वयोवृद्ध पूर्वराष्ट्रपति जिम्मी कार्टरको नेपाल साइनो

  • 23 मार्च 2019
जिम्मी कार्टर तस्वीर कपीराइट The Carter Center

यसै महिनाको शुरूमा अमेरिकाको एटलान्टास्थित एमरी विश्वविद्यालय अन्तर्गतको रोलिन्स स्कूल अफ पब्लिक हेल्थले आयोजना गरेको एउटा अन्तरक्रियामा जोसिलो सम्बोधन र तीक्ष्ण स्मरणशक्ति प्रदर्शन गर्दै पूर्व राष्ट्रपति जिम्मी कार्टरले सहभागीको मन जिते।

साढे चौरानब्बे वर्ष पुग्न लागेका कार्टर कुनै तामझाम विना आफ्नो गृहनगरमा रहेको उक्त विश्वविद्यालयको आठौँ तलामा प्रवेश गरेका थिए।

नीलो कमिज र खैरो बुट्टे कोटमा ठाँटिएर फूर्तिला देखिएका उनले कार्यक्रम अवधिभरि उभिएरै सम्बोधन गरे।

४५ मिनेट बोल्ने क्रममा उनले अमेरिकी लोकतन्त्रदेखि चिनियाँ र रुसी शासनव्यवस्था अनि नेपालको शान्ति प्रकियासँग सम्बन्धित आफ्ना अनुभवका बारेमा पनि बोलेका थिए।

कार्टरको नेपाल नाता

नेपालमा १० वर्षे माओवादी सशस्त्र द्वन्द्व जारी रहँदा नै सन् २००४ मा उनको संस्था कार्टर सेन्टरले शान्ति प्रकियामा सघाउने उद्देश्य लिएर गतिविधि थालेको थियो।

अमेरिकी सरकारले आतङ्कवादी घोषणा गरेको तत्कालीन माओवादी विद्रोही नेताहरूसँग यी पूर्वअमेरिकी राष्ट्रपतिले नेपालको शान्ति प्रकियाका शुरूवाती वर्षहरूमा निरन्तर सम्वाद गरेका थिए।

सन् २००८ मा सम्पन्न पहिलो संविधानसभाको चुनावको अनुगमन र त्यस अघिको अन्योलपूर्ण अवस्थालाई सहजीकरण गर्न राष्ट्रपति कार्टरले करिब १ वर्षको अविधिमा तीन पटक काठमाण्डूको भम्रण गरेका थिए।

त्यस अवधिलाई सम्झदैँ कार्टरले भने, "राजाको सक्रिय शासन समाप्त भएपछि मैले भ्रमण गर्दा नेपालमा ठूलो उथलपुथल भइरहेको थियो। अन्ततः नेपालमा चुनाव सम्पन्न भयो। र, मैले चुनावमा जित हासिल गरेका नेतासँग काम गर्न सके।"

जिम्मी कार्टर
BBC
अमेरिकाले उनीहरू [माओवादी] लाई आतङ्कवादीका रूपमा हेर्ने गर्थ्यो र उनीहरूसँग सिधा पत्राचार गर्न बन्देज थियो...[तर] अमेरिकी नियमले मलाई बाँध्न सक्दैन्थ्यो।
जिम्मी कार्टर
पूर्व राष्ट्रपति, अमेरिका

"त्यसबेला संयुक्त राज्य अमेरिकाले उनीहरूलाई आतङ्कवादीका रूपमा हेर्ने गर्थ्यो र उनीहरूसँग सिधा पत्राचार गर्न समेत बन्देज थियो। नेपालमा रहेका अमेरिकी राजदूतलाई समेत उनीहरूसँग कुरा गर्न अनुमति थिएन। तर मैले उनीहरूसँग कुरा गरे किनभने अमेरिकी नियमले त्यसरी प्रत्यक्ष रूपमा मलाई बाँध्न सक्दैन्थ्यो।"

