होली: एक अङ्ग्रेज शासक जो हिन्दूको मन जित्न खेल्थे होली

  • 20 मार्च 2019
मेटकाफ तस्वीर कपीराइट British Library

रङ्गहरूको पर्व होली। वर्षौँदेखि यो क्षेत्रमा मनाउँदै आइएको छ। जब भारतमा मुगल साम्राज्य आफ्नो अन्तिम क्षणको सन्निकट थियो र जब त्यहाँ ब्रिटिश शासनको दायरा बढ्दै थियो त्यतिखेर वरिष्ठ अङ्ग्रेज अधिकारीहरू पनि होलीको मजा लिन्थे।

दिल्लीमा त्यसबखतका वरिष्ठ अधिकारी सर थोमस मेटकाफले होली खेलेको विषय अलि अनौठो लाग्न सक्छ। किनभने उनी कुनै मामुली अधिकारी थिएनन्। उनी हिन्दूस्तानमा कम्पनी सरकारका उच्च अधिकारी थिए। ब्रिटिश सामन्ती खानदानका उनी सदस्य थिए।

तर यदि दिवंगत श्रीमति एभरेटले सुनाएका कथा साँचो हुन् भने तत्कालीन मुगल दरबारमा ब्रिटिस रेजिडेन्ट वा दूत उनी रङ्गहरूको पर्वमा होमिन तयार रहन्थे।

खालि उनको आदेश के रहन्थ्यो भने रङ्गसँगको त्यो क्रियाकलाप बाहिर बगैँचामा सीमित होस् ताकि नेपोलियनको मूर्ति समेत सजाएर राखिएको उनको बैठक कोठामा कुनै खराबी नहोस्।

तस्वीर कपीराइट Getty Images

उनले बसन्त ऋतुसँगसँगै जस्तो आउने फागुन महिनालाई स्वागत गर्नका निम्ति होली मनाएको भन्ने त उल्लेख भएको पाइँदैन तर पुराना कहानी अनुसार उनले दिल्लीका हिन्दू समुदायको मन जित्ने रणनीति अन्तर्गत होली खेल्थे। मुगल संस्कृतिप्रतिको आफ्नो व्यक्तिगत लगावका कारण सन्तुलन मिलाउन उनले होली खेललाई प्रयोग गर्थे।

यही लगावका कारण मेटकाफ दिल्लीको अत्यधिक गर्मी मौसममा पनि मेहरौलीस्थित मोहम्मद कुली खाँको समाधिस्थललाई परिवर्तित गरेर बनाइएको घरमा बस्थे। त्यहाँ सर्नु अघि भने उनी जाडो मौसम मेटकाफ हाउसमा गुजार्थे। स्थानीय मानिसहरूले त्यसलाई मट्का कोठीको नाम दिएका थिए।

कसरी मनाउँथे उनी होली?

उत्तर दिल्लीस्थित उनको महलमा राजा, नवाफ, जमिन्दार तथा सेठहरूको ताँती लाग्थ्यो। ती मध्ये चाँदनी चोकका धनीमानीले लाठ साहेबलाई दल्न भनेर रातो गुलाल पाउडर बोक्थे। साहेब चाहिँ होली मनाउन कुर्ता पाइजामामा सजिएर उपस्थित हुन्थे।

तर सन् १८५७ को सिपाही विद्रोहपश्चात् धेरै चीजबीज परिवर्तन भए।

त्यो बेला स्थानीय घुमन्ते गुर्जर समुदायका मानिसहरूले मेटकाफ हाउसमा लुट मच्चाएर ध्वंस गरिदिएका थिए। आफ्ना पितापुर्खाका जमिनलाई सस्तोमा हत्याएर त्यहाँ मेटकाफ हाउस बनाइएको उनीहरूको विश्वास थियो।

तर त्यो घटना हुनु अगावै सर थोमस मेटकाफ वितिसकेका थिए। उनलाई तत्कालीन मुगल सम्राट बहादुर शाह जफरकी प्रिय रानी जिनत महलले विष ख्वाएको आरोप लाग्ने गर्छ।

