दुई सय र पाँच सय दरका भारु नेपाल ल्याउन पाइने, सटहीबारे भारत मौन

  • 16 मार्च 2019
भारु तस्वीर कपीराइट AFP

नेपालमा रहेका पुराना भारतीय रुपैयाँ सटही नगरेको भारतले दुई सय र पाँच सय दरका नयाँ नोट नेपाल ल्याउन अनुमति दिएको छ।

नेपाल राष्ट्र ब्याङ्कको अनुसार भारतीय केन्द्रीय ब्याङ्क आरबीआईले नेपालको अनुरोधमा सकारात्मक जवाफ दिएको हो।

भारतबाट पैसासहित फर्कनेहरूका लागि पनि यस व्यवस्थाले सहज हुनेछ।

तर नेपाल आइपुगेका नोटहरू के हुने भन्ने सम्बन्धमा स्पष्ट जवाफ नआएकोले यसको तत्काल उपयोगिता देखिएको छैन।

चारवटा आग्रह

राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार राष्ट्र ब्याङ्कले आरबीआईसँग नेपालमा ठूला दरका नोटका सम्बन्धमा चारवटा विषयमा पत्र लेखेको थियो।

पत्रमा लेखिएका चार कुरा:

  • दुई सय र पाँच सय दरका नयाँ भारतीय नोट नेपालमा ल्याउने सुविधा,
  • नेपालमा आइपुगेका ती दरका नोट फिर्ता लाने व्यवस्था,
  • नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई ती दरका नयाँ नोट साट्न अनुमति, र
  • भारतले प्रतिबन्ध लगाएपछि नेपालमा थन्किएका पुराना पाँच सय र एक हजार रुपैयाँका नोट साटिदिने व्यवस्था

नेपालका चारवटा आग्रहमध्ये आरबीआईले पहिलो अनुरोधमा सकारात्मक जवाफ पठाएको छ।

अस्पष्ट जवाफ

अन्य विषयमा भने भारतले स्पष्ट जवाफ दिएको छैन।

"अस्पष्ट जवाफ आएकाले अन्य तीन विषयमा उसको कुरा प्रस्ट पारिदिन हामीले फेरि पत्राचार गरेका छौँ," ढुङ्गानाले बीबीसीलाई भने।

"अन्य विषयमा स्पष्ट जवाफ नआउँदासम्म हामीले ती दरका नोट नेपालमा ल्याउन दिन सक्ने अवस्था हुँदैन।"

उनका अनुसार आरबीआईले पठाएको पत्रमा भारतबाट नेपाल आउने नेपालीले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन पाउने उल्लेख गरिएको छ। तर त्यसरी नेपाल आएका भारतीय रुपैयाँ भारत लैजानेबारे भने स्पष्टता छैन।

करिब एक महिनाअघि सयभन्दा माथिका भारतीय नोट चलाउन नेपालले प्रतिबन्ध लगाएको सार्वजनिक भएको थियो।

तर ढुङ्गाना भन्छन्, "हामीले प्रतिबन्ध लगाएको होइन। खुला सिमाना भएकाले दुवै देशका मानिसहरू सहजै आउने जाने गर्छन् र उनीहरूमार्फत् ती नोटहरू नेपाल आउने भएकाले हामीले सबैलाई सहज बनाउन ठूला दरका नोट नेपालमा चलाउनका लागि भारत सरकारसँग अनुरोध गरेका हौं।"

नोटमाथि भारतीय प्रतिबन्ध

भारतले सन् २०१६ को अन्त्यमा पाँच सय र एक हजारका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले गैरकानुनी धन र नक्कली नोट नियन्त्रण गर्न भन्दै अप्रत्यासित रूपमा ती नोटहरूको चलनचल्ती बन्द गरिदिएको थियो।

त्यसयता नेपालका ब्याङ्कहरूमा र सर्वसाधरणहरूसँग रहेका पाँच सय र एक हजार दरका पुराना भारतीय रुपैयाँ साटिदिन नेपालले भारतलाई अनुरोध गरेको थियो।

नेपालकमा सर्वसाधारणलाई २५ हजारसम्म त्यस्ता नोट राख्न दिइने भारतीय नियम अनुसार त्यत्तिकै सीमामा पुराना नोट साटिन नेपालले आग्रह गर्दै आएको छ।

त्यसयता त्यस्ता प्रतिबन्धित नोट साट्न भारतीय र नेपाली पक्षबीच विभिन्न चरणमा छलफल भएका छन्।

नेपालमा रहेका नोट साटिएनन्

तर भारतले प्रतिबन्धअघि नै नेपालमा रहेका ती नोट अझै साट्न मानेको छैन।

भुटानमा रहेका त्यस्ता प्रतिबन्धित नोट भने भारतले साटिदिएको विवरणहरू भारतीय सञ्चारमाध्यममा आइसकेका छन्।

यसैबीच भारतीय केन्द्रीय ब्याङ्कले उसको एउटा प्रतिवेदनमा प्रतिबन्धित नोटहरूमध्ये अधिकांश भारतीय ब्याङ्कमा फिर्ता भइसकेको निर्क्योल निकालिसकेकोले पनि नेपालमा थन्किएका ती नोट साटिने सम्भावना न्यून रहेको अर्थविद्हरूले बताएका छन्।

एक सयभन्दा माथिका भारतीय नोट नेपालमा ल्याउन, भारत लग्न र सहज तरिकाले साट्न पाइने भारतले लिखित रुपमा प्रस्ट नपार्दासम्म ती नोट फेरि नेपालमा चलाउने अनुमति दिन राष्ट्र ब्याङ्कले हतार गर्न नहुने उनीहरूको भनाइ छ।

सामाजिक सञ्जालमा यो विषयमा प्रतिक्रिया व्यक्त गर्ने अधिकांशले पुरानो नोट नसाटेसम्म नयाँ चलाउन नहुने धारणा व्यक्त गरेका छन्।

केही नेपालीहरूले भने ठूला भारतीय नोट नेपालमा चल्दा सहज हुने बताउँछन्।

फेसबुकमा प्रवास पराजुली लेख्छन्, "आयात, निर्यात, दैनिक मजदुरी र अन्य व्यापारिक क्रियाकलापका लागि नेपालीहरू भारतीय रुपैयाँमा निर्भर रहेका छन्। भारतीय रुपैयाँमा प्रतिबन्ध गर्नाले गरेर खानेहरू त प्रभावित हुन्छन् नै, नेपाल आउने भारतीय पर्यटक र भारतमा विभिन्न प्रयोजनका लागि जाने नेपालीहरूले समस्या भोग्नुपर्ने हुन्छ।"

त्यस्तै ट्विटरमा टेकनारायण दयालु हजारौँ नेपालीहरूले भारतमा ब्याङ्क र रेमिट्यान्स सेवा प्रयोग गर्ने अवस्था नहुँदा कठिन हुने भन्दै ठूला भारतीय नोट नेपालमा सटही हुँदा सहज हुने विचार व्यक्त गर्छन्।

सम्बन्धित सामग्री