नेपाल लगानी सम्मेलन: प्रतिबद्धतामात्रै जनाइन्छ की लगानी पनि भित्रिन्छ

  • 29 मार्च 2019
अर्थ मन्त्रालय

सरकारले निकै महत्त्व दिएको लगानी सम्मेलन झन्डै ६०० विदेशी लगानीकर्ताहरूको सहभागितामा आज सुरु हुँदैछ।

उक्त सम्मेलनमा सरकारी र निजी क्षेत्रका गरी ७७ वटा आयोजना लगानीका लागि अगाडि सारिने अधिकारीहरूले बताएका छन्।

सम्मेलनले नेपाल सरकारको 'समृद्ध नेपाल सुखी नेपाली'को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।

विदेशी लगानी भित्र्याउने भन्दै लगानी सम्मेलन गरिएको दुई वर्षपछि फेरि सरकारले अर्को सम्मेलन गर्न लागेको हो।

लगानीको प्रस्ताव क्षेत्र

राजनीतिक स्थिरता र स्थिर सरकार गठन भएकाले लगानीकर्ताहरू आकर्षित हुने भन्दै सम्मेलनको आयोजना गरिएको अधिकारीहरूले बताएका छन्।

जसका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था मिलाइसकिएको बताइएको छ।

सम्मेलनमा विभिन्न देशका उच्च पदस्थ अधिकारीसहित ४० देशका लगानीकर्ता सहभागी हुने सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद वाँस्कोटाले बताए।

"करिब छ सय जति विदेशी लगानीकर्ता र विकास साझेदारहरूले प्रतिनिधि मनोनयन गर्नुभएको छ। एनआरएनहरूको पनि सङ्ख्या छ र नेपालको निजी क्षेत्रका प्रतिष्ठित कम्पनीहरूको पनि मनोनयन प्राप्त भएको छ। एक हजारभन्दा माथिको सङ्ख्या हुनेछ।"

सम्मेलनमा सरकारका तर्फबाट कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धि सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजनाहरू प्रस्तुत गरिने बताइएको छ।

प्रतिद्धता र लगानी

सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर गरिने कार्यक्रमसमेत रहेको छ।

उक्त सम्मेलनबाट सरकारले गरेको अपेक्षा बारे प्रवक्ता वाँस्कोटाले भने, "लगानीको कुरा अहिले नै यति हुन्छ भनेर हामी भन्न सक्दैनौँ। तर हाम्रो अपेक्षा हामीले प्रस्ताव गरेका योजनाहरूमा ३० खर्ब जति हुन्छ। हामीले विदेशी लगानीको मात्रै अपेक्षा गरेका छैनौँ।"

दुई वर्षअघि गरिएको लगानी सम्मेलनमा १३ खर्ब रुपैयाँको लगानीको आसय देखाइए पनि हालसम्म झण्डै ३ खर्ब बराबरको लगानीमात्रै यथार्थमा आएको अधिकारीहरूको भनाइ छ।

सरकारले लगानीको वातावरण बनाउने भन्दै केही कानुनमा संशोधन गरेको छ भने केही नयाँ कानुन समेत ल्याएको छ।

सम्बन्धित समाचार