एनसेल कर प्रकरण: अदालतको पूर्णपाठ नहुँदा असुली अलमलमा

  • 28 मार्च 2019
मोबाइल फोन तस्वीर कपीराइट .

सर्वोच्च अदालतले एनसेलबाट लाभकर असुल्नुपर्ने आदेश गरेको झन्डै ५० दिन पुगिसक्दा पनि आदेशको पूर्णपाठ आइनसकेकाले कर उठाउने प्रक्रिया अगाडि नबढेको अधिकारीहरूले बताएका छन्।

अदालतले माघ २३ गते दूरसञ्चार प्रदायक कम्पनी एनसेल बिक्रीको पूँजीगत लाभकर आजियटा र एनसेलबाटै असुल्नुपर्ने आदेश दिएको थियो।

असुल्नु पर्ने रकमका बारेमा अदालतको आदेशको पूर्णपाठले स्पष्ट पार्ने भएकाले त्यसको पर्खाइमा रहेको ठूला करदाता कार्यालयको भनाइ छ।

पहिले ६१ अर्ब रुपैयाँ कर टेलियासोनेरा कम्पनीका नाममा निर्धारण गरिएको र केही रकम एनसेलले बुझाएकाले लाभकर रकमका बारेमा अन्योल गरेको बताइएको छ।

के भन्छ सर्वोच्च?

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ तयारीकै क्रममा रहेको जनाएको छ।

एनसेलको पूँजीगत लाभकर बेच्ने टेलियासोनेरा वा किन्ने अजियटा कसले तिर्ने भन्ने बारेमा लामो समयदेखिको विवादलाई माघ २३ गतेको सर्वोच्च अदातलको आदेशले हल गरिदिएको थियो।

अदालतले उक्त लाभकर आजियटा र एनसेल कम्पनीबाटै असुल्नु पर्ने आदेश दिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको पूर्ण इजलासले त्यस्तो आदेश गरेको थियो।

तस्वीर कपीराइट .

आदेशपछि लामो समय सम्म उठ्न नसकेको लाभकर अब उठ्ने भयो भन्दै सामाजिक सञ्जालमा निकै चर्चा पनि भए।

तर हालसम्म उक्त लाभकर उठ्ने प्रक्रियासम्म सुरु हुन सकेको छैन।

अदालतको फैसलाको पूर्णपाठ आइनपुग्नु नै त्यसको कारण भएको ठूला करदाता कार्यालयका प्रमुख धनिराम शर्माले बताए।

बीबीसीसँग कुरा गर्दै उनले भने, "पूर्ण इजलासबाट जुन आदेश भएको छ त्यसको पूर्णपाठ हामीलाई अहिलेसम्म प्राप्त भएको छैन। हामी त्यसको प्रतिक्षामा छौँ। त्यो नआएसम्म यस विषयमा हामी अगाडि बढ्न सक्ने अवस्थामा छैनौँ।"

तिर्नु पर्ने लाभकर

आदेश अगाडिसम्म पूँजीगत लाभकर टेलियासोनेरा कम्पनीकै नाममा निर्धारण गरिएको थियो।

पहिले झन्डै ६१ अर्ब रुपैयाँ निर्धारण गरिएको उक्त कर हाल जरिबाना सहित ७५ अर्ब भन्दा बढी पुगेको बताइएको छ।

विवाद चल्दै गर्दा एनसेलले झन्डै २३ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो। आदेशको पूर्णपाठमा त्यसबारेमा पनि उल्लेख हुने र अब कति रकम असुल्नु पर्ने भन्ने यकिन हुने उनको भनाइ छ।

शर्माले भने, "कर निर्धारण हामीले टेलियासोनेराको नाममा गरेका छौँ। केही कर एनसेलले बुझाएको पनि छ। एनसेलले बुझाएको करका सन्दर्भमा अनि कति पैसा माग गर्ने भन्नेबारे फैसलाको पूर्णपाठमा के आउँछ त्यसको विस्तृत अध्ययन नगरेसम्म भन्न सक्ने अवस्था छैन।"

तस्वीर कपीराइट .
Image caption कर अधिकारीहरूले फैसलाको पूर्णपाठ हेरेर मात्र असुल्नुपर्ने कर निर्क्योल हुने बताएका छन्

आदेश तयारीकै चरणमा

सर्वोच्च अदालतका अधिकारीहरूले आदेशको पूर्णपाठ तयारीकै चरणमा रहेको बताएका छन्।

त्यसका लागि अझै केही दिन लाग्ने बताइएको छ।

आदेशका बारेमा अदालतसँग सम्पर्कमै रहेको ठूला करदाता कार्यालयका अधिकारीहरुको भनाइ छ।

अदालत प्रशासनले आफूहरूलाई काम भइरहेको जानकारी गराएको उनीहरूले बताएका छन।

आदेश आएपछि कर असुलीका अन्य प्रक्रिया बारेमा समस्या नरहेको अधिकारीहरूको भनाए छ।

समय तोकेर पत्राचार गर्ने, त्यो समयमा नआएमा फेरि पत्राचार गर्ने, सूचना निकाल्ने, कारोबार रोक्का गर्ने, ब्याङक खाता रोक्ने, जस्ता प्रक्रियाका बारेमा ऐनमा स्पष्ट व्यवस्था रहेकाले त्यही ऐन बमोजिम प्रक्रिया अगाडि बढाइने बताइएको छ।