एकसिङे गैँडा: चितवनमा नौ महिनामा ४१को मृत्यु, कारण र समाधान कसरी खोज्ने

  • 28 मार्च 2019
एकसिङ्गे गैँडा तस्वीर कपीराइट DNPWC

चितवन राष्ट्रिय निकुञ्जमा नौ महिनामा ४१ गैँडाको मृत्यु हुनुलाई 'अभूतपूर्व' र 'असामान्य' भन्दै विज्ञहरूले त्यसका कारण पहिचान गरी तत्काल समाधानका उपाय कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन्।

सरकारी अधिकारीहरूले भने "गैँडाको सङ्ख्या बढेका कारण मृत्यु पनि बढेको हुन सक्ने" भन्ने सजिलो जवाफ दिए।

तर उनीहरूले उपचार नपाएर, एक आपसमा जुधेर या पानीका श्रोत प्रदूषित भएका कारण मृत्यु भएको हुन सक्ने भन्दै अनुसन्धान थालिएको बताए।

''केही गैँडाको मुत्यु जुधेर भएको देखिन्छ भने केहीको समयमै उपचार हुन नपाएर,'' वन्य जन्तु संरक्षण विभागका उप-महानिर्देशक रामचन्द्र कँडेलले बीबीसी नेपाली सेवासँग भने।

'बाढीबाट जोगाउ'

एक सिङे गैँडाका लागि नेपाल दोस्रो ठुलो बासस्थान भएको हुँदा ठुलो सङख्यामा मृत्यु हुनु ठूलो समस्या जस्तो नदेखिए पनि यसले दुरगामी रूपमा समस्या पैदा गर्न सक्ने विज्ञहरूको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्जबाट हालै अवकाशप्राप्त वरिष्ठ अधिकारी कमल गैरैका अनुसार २०७३ मा चितवनमा आएको बाढीले गैँडाहरूलाई बगाएर निकुञ्जको तल्लो भागमा ल्याइदिएकाले हालका दिनमा समस्या उत्पन्न भएको हो।

रापती , नारायणी जस्ता नदी र रिहु खोलामा आउने बाढीले गैँडा मात्र नभएर अन्य वन्य जन्तुमा समेत असर पर्ने हुँदा त्यस्ता प्राकृतिक प्रकोपबाट जनावरलाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिनुपर्ने उनको मत छ।

''झट्ट हेर्दा समस्या जस्तो नदेखिए पनि यो ठुलो समस्या हो जसको हल चाँडो भन्दा चाँडो गर्न जरुरी छ,'' गैरेले बीबीसी सँग भने।

पछिल्लो नौ महिनामा ४१ वटा एक सिङे गैँडाको मुत्यु भएको विवरणहरू सार्वजनिक भएसँगै राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले उक्त विषयमा आफूहरूले थप अध्ययन सुरु गरेको बताएको छ।

त्यस बाहेक हाल नेपालमा लोप उन्मुख प्रजातिको गैँडाको सङख्या कति छ भन्ने पत्ता लगाउन गणना गर्ने तयारी चाडै थाल्ने विभागका उप-महानिर्देशक राम चन्द्र कँडेलले जानकारी दिए।

आर्थिक वर्ष २०७५-७६ को पहिलो नौ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ३९ र बन क्षेत्रमा २ वटा गैँडा मृत्यु भएको हो।

सन् २०१५ मा भएको पछिल्लो गैँडा गणना पछि चितवन राष्ट्रिय निकुञ्ज र बन क्षेत्रमा ९६ वटा गैँडा प्राकृतिक कारणले मरेका छन्।

उक्त विषयमा हालका दिनमा व्यापक रूपमा छलफल भइरहेको तर अधिकांश गैँडाको मुत्युको कारण प्राकृतिक देखिएकाले तत्काल आत्तिनुपर्ने अवस्था भने नरहेको सरकारी अधिकारीहरूको दाबी छ।

कारण

विभागका अधिकारीहरूका अनुसार पछिल्ला दिनमा गैँडाको सङ्ख्यामा राम्रै वृद्धि भएका कारण मृत्यु सङख्या बढेको हो।

अधिकांश गैँडाको बसोबास एकै ठाउँमा भएकाले मुत्यु सङ्ख्या बढेको हुन सक्ने सरकारी अनुमान छ।

हाल सम्म प्राकृतिक कारण नै अधिकांश एक सिङे गैँडाको मुत्यु भएको आकलन गरिएको भए पनि सम्भावित अन्य कारणहरूबारे थाहा पाउनका लागि अध्ययन सुरु गरिसकेको सरकारी अधिकारीहरू बताउँछन्।

दिसा-पिसाप/बासस्थान पनि समस्या

उक्त जनावरको बासस्थान साघुरिदै गएको अवस्थामा आहारको अभाव वा धेरै जनावर एकै ठाउँमा हुने हुँदा जनावरकै दिशा पिसाबबाट कुनै किसिमको रोग फैलिएको हो कि भन्ने पनि शङ्का गरिएको छ।

''हामीले चितवनमा वार्षिकरूपमा १०० - २०० र बर्दियामा ५० - १०० हेक्टर बन क्षेत्र व्यवस्थापन गर्न सकेका छौँ।

विभिन्न किसिमका श्रोत एकै ठाउँमा सीमित हुँदा खानपान र बसोबासमा समस्या परेको हुन सक्छ,'' उनले भने।

जनावरको दिसा पिसाप पानीमा मिसिएर दूषित भएको हो कि भन्ने कुरा पत्ता लगाउन करिब ६० वटा तालबाट पानीको नमुना सङ्कलन गरिएको र परीक्षणका लागि पठाइसकिएको कँडेलको भनाइ छ।

Image caption मृत अवस्थामा फेला परेको एक सिङे गैँडा

सङ्ख्या

सशस्त्र द्वन्दका बेला ६१२ बाट घटेर करिब ५०० को हाराहारीमा पुगेको एक सिङे गैँडाको सङ्ख्या पछिल्लो पटक सन् २०१५ मा भएको गणनाले ६०० भन्दा माथि पुगेको पुष्टि भएको थियो।

विभागका अनुसार हाल चितवनमा मात्रै करिब ६०० एक सिङे गैँडा छन्।

त्यसबाहेक बर्दियामा ४० र शुक्लाफाटामा १७ वटा एक सिङे गैँडा छन्।

लोपोन्मुख प्रजातिको एक सिङे गैँडा नेपाल, भारत र भुटानमा मात्र पाइने विभागका अधिकारीहरू बताउँछन्।

भारतमा करिब २५ सयको हाराहारीमा एक सिङे गैँडा रहेको आकलन छ।

चितवनका ढोईलाई कसरी लैजान्छन् जङ्गली हात्ती

एक वर्षमै के कारण मरे २६ गैँडा

चितवन राष्ट्रिय निकुञ्जका गैँडा किन पसे शहर

प्रयास

विभागका अधिकारीहरूका अनुसार एक सिङे गैँडा मात्र नभएर अन्य जनावरको समेत निगरानी हालका दिनमा बढाइएको छ।

त्यसका लागि सीसीटीभी क्यामेराको प्रयोग बढाइएको छ भने निकुञ्जका अधिकारीहरूबाट हुने अनुगमन पनि बढाइएको अधिकारीहरू बताउँछन्।

''साथै घाँसे मैदान र तालको सङ्ख्या बढाउन समेत पहल भइरहेको छ,'' कँडेलले भने।