मान्सा मुसा: अहिलेसम्मकै सबभन्दा धनी व्यक्ति

  • 17 मार्च 2019
मान्सा मुसा मक्काको तीर्थयात्रा गर्दै
Image caption मान्सा मुसा मक्काको तीर्थयात्रा गर्दै - एन्ड्र्यु मारको हिस्ट्री अफ द वर्ल्ड सिरिजबाट लिइएको चित्र

एमेजनका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। यो सन् २०१९ को फोर्ब्स अर्बपतिको सूचीमा आधारित तथ्य हो।

अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेका बेजोस आधुनिक कालका सर्वाधिक धनी व्यक्ति हुन्।

तर उनी संसारमा अहिलेसम्मका सबैभन्दा धनाढ्य व्यक्ति भने होइनन्।

संसारका सबैभन्दा धनी व्यक्ति अहिले पनि १४औँ शताब्दीका पश्चिम अफ्रिकी शासक मान्सा मुसा हुन्।

उनले दिएको दानका कारण एउटा पूरै देशको अर्थतन्त्र धर्मराउन पुगेको थियो।

क्यालिफोर्निया विश्वविद्यालयमा इतिहास प्राध्यापन गर्ने रुडल्फ बुच वेअरले बीबीसीलाई भने, "मुसाको सम्पत्तिको अहिले गणना गर्दा उनी कति धनी र शक्तिशाली थिए भन्ने थाहा हुन्छ।"

ज्याकोब डेभिडसनले सन् २०१५ मा मनी डट कममा लेखेअनुसार ती अफ्रिकी राजा मान्सा मुसा अरूले अनुमान गर्न सक्नेभन्दा धेरै धनी थिए।

सन् २०१२ मा सेलिब्रिटी नेट वर्थ नामको अमेरिकी वेबसाइटले उनको सम्पत्ति ४०० अर्ब डलर भएको अनुमान गरेको थियो।

तर अर्थशास्रका इतिहासकारहरू उनको सम्पत्ति सङ्ख्यामा लेख्न असम्भव रहेकोमा सहमत छन्।

तस्वीर कपीराइट Getty Images
Image caption मान्सा मुसाले सन् १३२७ मा बनाउन लगाएको जिङ्गरेबर मस्जिद

अहिलेसम्मका सर्वाधिक १० धनी व्यक्तिहरू

  • मान्सा मुसा(१२८०-१३३७, मालीका राजा): सम्पत्ति कति हो भन्नै नसक्नेगरी धेरै
  • अगस्टस सिजर (६३ इसापूर्व-१४इसं, रोमका सम्राट): सम्पत्ति ४६ खर्ब डलर
  • जाओ शु (१०४८-१०८५, चीनमा सङका शेनजोङका सम्राट): सम्पत्ति गणना गर्न नसकिने
  • अकबर पहिलो (१५४२-१६०५, मुगल सम्राट, भारत): सम्पत्ति गणना गर्न नसकिने
  • एन्ड्र्यु कार्नेगी(१८३५-१९१९, स्कटिश अमेरिकी उद्योगपति): ३७२ अर्ब डलर
  • जन डी. रक्फेलर (१८३९-१९३७) अमेरिकी व्यवसायी): ३४१ अर्ब डलर
  • निकोलाई एलेक्जेन्ड्रोविच रोमानोभ (१८६८-१९६७, रुसका जार): ३०० अर्ब डलर
  • मिर ओस्मान अली खान (१८८६-१९६७, भारतीय नवाब): २३० अर्ब डलर
  • विलियम द कन्क्वेरर (१०२८-१०८७): २२९.५ अर्ब डलर
  • मुअम्मर गद्दाफी (१९४२-२०११, लिबियाका लामो समय शासक): २०० अर्ब अमेरिकी डलर

(स्रोत: Money.com, Celebrity Net Worth)

सुनौला राजा

मान्सा मुसाको जन्म सन् १२८० मा भएको थियो।

उनका दाजु मान्सा अबु बकरले माली साम्राज्यमा सन् १३१२ सम्म शासन गरेका थिए। तर उनले एउटा साहसिक यात्रामा जान गद्दी परित्याग गरे।

चौधौँ शताब्दीको सिरियाबारे अनुसन्धान गरेका इतिहासकार शिबाब अल उमरीका अनुसार अबु बकर आन्ध्र महासागर र त्यसपारि के छ भन्ने जान्न धेरै इच्छुक थिए।

उनी दुई हजारवटा पानीजहाज, हजारौँ प्रजा र दासदासीहरू लिएर सो यात्रामा निस्केको बताइन्छ। तर उनीहरू कहिल्यै फर्किएनन्।