उक्त विद्रोहताका थोमसका उत्तराधिकारी सर थियोफिलस मेटकाफले निकै अपमान सहनुपर्‍यो।

अर्धनग्न हालतमा उनलाई दिल्लीका गल्लीहरूमा लखेटिएको थियो। पहाडगञ्जस्थित एक प्रहरी थानेदारलाई दया लागेपछि बल्ल उनले एउटा घोडामा चढेर राजपूतानातर्फ भाग्न पाएका थिए।

त्यो घटनापश्चात् सर थियोफिलसका निम्ति दिल्लीबासी दुस्मन बने। उनीहरूसँग होली मनाउनु त अब असोचनीय विषय बन्यो।

तस्वीर कपीराइट Getty Images

सर थोमस मेटकाफ होली मनाएपछि रङ्ग लागेका लुगालाई आफ्ना हिन्दू नोकरहरूलाई बाँडिदिन्थे। 'लाठ साहेब' बाट प्राप्त ती लुगालाई उपहार सरह स्वीकारेर उनीहरूले गर्मीयामभरि ती लुगा लगाउँथे। कम्तीमा सिभिल लाइन्स क्षेत्रमा बस्ने श्रीमति एभरेटको भनाइ त्यही रह्यो। सायद उनले बढाइचढाइ गरेकी होलीन् तर यदि त्यसबखत चलेका हल्लालाई मान्ने हो भने त्यो पूरै असत्य भने होइन।

तर अचेल भने मट्का कोठीमा केवल रक्षा अनुसन्धान एवं विकास संगठन डिआरडिओका वैज्ञानिक तथा तिनका परिवारले मात्र होली खेल्छन्।

हेलिङ्गर हलको होली

मेटकाफ हाउस जस्तै हेलिङ्गर हलमा पनि अङ्ग्रेज साहेबहरूले होली खेल्थे। सर थोमसका दाजु सर चार्ल्स मेटकाफको हवेली 'द मेटकाफ टेस्टिमोनियल'को शैलीमा बनाइएको आगरास्थित हेलिङ्गर हलमा स्थानीय सेठ एवं साहुमहाजनहरूका साथ महिनाको एक दिन हुने ककटेल र डान्स पार्टी अनि होली र दिवालीमा सहभागी हुन दिल्लीदेखि अङ्ग्रेजहरू पुग्थे। टेस्टिमोनियल भवन सन् १८९०को दशकको अन्त्यतिर भएको रहस्यमयी आगलागीमा ध्वस्त भयो भने हेलिङ्गर हलको भग्नावशेष अझै पाइन्छ।

हेलिङ्गर हलमा त्यसका मालिक टिबीसी मार्टिन वा मुन्ना बाबा बस्ने गरेको मेरा पिता सम्झनुहुन्छ। यो अहिले सरकारी भवनमा परिणत भएको छ। यो आगराको सिभिल कोर्टको पछाडि रहेको छ। त्यसको अर्कोपट्टि अकबरको पालाको शहिदहरूको चिहानस्थल छ। र सँगै लेडी डा उल्रिकले बनाएको लज छ। त्यही मार्गमा एउटा विशाल बंगला छ जहाँ कुनै बखत म्याजिस्ट्रेट बल बस्दथे। पछि त्यहाँ तबाकाले नामक वकिल बसे। बलका छोरा चाहिँ त्यहीँ पहाड माथि फुसले छाएको घरमा बस्थे जसको पारिपट्टि केन्द्रीय कारागार थियो। तर अहिले त्यो पहाड नै काटेर कोलोनी बसाइएको छ र छेउमा सञ्जय प्लेस कम्प्लेक्स ठडाइएको छ।

तस्वीर कपीराइट Getty Images

श्रीमति उल्रिकको क्लिनिक पिपलमण्डीमा थियो। सत्तरी वर्ष अगाडि उनी वृद्धावस्थामा वितिन्। उनले एक चाखलाग्दो कहानी सुनाउँथिन्। एकपल्ट होलीको बेला दङ्गा नियन्त्रणमा खटिएका अङ्ग्रेज फौजलाई उनले रात्रिभोजनमा डाकिन्। त्यहाँ उनले बेसनको बाक्ला रोटी एवं फर्सीको तरकारी खान दिइन्। तर जब उनीहरूले खाना खाएर हिँडे तब उनले देखिन् कि बेसनका रोटी जति सबै चाङ्ग लगाएर छाडिएको छ। ती फौजले तरकारी त खाए तर रोटीलाई भने कुनै प्रकारको प्लेट होला भन्ठानेर छाडिदिए। अघिल्लो शताब्दीको सुरुवाती कालमा भएको भनिएको सो कहानी अझसम्म सुनाइँदैछ।

