नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको नेपाल प्रहरीको दाबी

  • 24 मार्च 2019
हेमन्तप्रकाश ओली तस्वीर कपीराइट Facebook/Hemanta Prakash Oli

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलो उपलब्धिका रूपमा अर्थ्याएको छ।

ओली सो समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई चन्दको विश्वासपात्र पनि मानिन्छ।

ओलीलाई पक्राउ गर्दा प्रहरीले गोप्य दस्ताबेज हात पारेका दाबी गरेको छ। उसले यसलाई सो समूहविरुद्धको कारबाहीमा एउटा ठूलो सफलताको रूपमा पनि प्रस्तुत गरेको छ।

"हामीले हात पारेको दस्ताबेजमा निकै महत्त्वपूर्ण सूचना र रणनीतिबारे चर्चा गरिएको छ," उक्त कारबाहीमा संलग्न एक प्रहरी अधिकारीले बीबीसीलाई बताए।

नाम उल्लेख गर्न नचाहने ती अधिकारी भन्छन्, "त्यसमाथि भूमिगत भइसकेको अवस्थामा क्षेत्रीय कमान्डरनै पक्राउ पर्नु आफैँमा ठूलो उपलब्धि हो।"

प्रहरीले सो समूहका नेता तथा कार्यकर्ताले प्रयोग गरेका ल्यापटप, मोबाइल फोन र अन्य सामग्री पनि जफत गरेको छ।

चन्द समूहका नेताहरूबाट यसबारे कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

काभ्रेबाट पक्राउ

प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले ओली र अन्य नेतालाई काभ्रेको खनीखोला गाउँपालिकाबाट पक्राउ गरेको हो।

गत हप्ता काभ्रेकै रोशी गाउँपालिकामा चन्द समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो।

घटनालगत्तै पक्राउ परेका चार कार्यकर्ताले दिएको बयान र अन्य सूचनाका आधारमा ओली लगायतका कार्यकर्ताहरूको खोजीकार्य भएको थियो।

Image caption केही हप्ताअघि कपिलवस्तुस्थित एउटा गाउँमा चन्द समूहका कार्यकर्ताले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई विद्यार्थीहरूको प्रयोग गरी अवरोध गरेका थिए

सरकारले चन्द समूहलाई आपराधिक सङ्गठन ठहर गर्दै उक्त पार्टीका क्रियाकलापमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले उक्त पार्टीका नेता एवम् कार्यकर्तामाथि कडा निगरानी थालेको थियो।

मुद्दा चलाउने तयारी

हालसम्म उक्त समूहका करिब २० जना पक्राउ परिसकेका र आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका चन्द पक्राउ नपर्दासम्म आफूहरूको सक्रियता नघट्ने प्रहरी अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार प्रहरीले ओली र पक्राउ परेका अन्य कार्यकर्ताको हकमा उनीहरूले गरेको अपराधका आधारमा मुद्दा चलाउने तयारी थालेको छ।

उनी भन्छन्, "पक्राउ पर्नेमध्ये केही ललितपुरमा भएको बम विस्फोटमा मुछिएका छन् भने कोही हातहतियार र विस्फोटक पदार्थ सहित पक्राउ परेका छन्।"

केहीलाई जबर्जस्ती चन्दा मागेको उजुरीका आधारमा पक्राउ गरिएको छ जस कारण उनीहरूलाई फरकफरक मुद्दा दायर गरिनेछ," सुवेदीले भने।

चन्द कहाँ छन्?

तस्वीर कपीराइट Facebook/Prakanda

सरकारले नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव उपनामबाट परिचित चन्दको समेत खोजी कार्यलाई तीव्र बनाएको छ।

चन्द समूहका कार्यकर्ता खोज्न केही दिनअघि नेपाली सेना पनि सम्मिलितिन सुरक्षाटोली कालीकोट गएको विवरण सार्वजनिक भएको थियो।

तर भूमिगत नेता चन्द पछिल्ला दिनमा नेपालमा नै नरहेको प्रहरीको अनुमान छ।

"हामीकहाँ उनी भारतमा रहेको सूचना छ," एक विश्वस्त प्रहरीस्रोतको दाबी छ।

प्रहरी प्रवक्ता सुवेदीले पनि भने आफूहरूसँग भएको सूचनाका आधारमा खोजिभइरहेको जानकारी दिए।

अरू नेताहरू पनि सम्पर्कविहीन

सरकारले निगरानी बढाएकाले चन्द समूहका शीर्ष नेता एवम् कार्यकर्ताहरू सम्पर्कविहीन भएका छन्।

केही दिनअघि बीबीसी नेपालीलाई उक्त समूहका एक नेताले सुरक्षाका कारण मोबाइल फोनबाट सम्पर्क गर्न सकिने अवस्था नरहेको बताएका थिए।

एक प्रहरी अधिकारीका अनुसार उक्त समूहका सदस्यहरूले हालका दिनमा मोबाइल फोनको प्रयोग बन्द गरेका छन्।

"मोबाइलबाट सम्पर्क गर्नै परे नयाँ सिम कार्ड प्रयोग गर्ने वा अन्य कसैको सहयोग लिने गरेको हाम्रो बुझाइ हो," उनले भने।

Image caption प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द समूहको आलोचना गर्ने गरेका छन्

के हो चन्द नेतृत्वको नेकपा?

विसं २०६९ को असारमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।

पछि वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी "क्रान्तिकारी हुन नसकेको" भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे।

औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दल 'विप्लव माओवादी'का रूपमा चिनिन्छ।

उसले आफूलाई मूलधारको माओवादी पार्टी मान्ने गरेको छ र कुनै पनि निर्वाचनमा सहभागी भएको छैन।

वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरूलाई कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फोटन गराउने र चन्दा भन्दै जबर्जस्ती आर्थिक सङ्कलन गर्ने काम गर्दै आएको छ।

'निर्णायक क्रान्ति' गर्ने भन्दै उसले सरकारी पक्षसँग वार्ता गर्न मानेको छैन।

पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो गरेका छन्। त्यहाँ उनीहरूले 'जनसरकार' को घोषणा पनि गरेका छन्।

केही सयमयता सो दलले देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाहरूको जिम्मेवारी लिँदै आएको छ।

यो पनि पढ्नुहोस्