौला दिवसको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली। सन् २००७ मा उनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

समस्या भए यस्ता सङ्केत

केही लक्षणहरूले समस्या भएको सङ्केत गर्छन्। जस्तै, पिसाबमा फिँज आइरहनु वा पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु।

छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ।

कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो।

यो पनि पढ्नुहोस्

सुत्दा अग्लो सिरानी चाहिने वा थोरै हिँडे पनि स्याँस्याँ हुने वा त्यत्तिकै थाकेजस्तो लाग्ने लक्षण देखि पनि परीक्षण गराइहाल्नुपर्छ।

कस्तो परीक्षण

मिर्गौलाको समस्या भएको शङ्का भए रक्तचाप, शरीरमा चिनीको मात्रा र पिसाबको परीक्षण गरिन्छ र तदनुरूप प्रारम्भिक उपचार सुरु हुन्छ।

यसो गर्न समय र खर्च दुवै धेरै लाग्दैन।

तिनमा समस्या देखियो भने मात्र मिर्गौलाले कति काम गरेको छ भनेर जाँच्न थालिन्छ।

तस्वीर कपीराइट RSS

मिर्गौलाले काम गर्न छाडेपछि उपचार जटिल र महँगो हुन्छ। त्यसैले सुरुमै केही चनाखो हुँदा भविष्यमा हुन सक्ने समस्या टार्न सकिन्छ।

मिर्गौला फेर्ने अवस्था

मिर्गौलाले काम गर्न छाड्यो भने शरीर सुन्निने, पिसाब रोकिएर वाकवाक आउनेजस्ता समस्याहरू देखा पर्छन्।

तर मधुमेह, रक्तचाप, पाइअलोनिफ्राइटिसजस्ता रोगले भने बिस्तारै असर पारिराखेका हुन्छन्। मानिसको दैनिकीमा निकै अप्ठ्यारो पार्ने लक्षण चाहिँ देखिँदैन।

तर बेलैमा विचार नपुर्‍याए ठूलो समस्या आइसकेपछि अस्पताल जाँदा धेरै ढिलो भइसक्छ।

मिर्गौलाले काम गर्न छाड्दा शरीरका अन्य अङ्गलाई पनि असर पार्ने जोखिम उच्च हुन्छ। त्यस्तो अवस्थामा डाइलिसिस वा मिर्गौला प्रत्यारोपण गरेर बिरामीलाई जोगाउनुपर्ने हुन्छ।

त्यसैले ३० वर्ष नाघेपछि सबैले कम्तीमा एक पटक स्वास्थ्यपरीक्षण गर्न आवश्यक छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
श्रीमती बचाउन आफ्नै मिर्गौला

सम्बन्धित समाचार