नेपालको शान्ति प्रकियालाई समर्थन गर्न विभिन्न समयमा गरेका काठमाण्डू भ्रमणका उनका प्रतिवेदन कार्टर सेन्टरको वेबसाइटमा राखिएका छन्।

सन् २००७ को जुनमा गरेको नेपाल भ्रमणको प्रतिवेदनमा कार्टरले माओवादीलाई आतङ्कवादीको सूचीमा राख्ने एउटा मात्रै मुलुक अमेरिका भएको र त्यसले अमेरिकी कूटनीतिज्ञहरूलाई शान्ति प्रकियामा उपयोगी भूमिका खेल्न बन्देज लगाइरहेको जिकिर गरेका थिए।

भ्रमणका क्रममा माओवादीहरूलाई भविष्यमा सरकारमा भूमिका नदिने प्रयासमा अमेरिकी सरकारले राजावादीसहित विभिन्न समूहलाई सहयोग गरिरहेको गुनासो आफूले सुनेको उनले उल्लेख गरेका छन्।

माओवादीहरूलाई सार्वजनिक रूपमा नै कटु आलोचना गर्ने तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले ती आरोप अस्वीकार गरेको उनको भ्रमण प्रतिवेदनमा उल्लेख छ।

कार्टरले यस्तो टिप्पणी गरेको पाँच वर्षभन्दा लामो समयपछि सन् २०१२ को सेप्टेम्बरमा अमेरिकी सरकारले शान्ति र मेलमिलाप प्रकियामा अघि बढ्ने विश्वस्नीय प्रतिबद्धता व्यक्त गरेको भन्दै माओवादीलाई आतङ्कवादी संगठनको सूचीबाट हटाएको थियो।

तस्वीर कपीराइट The Carter Center

सङ्कटमोचनका सुझाव

सन् २००७ को नोभेम्बर २२ का लागि तोकिएको संविधान सभाको चुनाव स्थगित भएपछि पूर्वराष्ट्रपति कार्टर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी नेता प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालको संयुक्त निम्तोमा काठमाण्डू आएका थिए।

त्यसबेला संविधान सभाको चुनावअघि नै राजतन्त्र अन्त्यको घोषणा गर्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने विषय नेपाली राजनीतिको विवादको केन्द्रमा थियो।

यी मुद्दामा माओवादीले राखेका अडानले संसद्‌मा अप्रत्याशित रूपमा बहुमत पाएका कारण तात्कालीन प्रधानमन्त्री कोइराला क्रुद्ध र आश्चर्यचकित बनेको सम्झँदै माओवादीसँग सहमति भए पनि नभए पनि चुनावको मिति तोक्ने मनस्थितिमा प्रधानमन्त्री रहेको कार्टरले लेखेका छन्।

त्यसबेलाका प्रधानसेनापति रुकमाङ्गत कटवाल राजासँगै नजिक देखिए पनि उनले कोइराला वा उनका 'वैधानिक' उत्तराधिकारीको आदेश पालना गर्ने र सेनालाई राजनीतिबाट अलग राख्ने प्रतिबद्धता जनाएको कार्टरले उल्लेख गरेका छन्।

सबैका कुरा सुनेपछि आफूले सम्झौताको खाका प्रस्तुत गरेको उनले उल्लेख गरेका छन्।

कार्टरले त्यसबेला पछि संविधान सभाको साधारण बहुमतले अनुमोदन गर्ने गरी अन्तरिम संस‌द्ले गणतन्त्र घोषणा गर्न सक्ने र संविधान सभाको कुल सिट सङ्ख्याको ७० प्रतिशत समानुपातिक र ३० प्रतिशत प्रत्यक्ष चुनिने निर्वाचन प्रणाली अवलम्बन गर्न सुझाव दिएका थिए।

आफ्नो प्रस्ताव लिखित रूपमै प्रधानमन्त्री कोइरालालाई दिएको पनि उनले उल्लेख गरेका छन्।

