अमेरिका समर्थित फौज: अन्तिम आधार क्षेत्र गुमाएसँगै आईएस सिरियामा पराजित

  • 23 मार्च 2019
आईएसको हारको उत्सव मनाउन सिरियाका लडाकूहरूले पहेँलो झण्डा फहराएका छन्। तस्वीर कपीराइट AFP
Image caption कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आईएसबाट जफत गरेको भवनको माथि पहेँलो झण्डा फहराइरहेको देखाएको छ

अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले इस्लामिक स्टेट (आईएस) समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको बताएको छ।

योसँगै आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था "क्यालिफेट"को अन्त्य भएको छ।

एसडीएफका प्रवक्ताले आईएस 'आफ्नो भूभागमा १०० प्रतिशत' पराजित भएको घोषणा गरेका हुन्।

जिहादी समूहले कुनै बेला सिरिया र इराकको गरी ८८ हजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा राखेको थियो।

खतरा

उक्त हार हुँदा हुँदै पनि क्षेत्रीय स्तर र विश्वभरि नै हमलाहरू बढाउन सक्ने क्षमताका कारणले उक्त समूहलाई एउटा ठूलो खतराको रूपमा अझै हेरिएको छ।

कुर्द नेतृत्वको एसडीएफ गठबन्धनले पूर्वी सिरियाको बागुज गाउँमा लुकेर बसेका लडाकुहरूलाई हमला गर्दै आईएसविरुद्ध मार्च महिनाको शुरूमा अन्तिम हमला थालेको थियो।

उक्त क्षेत्रमा धेरै सङ्ख्यामा सर्वसाधारण पनि भवन, सुरुङ र टेन्टहरूमा रहेको कुरा बाहिर आएपछि गठबन्धन आफ्ना कारबाहीहरू मत्थर पार्न बाध्य भएको थियो।

तीमध्ये हजारौँ विदेशी नागरिक, महिला र बालबालिकाहरू लडाइँ र चरम अभावका कारण एसडीएफले विस्थापितहरूका लागि सञ्चालन गरेको शिविरहरूमा सरेका थिए।

थुप्रै आईएस लडाकुहरूले पनि उक्त क्षेत्र छोडेका थिए तर जो बाँकी रहेका थिए उनीहरूले आत्मघाती बम हमलाकारी र कार बमहरू परिचालन गरेर उग्र प्रतिरोध गरे।

"तथाकथित क्यालिफेट पूर्ण रूपमा अन्त्य भएको र आईएस समूह १०० प्रतिशत पराजित भएको घोषणा गरेको छ," एसडीएफ सञ्चार प्रमुख मुस्तफा बालीले ट्वीट गरेका छन्।

"यो अनुपम दिनमा हामी यो जित सम्भव पार्न प्रयास गर्ने हजारौँ शहिदहरूलाई श्रद्धाञ्जलि दिन चाहन्छौँ।"

आफ्नो जित मनाउन बगुजमा एसडीएफका लडाकुहरूले पहेँलो झण्डा फहराइरहेका छन्।

किन अझै आईएस खतरा हो?

‍सन् २००३ मा अमेरिकी नेतृत्वले इराकमा गरेको आक्रमणपछि इराकमा अल-कायदाबाट छुट्टिएर आईएस बनेको थियो।

सन् २०११ मा सिरियाका राष्ट्रपति बशर अल-असदविरुद्धको विद्रोही समूहसँग संलग्न भएको थियो।

सन् २०१४ सम्ममा उसले दुवै देशको ठूलो भूभाग कब्जा गरी आइएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था "क्यालिफेट" को घोषणा गरेको थियो।

आईएसविरुद्धको अभियानमा बगुज उनीहरूको हातबाट फुत्किनु एउटा महत्त्वपूर्ण क्षण हो।

इराकी सरकारले सन् २०१७ मा आईएस लडाकुहरूविरुद्ध जितको घोषणा गरेको थियो।

तर उक्त समूह पुरै निमिट्यान्न भएको छैन। अमेरिकी अधिकारीहरूका अनुसार आईएससँग १५ हजारदेखि २० हजारसम्म हतियारसहितका समर्थकहरू उक्त क्षेत्रमा सक्रिय छन्।

ती मध्ये धेरैजसो लामो समयदेखि निस्क्रिय रहिआएका गोप्य एजेन्ट हुन्।

उनीहरू आफ्नो आधार क्षेत्र पुन: निर्माण गर्ने प्रयासमा ती इलाकामा फेरि फर्किने अमेरिकी अधिकारीहरूको बुझाइ छ।

बगुजमा हार सन्निकट भए पनि आईएसले आफ्ना प्रवक्ता अबु हसन अल मुहाजिरको आवाज भएको भनिएको एउटा अडिओ रेकर्डिङ सार्वजनिक गरेको छ। उक्त अडिओमा क्यालिफेट अन्त्य नभएको दावी गरिएको छ।