अब रोकिएला त 'लिपस्टिक पाउडर'मा स्वास्थ्यलाई हानि गर्ने तत्त्वको प्रयोग

  • 26 मार्च 2019
सौन्दर्य
Image caption साङ्केतिक तस्बिर

केही महिनाअघि नेपालमा विक्री भइरहेका स्वदेशी तथा विदेशी सौन्दर्य प्रसाधनका कतिपय सामग्रीको परीक्षण गर्दा तिनमा अत्यधिक मात्रामा मानवस्वास्थ्यलाई हानि गर्ने तत्त्वहरू भेटियो।

यसअघि यस्ता सामग्रीप्रति खासै वास्ता नगर्ने अनुगमनकारी सरकारी निकायका अधिकारीहरू समेत उक्त परीक्षण प्रतिवेदन हेरेर झस्किए।

तर आफैँले गरेको परीक्षणबाट मानवस्वास्थ्यलाई नै असर पार्ने तत्त्व मिसाइएको पुष्टि हुँदा पनि सरकारी निकायलाई कडा कारबाही अघि बढाउन समस्या पर्ने देखियो।

त्यसको कारण थियो- हालसम्म नेपालमा सौन्दर्य प्रसाधनका सामग्रीहरूको मापदण्ड नहुनु।

त्यसपछि बल्ल उपभोग्य वस्तुको गुणस्तर मापदण्ड तय गर्ने र अनुगमन गर्ने निकायहरूले यसबारे चासो लिन पुगे।

मापदण्ड किन?

त्यसका लागि केही चल्तीका कम्पनीहरूले उनीहरूलाई झक्झक्याउने काम गरेका थिए।

आफ्नो नाम, लोगो र ट्रेडमार्क चोरेर बजारमा सौन्दर्य प्रसाधनका सामग्री बिक्री गरिएको पाइएपछि उनीहरूले उद्योग विभागमा उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा विभिन्न स्थानमा प्रहरीको सहायताले छापा मारेर ती सामग्रीको गुणस्तर परीक्षण गराइएको थियो।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, "परीक्षणका क्रमममा सौन्दर्य सामग्रीहरूमा अत्यधिक मात्रामा सिसा, पारो, आर्सेनिक, क्रोमियम, टाइटानियमजस्ता रसायन प्रयोग गरेको भेटियो। त्यसपछि हामीलाई जनस्वास्थ्यप्रति संवेदनशील हुनै पर्नेरहेछ जस्तो लाग्यो।"

उनका भनाइमा उक्त परीक्षणकै कारण विभागसहित अन्य सरकारी निकाय र सरोकारवालाले यस्ता वस्तुको मापदण्ड बनाउनु पर्ने महसुस गरे।

फलस्वरूप विभागले सौन्दर्य सामग्रीसम्बन्धी विभिन्न छवटा मापदण्ड तयार पार्‍यो।

के छ मापदण्डमा?

"हामीले अहिले छ थरी मापदण्ड तयार पारेर सर्वसाधारणको सुझाव सङ्कलनका लागि सार्वजनिक गरेका छौँ," पुडासैनी भन्छन्, "यसलाई नेपाल गुणस्तर परिषद्ले पारित गरेर मन्त्रिपरिषद्‍बाट अनुमोदन भएपछि लागु हुन्छ।"

गुणस्तर परिषद्‍मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अध्यक्ष हुन्छन्।

अधिकारीहरूका अनुसार सौन्दर्य प्रशासनसम्बन्धी ती मापदण्ड चाँडै उक्त परिषद्‍मा पेस गरिनेछ।

पुडासैनीका अनुसार विभागले हाल छालामा लगाइने लोशन, क्रीम, लिपिस्टिकसहित विभिन्न सौन्दर्य सामग्रीका कच्चा पदार्थहरूको मापदण्ड बनाएको छ।

"यी मापदण्डमा सौन्दर्य सामग्रीमा कस्ताकस्ता रसायन, कच्चा पदार्थ कति मात्रामा प्रयोग गर्न पाइन्छ र के गर्न पाइँदैन भन्ने स्पष्ट व्यवस्था गरिएको छ," उनले भने, "त्यसका लागि मात्रा पनि तोकिएको छ।"

तस्वीर कपीराइट NBSM NEPAL
Image caption नेपाल गु्णस्तर तथा नापतौल विभागले सौन्दर्य सामग्रीका मापदण्डहरू तयार पारिसकेको जनाएको छ

अरू देशमा कस्तो अभ्यास छ?

सौन्दर्य सामग्रीको मापदण्ड बनाएका मुलुकको अभ्यास हेरेर त्यसैका आधारमा यस्तो गरिएको उनले जानकारी दिए।

विकसित मुलुकमा सीधै छालामा प्रयोग गरिने यस्ता सामग्रीको गुणस्तरमा विषेश ध्यान दिइने गरिए पनि नेपालमा भने निर्वाध रूपमा त्यस्ता वस्तुहरू बिक्री भइरहेको उनी स्वीकार्छन्।

उनले यो मापदण्ड लागु भएपछि त्यसलाई समेट्नेगरी कानुनहरूमा संशोधन गर्नुपरे पनि प्रस्ताव गरिने बताए।

अहिलेकै कानुनहरूले पनि कमसल उत्पादन गर्नेहरूलाई कारबाही गर्न भने रोक्दैन।

तर सौन्दर्य सामग्रीका हकमा कति मात्रामा कुन रसायन वा कच्चा पदार्थ प्रयोग गरिए त्यो कमसल वा हानिकारक हुछ भन्ने स्पष्ट नहुँदा समस्या आएको उनले बताए।

मापदण्डले त्यो कमी पूरा गरेको र अब कसैले मापदण्ड मिचेमा जरिवाना, त्यस्ता सामग्री बिक्रीमा प्रतिबन्ध र जफत तथा अन्य खाले कारबाही पनि गर्न सकिने उनको तर्क छ।

बजारको स्थिति के छ?