त्यसबेला पहिलो संविधासभाको बैठकको साधारण बहुमतले राजतन्त्र अन्त्यको घोषणा गर्नेगरी ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष अनि २६ जना मन्त्रिपरिषद्ले मनोनित गर्नेगरी ६०१ जना सदस्य रहेको संविधानसभाको चुनाव गर्न दलहरूबीच सहमति भएको थियो।

उक्त खाकामा सहमति भएपछि दुई पटक स्थगित भइसकेको संविधानसभाको चुनाव सम्भव भएको थियो।

चुनावको अनुगमन गर्ने उद्देश्यले कार्टरले सन् २००८ को एप्रिल ६ देखि १४ सम्म काठमाण्डूको भ्रमण गरेका थिए।

त्यसबेला चुनावमा माओवादीले नराम्रो पराजय बेहोर्ला र पुन: हतियार उठाउला भन्ने आफ्नो चिन्ता रहेको भन्दै उनले चुनावको प्रारम्भिक परिणामले माओवादीले गजबले चुनाव जित्ने प्रस्ट सङ्केत दिएको उनले उल्लेख गरेका छन्।

त्यसबेला आफूहरूले माओवादीका शीर्ष नेतालाई चुनावी जितलाई लिएर दम्भ व्यक्त नगर्न, अरू दलहरूप्रति पनि फराकिलो दृष्टिकोण राख्न र गठबन्धन सरकार बनाउने विगतको प्रतिबद्धता पालना गर्न सुझाव दिएको कार्टरले उल्लेख गरेका छन्।

कतिपय आलोचकले संविधासभा चुनावको पर्यवेक्षण गर्ने क्रममा राष्ट्रपति कार्टरले मतदानकै दिन उक्त चुनाव स्वतन्त्र र निष्पक्ष भएको प्रतिक्रिया हतारोमा दिएको भनेर टिप्पणी गरेका थिए।

त्यसबारे प्रतिक्रिया दिँदै सन् २०१३ मा उनले उत्कृष्ट भन्न नसकिए पनि सन् २००८ को चुनावले नेपाली जनभावनाको प्रतिनिधित्व गरेको र त्यसलाई सफल चुनाव भनिनुपर्ने दोहोर्‍याएका थिए।

तस्वीर कपीराइट The Carter Center
Image caption सन् २००८ को पहिलो संविधान सभाको निर्वाचनको समयमा जिम्मी कार्टर नेपालमा थिए

संविधान सभाको निर्वाचनमा पर्यवेक्षक

संविधानसभाको चुनावमा भएको अविश्वस्नीय जित र त्यसपछिका वर्षमा दलहरूमाझ देखिएको धुव्रीकरणबीच पहिलो संविधान सभा नयाँ संविधान जारी नगरी विघटन भएको थियो।

शान्ति प्रक्रियाको अनुगमन गर्न नेपालमा खटिएको राष्ट्रसङ्घीय मिसन सन् २०११ को ज्यानुअरीमा फिर्ता भए पनि कार्टर सेन्टर अन्तराष्ट्रिय पर्यवेक्षण संस्थाका रूपमा नेपालमा खटिएकै थियो।

सन् २०१३ को एप्रिलमा मा दोस्रो संविधान सभा चुनाव र डेढ दशकसम्म हुन नसकेको स्थानीय चुनावको वातावरण तयार पार्न कार्टरले फेरि नेपालको भ्रमण गरे।

त्यसबेलाका दस्तावेजले उनले द्वन्द्वको अन्त्यपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको, हिंसात्मक गतिविधिमा लागेका पूर्वविद्रोही सरकार र समाजमा पुनर्स्थापित भएको र महिला दलित र अल्पसङ्ख्यक समुदायको हैसियतमा सुधार आएको ठहर गरेको देखाउँछ।