दिवङ्गत अमेरिकी इतिहासकार आइभन भ्यान सर्टिमा सो विशाल टोली दक्षिण अमेरिका पुगेको थियो भन्ने धारणासँग सहमत छन्। तर त्यसको कतै प्रमाण छैन।

जे भए पनि मान्सा मुसा उत्तराधिकारी बने।

उनको राज्यकालमा मालीको सीमा बढ्दै गयो। उनले २४ टिम्बक्टुसहित २४ वटा नगर आफ्नो राज्यमा गाभे।

राज्य दुई हजार माइल लामो भूमिमा फैलियो। आन्ध्र महासागरदेखि आधुनिक कालका नाइजर र अन्य देशहरू सेनेगल, मोरिटेनिया, माली, बुर्किना फासो, द गाम्बिया, गिनी बिसाऊ, गिनी र आइभरी कोस्टका कैयौँ भाग यसैमा समेटिएका थिए।

ठूलो भूभाग राज्यमा समेटिएकाले सुन र नुनका स्रोतहरू पनि त्यसै राज्यका हुन आए।

मान्सा मुसाको शासनकालमा माली साम्राज्यमा संसारकै आधा सुन रहेको ब्रिटिश सङ्ग्रहालयको भनाइ छ। अनि त्यसमा राजाको अधिकार हुन्थ्यो।

"शासकका रूपमा मान्सा मुसाको यो बहुमूल्य स्रोतमाथि असीमित पहुँच थियो," नर्थवेस्टर्न विश्वविद्यालयको ब्लक म्युजियम अफ आर्टमा विज्ञता हासिल गरेकी क्याथ्लीन बिक्फर्ड बेर्जोकले बीबीसीलाई बताइन्।

तस्वीर कपीराइट Getty Images
Image caption मान्सा मुसाले मक्काको यात्रामा जाँदा ६० हजार मानिस र १२ हजार दास लगेका थिए

उनले भनिन्, "सुन र अन्य सामानको व्यापार गर्ने प्रमुख व्यावसायिक केन्द्रहरू उनकै साम्राज्यमा पर्थे र यो व्यवसायबाट उनले निकै ठूलो सम्पत्ति हात पारे।"

मक्काको यात्रा

त्यत्रो ठूलो मात्रामा सुन भए पनि माली साम्राज्यमा नाम खासै चलेको थिएन।

तर मुस्लिम धर्मका कट्टर अनुयायी शासक मान्सा मुसाले मक्काको तीर्थयात्रा गरे। उनी सहारा मरुभूमि र इजिप्ट हुँदै मक्का गएपछि त्यसमा परिवर्तन भयो।

उनी ६० हजार मानिसको लावालस्करसहित मालीबाट हिँडेको बताइन्छ।

आफ्ना सम्पूर्ण राजसभा र भारदारहरू अनि सैनिक, मनोरञ्जक, व्यापारी, ऊँटका माहुते, १२ हजार दास र भेडाबाख्राको लामो लस्कर लिएर उनी हिँडेका थिए।

मरुभूमिमा एउटा नगर नै हिँडिरहेको जस्तो देखिन्थ्यो। दाससहित सबै जना सुनका गहना र पर्सियाली रेसमका वस्त्रमा सुसज्जित थिए।

यो नि पढ्नुहोस्

सयवटा ऊँटको लर्को, सबैले ठूलो परिणाम सुन बोकेका। त्यो अविस्मरणीय दृश्य थियो।

लस्कर कायरो पुगेर आफ्नो सम्पत्ति प्रदर्शन गर्दा झन् धनी देखियो।

मान्सा मुसाले कायरोमा छोडेको प्रभावको वर्णन १२ वर्षपछि पनि मानिसहरूले गर्ने गरेको अल अमारीले लेखेका छन्।

उनले कायरोमा यसरी सुन वितरण गरे कि सुनको भाउ ह्वात्तै घट्यो र उनको तीनमहिने बसाइका कारण त्यो क्षेत्रको अर्थतन्त्र १० वर्षसम्म बिग्रियो।

तस्वीर कपीराइट Getty Images
Image caption मक्काको यात्राले मान्सा मुसा र मालीलाई चिनाइदियो - सन् १३७५ मा बनाइएको क्याटलन एट्लस नक्साको प्रतिलिपि

अमेरिकामा रहेको प्रविधि कम्पनी स्मार्टएसेट डट कमको अनुमानमा मान्सा मुसाको तीर्थयात्राका कारण भएको सुनको मूल्यस्फीतिले मध्यपूर्वमा १.५ अर्ब डलरको आर्थिक घाटा परेको थियो।

मान्सा मुसा फेरि इजिप्ट हुँदै स्वदेश फर्किए। त्यसरी फर्किँदा उनले पहिला दिएको सुनलाई चर्को ब्याजमा फिर्ता लिएर इजिप्टको अर्थतन्त्रलाई सहयोग गर्न खोजेको केही व्यक्तिको मान्यता छ।