सौन्दर्य व्यवसायीहरू र सौन्दर्य सामग्री प्रयोगकर्ताहरूका अनुसार अहिले पनि बजारमा छ्यापछ्याप्ती नक्कली सामग्रीहरू भेटिन्छन्।

त्यस्ता सौन्दर्य सामग्री प्रयोग गरेर आफ्नो अनुहार र छालामा असर परेको गुनासो गर्दै आउनेहरू धेरै रहेको बताउँछिन् राजधानी काठमाण्डूकी एकजना सौन्दर्य व्यवसायी रितु लामा।

उनले भनिन्, "सबैखाले उत्पादनमा नक्कली सामान पाइन्छन्। उपभोक्तालाई चिन्नै गाह्रो हुन्छ। सबैभन्दा धेरै नक्कली त लिपिस्टिक र क्रीमहरूमा देखिन्छ।"

लामा नक्कली सामान पनि सक्कली जस्तै देखिने भएकाले धेरै झुक्किने गरेको बताउँछिन्।

उनी भन्छिन्, "सक्कलीजस्तै देखिने भएकाले किन्नेहरूले धेरै ध्यान दिनुपर्छ। हामीले यस्तै सुझाव दिने गर्छौँ तर ग्राहक सचेत हुँदैनन्।"

Image caption साङ्केतिक तस्बिर

काठमाण्डूकै अर्की सौन्दर्य व्यवसायी सुमी सिलवाल केसी पनि चल्तीकै 'ब्रान्ड'का नाममा समेत नक्कली सामग्री भेटिने गरेको बताउँछिन्।

केसी सरकारले अनुगमन नगरेकाले नै बजारमा यस्तो अवस्था सिर्जना भएको दाबी गर्छिन्।

उनी भन्छिन्, "अन्त गरेको भए थाहा भएन तर हामीकहाँ कहिल्यै पनि अनुगमन गर्न कोही पनि आएको छैन। अनुगमन नै नभएपछि गलत काम गर्नेलाई छुट मिलिहाल्छ नि!"

सरकारी अधिकारीहरूले भने अनुगमन नहुनुको कारण नै मापदण्डको अभावलाई देखाउने गरेका छन्।

कसरी बच्ने?

मापदण्ड नभएकै बेलामा पनि उपभोक्ता सचेत भए नक्कली सामग्रीबाट बच्न सकिने सौन्दर्य व्यवसायीको तर्क छ।

तामाङ भन्छिन्, "आफू सचेत भएर किन्ने हो भने बच्न सकिन्छ। सबभन्दा हेर्नुपर्ने बारकोड हो। तर धेरैले त्यस्तो गर्दैनन्।"

त्यस्तै सौन्दर्य व्यवसायीसँग सल्लाह गरेर यस्ता सामग्री किन्दा पनि फाइदा पुग्ने उनीहरूको तर्क छ।

केसी भने विज्ञापनको पछि नलाग्न उपभोक्तालाई सुझाव दिन्छिन्।

उनी भन्छिन्, "सबैभन्दा पहिले आफ्नो छाला चिन्नुपर्‍यो, त्यसपछि त्यसलाई उपयुक्त हुने सामग्री किन्नुपर्‍यो। फलानाले यो लगायो भनेर किन्ने होइन।"

तर धेरै उपभोक्ताले छिटै परिणाम दिन्छ भनेर रसायनयुक्त सौन्दर्य सामग्री किन्ने गरेको उनको अनुभव छ।

केसीका अनुसार रसायनयुक्त सामग्रीले तत्कालै असर देखाइदिन्छ भने जैविकले निकै लामो समयपछि मात्र असर देखाउने भएकाले कतिपयलाई बढी रसायनयुक्त सामग्रीले आकर्षित गर्ने गरेको छ।

तस्वीर कपीराइट NBSM Nepal
Image caption नेपाल गु्णस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्दा नेपालमा बिक्री भइरहेका कतिपय सौन्दर्य सामग्रीहरूमा सिसा, पारो, आर्सेनिक, क्रोमियम, टाईटानियमजस्ता रसायनको प्रयोग अत्यधिक पाइएको थियो

के भन्छ सरकारी निकाय?

अधिकारीहरूका अनुसार मापदण्ड कार्यान्वयनमा आएपछि नेपालमा आयात हुने सौन्दर्य प्रसाधनका वस्तुमा निगरानी बढाइनेछ।

पुडासैनीले मापदण्ड लागु भएपछि नेपालमा कमसल र बढी रसायन भएका सामान नभित्रिने दाबी गर्छन्।

तर कतिपय उपभोक्ताहरू भने सरकारी दाबीमा विश्वस्त हुन सकिरहेका छैनन्।

उनीहरू अन्य कतिपय उपभोग्य वस्तुका मापदण्डहरू बनेर लागु नभएजस्तै यी मापदण्डहरू पनि कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्छन्।