प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष रहेका बेलाको उक्त भ्रमणमा उनले दोस्रो संविधान सभा चुनाव बहिष्कारको बाटो अख्तियार गरेको तत्कालीन नेकपा-माओवादीका नेता मोहन वैद्यलाई पनि भेटेको थिए।

त्यसक्रममा वैद्यले आफूहरूको विरोध शान्तिपूर्ण रहेको र अन्य नेताहरूसँग छलफल गर्ने एवम् हिंसात्मक गतिविधि नगर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरेका छन्।

आफूसँगको भेटको भोलिपल्टै वैद्य समूहका कार्यकर्ताले तीनजना कर्मचारीलाई ६ घण्टा बन्धक बनाएको उल्लेख गर्दै सम्झौतामा नआए प्रहरी वा कानून प्रयोग गरी उनीहरूका गतिविधि नियन्त्रण गरिनुपर्ने धारणा राखेको कार्टरले स्मरण गरेका छन्।

सोही वर्षको नोभेम्बरमा दोस्रो संविधान सभा चुनावको अनुगमन गर्न आएका कार्टरले त्यसबेला नेपालका धेरै नागरिकले सबै दलका नेताहरू प्रति भरोसा गुमाएको र नेताहरूले आफ्नो जिम्मेवारी वहन गर्नुको सट्टा शक्ति र प्रभावमा ध्यान दिएको ठान्ने गरेको आफूले पाएको आफ्नो भ्रमण प्रतिवेदनमा लेखेका छन्।

दोस्रो संविधान सभाको चुनावमा कुल मतदातामध्ये झण्डै ७० प्रतिशतले भोट खसालेका थिए।

तर चुनावको प्रारम्भिक परिणामले आफ्नो पराजयतर्फ सङ्केत गरेपछि तत्कालीन एकीकृत माओवादीले मतगणना बहिष्कार गरेको थियो।

त्यसबेला माओवादी नेता प्रचण्डले चुनावमा धाँधली भएको दाबी आफूसँग गरेको सम्झँदै कार्टरले प्रकियामा रहन र चुनावी र अदालती प्रकियाबाट आफ्ना असन्तोषको शान्तिपूर्ण समाधान खोज्न सुझाव दिएको उल्लेख गरेका छन्।

दोस्रो चुनावबाट चुनिएको संविधान सभाले सन् २०१५ को सेप्टेम्बरमा नयाँ संविधान जारी गरेको थियो।

त्यसयता नेपालले तीन तहका चुनाव सम्पन्न गरेको छ र संसदको अङ्कगणितका हिसाबले वर्षौँयताको शक्तिशाली सरकारले हाल सत्ता सम्हालिरहेको छ।

जिम्मी कार्टर
BBC
मलाई लाग्छ अहिले पनि नेपालले चुनावमा जित्ने र हार्ने दुवै पक्षलाई साथ लिएर हिँड्न सङ्घर्ष गरिरहेको छ।
जिम्मी कार्टर
पूर्व राष्ट्रपति, अमेरिका

नेपाली नेताहरूको कमजोरी

एटलान्टामा यसै महिनाको शुरूमा भएको अन्तरक्रियामा मैले राष्ट्रपति कार्टरलाई शान्ति प्रकियापछि विभिन्न प्रतिबद्धताहरू पुरा गर्ने अभिभारासहित सत्तामा आएका नेताहरू किन खरो उत्रन सक्दैनन् भनेर प्रश्न गरेको थिएँ।

जवाफमा उनले चुनावमा जित्ने र हार्ने पक्षहरूबीच निरन्तर देखिने विभाजनलाई प्रमुख कारण ठहर्‍याए।

उनी भन्छन्, "मलाई लाग्छ अहिले पनि नेपालले चुनावमा जित्ने र हार्ने दुवै पक्षलाई साथ लिएर हिँड्न सङ्घर्ष गरिरहेको छ। तर यो साझा समस्या हो।"