तर केही भने धेरै खर्च गरेकाले उनीसँग भएको सुन सकिएको भन्ठान्छन्।

स्कूल अफ अफ्रिकन एन्ड ओरियन्टल स्टडिज लन्डनकी लुसी डुरन भन्छिन् - मालीमा गाएर ऐतिहासिक गाथा सुनाउनेहरू उनीसँग रिसाएका थिए।

उनी भन्छिन्, "बाटोमा उनले जसरी सुन बाँडे त्यसले गर्दा जेलीहरू [ती कथावाचकहरू] आफ्नो गीतमा उनको प्रशंसा गर्न चाहँदैनन्। किनभने उनीहरूलाई स्थानीय स्रोत साम्राज्यबाहिर खेर फालेको भन्ने लाग्थ्यो।"

शिक्षामा जोड

मान्सा मुसाले आफ्नो तीर्थयात्रामा धेरै खर्च गरे या खेर फाले भन्ने कुरामा कुनै शङ्का छैन। तर उनको त्यो ठूलो दानदातव्यले विश्वको ध्यानाकृष्ट भयो।

मान्सा मुसाले माली र आफूलाई साँच्चै नै नक्सामा अङ्कित गरेका थिए। सन् १३७५ मा कोरिएको क्याटलन एटलस नक्सामा टिम्बक्टुमाथि एकजना अफ्रिकी राजा सुनको मुकुट लाएर हातमा सुन लिएर सुनको गद्दीमा बसेको देखिन्छ।।

टिम्बक्टु यति प्रख्यात भयो कि मानिसहरू टाढाटाढाबाट त्यहाँ जान थाले।

उन्नाइसौँ शताब्दीसम्म पनि यसको मिथकीय स्थान थियो।

मान्सा मुसा मक्काबाट इस्लामिक विद्वान्‌हरू लिएर फर्किएका थिए। तिनमा पैगम्बर मोहम्मदका सन्ततिदेखि कवि एवम् वास्तुशास्त्री अबु एस हक एस सहेली पनि थिए जसले पछि प्रख्यात जिङ्गरेबर मस्जिद बनाएको बताइन्छ।

राजाले ती कविलाई २०० किलो सुन दिएको बताइन्छ जुन अहिलेको दरमा ८२ लाख डलर हुन आउँछ।

तस्वीर कपीराइट Getty Images
Image caption रोमन सम्राट अगस्टस सिजर अहिलेसम्मकै दोस्रो धनी व्यक्ति हुन् भन्ने मान्यता छ

कला र वास्तुकलालाई प्रोत्साहन दिनुका साथै उनले साहित्य लेखन, विद्यालय, पुस्तकालय र मस्जिद बनाउन पनि आर्थिक सहयोग गरेका थिए।

टिम्बक्टु तत्कालै शिक्षाको केन्द्र बन्यो र संसारभरिका मानिसहरू त्यहाँ शिक्षा लिन आउन थाले जुन पछि स्यान्कोर विश्वविद्यालय बन्न पुग्यो।

यी धनी राजालाई पश्चिम अफ्रिकामा शिक्षाको प्रचलन आरम्भ गर्ने श्रेय दिने गरिन्छ। तर उनको साम्राज्यको कथा पश्चिम अफ्रिकाबाहिर कमैलाई थाहा छ।

"इतिहास विजेताहरूले लेख्छन्।" यो भनाइ दोस्रो विश्वयुद्ध हुँदाका बखत ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिलको हो।

सन्ताउन्न वर्षको उमेरमा सन् १३३७ मा मान्सा मुसाको निधन भएपछि उनका छोराहरूले साम्राज्यलाई एकीकृत राख्न सकेनन्। साम्राज्य टुक्रियो।

पछि युरोपेलीहरूको यो क्षेत्रमा आगमन भएपछि न झन् यो साम्राज्यको अस्तित्व नै हरायो।

मान्सा मुसाको कथा किन धेरैलाई थाहा छैन भन्ने कुराको विश्लेषणमा ब्लक म्युजियम अफ आर्टकी निर्देशक लिसा कोरिन ग्र्याजिओस भन्छिन्, "मध्यकालीन समयको इतिहास भन्नेबित्तिकै पश्चिमाको इतिहास मात्रै आउने गरेको छ।"

रुडल्फ वेच वेअर भन्छन्, "मुसाको समयमा माली सैन्य र आर्थिक उत्कर्षमा रहेको बेला युरोपेलीहरू त्यहाँ पुगेका भए निश्चय नै धेरै कुरामा फरक पर्ने थियो।"

तर उनीहरू दुई सय वर्षपछि मात्रै त्यहाँ पुगे।

सम्बन्धित सामग्री