दलितको प्रश्नः हामीले बनाउने मन्दिरको त्रिशूल शुद्ध तर हामी कसरी अछुत

  • 30 मार्च 2019
दलित बस्ती धनगढी

छुवाछुत र जातीय विभेद अन्त्यका निम्ति सचेतना बढाउन भन्दै तीनजना अभियानकर्मी पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म पैदल यात्रामा छन्।

पटक पटक कानुन बन्दा पनि भेदभाव हट्न नसकेको यथार्थबीच अभियानकर्मी अशोक दर्नाल‚ होमराज आचार्य र रीता परियार पश्चिमदेखि पूर्वको पैदल यात्रामा निस्केका हुन्।

नेपाल पदयात्रा २०१९ मा सहभागी उनीहरूले २० मार्चमा पश्चिम नेपालको अत्तरिया नगरपालिकाको ६ नम्बर वडाको दलित बस्ती कोलीकटानमा स्थानीयवासीका व्यथा र तीतो अनुभव सुनेका थिए।

जङ्गबहादुर बिकका मनमा गुम्सिएको भावना एकाएक चोकमा जम्मा भएका मानिसहरूका अगाडि विस्फोट भयो।

कथा व्यथा

हाल ६८ वर्ष पुगेका उनले भने, "म लोहार हुँ। मैले बनाएको त्रिशूल मन्दिरमा राखेपछि शुद्ध हुने, म चाहिँ अशुद्ध। त्यो कसरी मिल्छ? म अशुद्ध भए मैले छोएको कुरा पनि अशुद्ध हुनुपर्ने हो।"

उनले राजाको प्रत्यक्ष शासनकाल भएको पञ्चायतकालमा आफूले भोगेको अनौठो कथा पनि सुनाए।

"गर्मी याममा लालपुर गाउँमा हिँडिरहँदा असाध्यै तिर्खा लाग्यो। एकजनाको आँगनमा रहेको नल चलाएर पानी पिएँ।

"पानी पिएर हिँड्दै गर्दा घर मालिक आएर 'जात के हो' भनेर सोधे। मैले जवाफ दिएँ: "म पुरुष हुँ। जात त दुईवटा छन्।"

"घर मालिकले थर सोधे। मैले 'लुहार' भनिदिएँ। उनले ममाथि हातपात गर्न थाले। मैले उनलाई नयाँ नल किनिदिन्छु भनेर नलै उखेलेर लडियामा राखेर हिँडेँ।"

"धनगढी पुगेर अञ्चलाधीश लक्षबहादुर गुरुङको निवासमा पुगेर मैले सबै कुरा भनेँ। अञ्चलाधीशले त्यो 'बाहुन'लाई नयाँ नल अञ्चलाधीश कार्यालयबाट लिन भन्नू भनेर भने। मैले भनिदिएँ।"

"दोस्रो दिन ती बाहुन अञ्चलाधीश कार्यालय पुगेछन्। अञ्चलाधीशले बेस्सरी हप्काएका थिए रे।"

"अहिले पञ्चायतकाल हटेको ३० वर्ष पुगिसक्यो। अझ पनि स्थिति उस्तै छ। हामीलाई दलित भनेर हेपिन्छ। हामीले छोएको कुरा उच्च जातिका भनाउँदालाई चल्दैन।"

बाटुली र मनसरा कोलीका कथा

छुवाछुत अझै यथावत रहेको बताउने बिक मात्रै थिएनन्।

जातीय आधारमा छुवाछुत गर्न नपाइने कानुन बनेको दशकौँ बित्दा पनि गाउँ एवम् सहर जताततै दलित समुदायले विभेद भोग्दै आएको उनीहरूले बताए।

नयाँ पुस्ताका कैयौँ भेदभावप्रति सचेत हुँदै गएको देखिए पनि पुरानो पुस्ता छुवाछुतप्रति कट्टर नै देखिन्छ। यसका कारण कठोर सजाय भोग्ने अरू पनि थिए।

बाटुलीदेवी कोलीले भनिन्, "मेरा श्रीमान्‌को एउटा औँला नै उनीहरूले काटिदिए। फेरि उनीहरूले नै प्रहरी ल्याउने धम्की दिएर हामीलाई चुप लगाए।"

"अहिले हाम्रा केटाकेटी गैरदलितको आँगनमा समेत जान पाउँदैनन्। गए भने घरै छोइदियो भनेर पिट्न आउँछन्।"

पदयात्रीहरूलाई कोलीकटानवासीले दुई दशकदेखि बस्दै आएको जमिनको अहिलेसम्म लालपुर्जा नपाएको दुखेसो पोखे।

मनसरादेवी कोलीले भनिन्, "सबैको घरजग्गाको लालपुर्जा छ‚ हामीलाई भने घर जग्गाको लालपुर्जा राखेर केही काम गरौँ भने पनि गर्न सक्ने अवस्था छैन।

"कुनै योजना आए पनि गैरदलित बस्तीमा आउँछ। हामीले त गैरदलित नेतालाई भोट हाल्ने मात्रै हो।"

Image caption बाग्लुङ नगरपालिका-३ की रेवती किसान विगतको तुलनामा समाजमा धेरै परिवर्तन भएको बताउँछिन्

भोट चाहिने, नेता नचाहिने

कोलीकटानवासीको समस्या समाधानमा सहयोगी बन्दै आएका एकजना अगुवा रतन नेपालीले सो बस्तीमा आठ सय मतदाता दलित समुदायको भएर पनि जातीय विभेदकै कारण दलितले वडामा कहिल्यै टिकट नपाएको बताए।

राज्यले जातीय विभेद कानुनी रूपमा अन्त्य गरे पनि व्यावहारिक रूपमा अन्त्य हुन नसकेका कारण अहिले पनि कतिपय दलित समुदायले घरबाट मात्र होइन, गाउँबाटै निकालिनु परेको घटना पनि नरोकिएको बताइन्छ।

जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेसँगै जातीय विभेद दण्डनीय अपराधका रूपमा रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाले बताएका छन्।

नेपाल पदयात्रा २०१९

नेपाल पदयात्रा २०१९ सुदूरपश्चिम प्रदेशको अन्तिम सीमा दोधारा चाँदनीबाट आरम्भ भएको हो।

पदयात्राका क्रममा दलित अधिकारकर्मी तथा सञ्चाकर्मी दर्नाल‚ सार्वजनिक नीतिनिर्माणविज्ञ आचार्य र महिला सामाजिक कार्यकर्ता परियार स्थानीयवासीसँग अन्तरक्रिया गर्ने लक्ष्य रहेको आयोजकहरूले बताएका छन्।

उनीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर कञ्चनपुरमा देखिएको जातीय विभेद‚ अन्तरजातीय विवाह गरेका जोडीले भोग्नु परेको समस्या र जातीय विभेद अन्त्यका लागि बनेका कानुन र नीतिनिर्देशन र राज्यको घोषणाको व्यावहारिक रूपमा कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

उनीहरूले धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसँग नगर क्षेत्रमै विभेद रहेकोले त्यसको अन्त्यका लागि आग्रह गरेका थिए । नगरप्रमुख वडले सबै खाले विभेद हटाउन आवश्यक भूमिका निर्वाह गर्ने आश्वासन दिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
दाङमा दलित पुजारी