"हाम्रै देशमा पनि सत्तामा भएका र सत्ता बाहिर भएका समूहबीच विभाजन छ। सबैभन्दा राम्रो कुरा के हुन्छ भने हामीले यसरी शासन व्यवस्था चलाऊँ जसमा चुनाव जित्ने पक्ष त छँदैछ हार्ने पक्षले पनि आफू उक्त प्रक्रियामा रहेको र त्यसको हिस्सा रहेको महसुस गर्न सकोस्।"

कार्टरले अहिले पनि नेपालमा छुवाछुत कायम रहेको र तराईका कतिपय समुदायले भेदभाव खेप्ने गरेको पनि उल्लेख गरेका थिए।

नेपालका नेताहरूले विभिन्न सङ्कटपूर्ण अवस्था पार लगाएको र अहिलेका समस्या पनि पार लाग्ने उनको विश्वास रहेको थियो।

नेपालप्रति 'गम्भीर रुचि'

पूर्वराष्ट्रपति कार्टरले सार्वजनिक रूपमा नै नेपालप्रति आफ्नो गम्भीर रुचि र चासो रहेको उल्लेख गर्ने गरेका छन्।

चिकित्सकहरूले मस्तिष्क र कलेजोमा देखिएको क्यान्सरको उपचार गरिरहँदा सन् २०१५ मा उनले झण्डै ८ हजार माइलको यात्रा तय गरी नेपालमा ह्याबिट्याट फर ह्युमानिटीका निम्ति घरहरू बनाउन चितवनको भ्रमण गर्ने घोषणा गरेका थिए।

तर त्यसबेला संविधान जारी भएपछि सीमा क्षेत्रमा भएका अवरोधका कारण उत्पन्न मानवीय सङ्कटलाई ध्यान दिएर उक्त भ्रमण रद्द गरिएको थियो।

९० वर्षको उमेरमा रेडिएसन विधिबाट क्यान्सरको उपचार थाले पनि लगभग चार महिनामा नै उनी क्यान्सरमुक्त बनेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बाहालवाला राष्ट्रपतिको हैसियतमा दोस्रो कार्यकालका लागि चुनाव लड्दा पराजित हुने एकाध अमेरिकी नेतामा कार्टर पनि पर्छन्।

त्यसबेला आफ्ना कतिपय नीति र इरानमा अमेरिकी कूटनीतिज्ञ बन्धक बनाइएको घटनाले ५६ वर्षको उमेरमा ह्वाइट हाउस छाड्न कार्टरलाई बाध्य पारेको ठानिन्छ।

राष्ट्रपतिको पदबाट अलग भएपछि खासगरी विश्व शान्ति र स्वास्थ्यका क्षेत्रमा कार्टर तथा उनकी श्रीमती रोजालिनले गरिरहेको कामको धेरै अमेरिकीहरूले मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन्।

सुझाव

सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाएका कार्टर जीवनका केही आधारभूत सिद्धान्त कहिल्यै पनि नफेरिने धारणा राख्छन्।

उनी भन्छन्, "सत्य बोल्नु एउटा हो। सबैलाई समान व्यवहार गर्नु अर्को। अनि आफ्नो छिमेकीप्रति सदैव दया देखाउनु।"

"मलाई मेरी हाइस्कूलकी शिक्षिकाले भन्नुभएकोथियो हामीले समयको परिवर्तन अनुसार आफूलाई ढाल्नुपर्छ। तर त्यसो गर्दा पनि आफ्ना अपरिवर्तनशील सिद्धान्तहरूलाई छाड्नु हुँदैन्। भावी पुस्ताका नेताहरू आफूले तय गरेका सिद्धान्तमा अडिग रहेको म देख्न चाहन्छु।"

संसारका १४५ भन्दा बढी देश डुलेका बाजे पुस्ताका यी नेता थप्छन्, "आफ्नो उद्देश्य महत्त्वपूर्ण लाग्छ भने विफलताबाट डर मान्नु हुँदैन।"