बल आफैँमा पनि निकै चाखलाग्दा व्यक्ति थिए। विद्रोह ताका उनी कार्यरत थिए। पछि उनका छोरा पनि म्याजिस्ट्रेट नै भए। छोरा बलकी छोरी असाध्यै सुन्दरी नर्तकी थिइन्। त्यस भेगका पुराना बगरे बाबुदिनले भन्थे कि जब उनी बग्गीमा चढेर आगरा क्लबमा नृत्यका निम्ति आउँथिन् तब सडकका दायाँबायाँ बसेका मानिसहरूले ती सुन्दरी 'मिस बाबा'को अभिवादन गर्थे। बलका छोरा पछि दक्षिण अफ्रिका गए। तर त्यहाँबाट पनि उनी आफ्ना सहयोगी अमिर उद्दिन (भाइ साहेब) सँग निरन्तर पत्रमार्फत सम्वाद गरिरहन्थे।

तबाकाले दुब्ला थिए र चस्मा लगाउँथे। सन् १९४० ताका उनी जन मिल्सका सहयोगीमा नियुक्त भए। उनकी पत्नी चाहिँ अलि मोटो शरीरको थिइन् जो पहिले कार र पछिपछि रिक्सा चढेर किनमेल गर्न निस्कन्थिन्। पसलेहरू खासगरी उक्त बगरेका छोरा ती महिलासँग निकै डराउँथे। तर होली र दिवालीमा तिनले धेरै किनमेल गर्ने भएकाले उनीहरू तिनका ठाँटबाँट सहन्थे। तबाकाले चाँडै नै विते। उनको बंगला पनि अहिले सरकारी कार्यालय बनेको छ।

अब फेरि फर्कौँ हेलिङ्गर हलतर्फ। मार्टिन परिवार बल परिवारभन्दा पनि पुरानो हो। सन् १८५८ मा सिनियर मार्टिन भरखर युवा उमेरका थिए। भनिन्छ उनले झाँसीकी रानीविरुद्धको कारबाहीमा भाग लिएका थिए। रानीलाई लखेट्दै गर्दा एउटा गाउँमा पुगेपछि रानीले अचानक फर्किएर उनलाई पीछा नगर्न बरू एक निश्चित स्थानमा गाडेको धन रहेको र त्यही पुरस्कारस्वरूप लिन भनिन्। उनले गाडधन फेला पारे। वर्षौँपछिसम्म पनि आगो ताप्दै यो कहानी भर्जिनिया मग्वाएरले सुनाउँथिन्।

मार्टिन जुनियर चाहिँ भन्सार आयुक्त थिए। नवाफको ठाँटमा उनी बस्थे। नोकर चाकरको ठूलो झुण्ड वरपर लिएर हिँड्थे। उनी ओल्ड टम नामक चल्तीको रक्सी पिउँथे जुन रक्सी प्रख्यात कवि गालिवको पनि प्रिय थियो। साथै उनी शामी कबाबका सौखिन थिए। उनको होली पार्टीमा उपस्थित महिलाहरूलाई सर्वत दिइन्थ्यो।

हेलिङ्गर हल सिनियर मार्टिनले बनाएका थिए। क्या भव्य थियो त्यो भवन! उत्तर भारतमा ब्रिटिशहरूले आयोजना गरेको सबभन्दा पहिलो मध्येको क्रिसमस नाटक त्यहीँ आयोजना गरिएको थियो। हेलिङ्गर हलसम्बन्धी जे जति सम्झना छन् ती सबै पुराना किस्साका रूपमा बाँकी छन्। आज उक्त भवन हेर्दा कसैगरि लाग्दैन कि त्यो एक ताका ताजमहलको सहरको सबभन्दा चल्तीको स्थल थियो। मेटकाफ हाउसमा हुने होलीको पार्टीलाई चुनौती दिने गरि बल डान्स हुने उक्त हलका मालिकको आत्मा त्यसको अहिलेको जर्जर हालत देखेर पक्कै विचलित भइरहेको छ होला।