भारतले क्षेप्यास्त्र परीक्षण गर्नुको चुनावी अर्थ के होला

  • 27 मार्च 2019
नरेन्द्र मोदीको सम्बोधन तस्वीर कपीराइट EPA

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राष्ट्रका नाममा एउटा अप्रत्याशित सम्बोधन गर्दै देश अब "अन्तरिक्ष शक्तिका रूपमा स्थापित" भएको घोषणा गरेका छन्।

भारतले पृथ्वीको तल्लो कक्षमा रहेको एक भूउपग्रहलाई क्षेप्यास्त्र आक्रमण गरेर खसाल्ने परीक्षण सफलताका साथ सम्पन्न गरेको प्रधानमन्त्री मोदीले जनाएका छन्।

यो परीक्षण पछि भारत अन्तरिक्ष क्षमताभएका ठूला राष्ट्रहरूको लहरमा पुगेको पनि मोदीले बताए।

यस्को महत्त्व के त?

भारतका प्रधानमन्त्री मोदीका अनुसार एन्टि स्याटलाइट मिसाइल (एएसएटी) भनिएको भूउपग्रह प्रतिरोधी क्षेप्यास्त्रको सफल प्रक्षेपणपछि त्यस्तो क्षमता हासिल गर्ने भारत अमेरिका, चीन र रुसपछिको चौथो देश बनेको छ।

उनले भने, "यसले भारतलाई बलियो, अझ बढी सुरक्षित बनाउनुका साथै शान्ति तथा सौहार्द्रताको दिशामा अझ अघि बढाउने छ।"

तस्वीर कपीराइट Getty Images

बीबीसीका प्रतिरक्षा मामिला सम्वाददाता जनाथन मार्कस भन्छन् भारतका प्रधानमन्त्रीको घोषणा अन्तरिक्षको सैनिकीकरण गर्ने होडबाजी तर्फको एक भाग हो।

हाम्रा सम्वाददाता भन्छन् संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले त देशको सशस्त्र सैन्यको एक स्वतन्त्र एकाइका रूपमा एउटा पूर्णस्तरको "अन्तरिक्ष सेना" नै स्थापना गर्ने प्रस्ताव गरेको छ।

"यो समाचारपछि अस्त्र नियन्त्रण अभियानकर्मीहरूले अन्तरिक्षको सैनिकीकरण गर्ने जारी गतिविधिलाई नियन्त्रण गर्नु पर्ने जरूरी आवश्यकताका सम्बन्धमा आवाज उठाउन सक्नेछन्", बीबीसी सम्वाददाता मार्कस भन्छन्।

होडबाजी

सन् २००७ मा चीनले एउटा मौसम अध्ययन गर्ने भूउपग्रह नष्ट गरेर यस्तै प्रकारको क्षेप्यास्त्र परीक्षण गर्दा सम्भावित अन्तरिक्ष अस्त्र होडबाजी प्रति अन्तराष्ट्रिय चिन्ता व्यक्त भएको थियो।

तस्वीर कपीराइट Getty Images

साथसाथै, यस्ता परीक्षणहरूपछि बाँकी रहने अवशेषहरूले सैनिक र गैरसैनिक प्रयोजनका महत्त्वपूर्ण भूउपग्रहहरूमा क्षति पुग्न सक्ने चिन्ता पनि व्यक्त भैरहेको छ।

तर भारतले आफूले अस्त्र परीक्षणको अवशेष बाँकी नरहोस् र बचेका केही कुरा भए ती केही हप्ताभित्रै क्षय भएर पृथ्वीमा नै खस्न सकोस् भनेर सोचविचार गरेर नै तल्लो कक्षमा त्यस्तो परीक्षण गरिएको जनाएको छ।

भारतले गरेको यस्तो अस्त्र परीक्षणको समयको बारेमा पनि प्रश्नहरू गरिएका छन्।

राष्ट्रिय निर्वाचन हुनु दुईहप्ताभन्दा कम समय बाँकी रहँदा, विपक्षीले प्रधानमन्त्री मोदीलाई यसबाट राजनीतिक लाभ लिने प्रयास गरेको र देशको अन्तरिक्ष निकायको उपलब्धिको जस आफैले लिन खोजेको आरोप लगाएको छ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भनेकी छन्, प्रधानमन्त्री मोदीले चुनावको अगाडिको समयमा "राजनीतिक फाइदा" लिन खोजेका छन्।

प्रमुख विपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले भने भारतको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था डीआरडीओलाई यो सफल परीक्षणका लागि बधाई दिँदै प्रधानमन्त्री प्रति व्यङ्ग्यात्मक रूपमा विश्व रंगमञ्च दिवसको शुभकामना व्यक्त गरेका छन्।

तर भारतका भूतपूर्व प्रमुख निर्वाचन आयुक्त टि एस कृष्णमूर्तिले बीबीसी तमिलसँग कुरा गर्दै प्रधानमन्त्री मोदीले गरेका क्षेप्यास्त्र परीक्षणको घोषणा निर्वाचन नियमहरूको "उल्लंघन" हुनसक्ने भनी निर्वाचन निर्देशिकाहरूमा उल्लेख नभएको बताएका छन्।

सम्बन्धित सामग्री