भारतमा निर्वाचन: के नरेन्द्र मोदीको जादु फेरि चल्छ?

  • 3 एप्रिल 2019
नरेन्द्र मोदी तस्वीर कपीराइट Getty Images

सन् २०१४ मा भारतको संसदीय निर्वाचनको बेला थियो।

एउटा चुनावी सभामा मुलायम सिंह यादवले भने: "मोदी उत्तर प्रदेशलाई गुजरात बनाउन सक्दैनन्।"

अर्को दिन अर्को चुनावी सभामा नरेन्द्र मोदीले यादवलाई जवाफ दिए: "नेताजी भन्छन् मोदीमा उत्तर प्रदेशलाई दोस्रो गुजरात बनाउने क्षमता छैन। तपाईँलाई थाहा छ दोस्रो गुजरात बनाउन कुन चीज सबैभन्दा महत्वपूर्ण छ? यसको लागि चाहिन्छ ५६ इञ्चको छाती।"

यो भनाइले मोदीलाई सन् २०१४ मा 'माचो म्यान'को रूपमा स्थापित गर्यो र यसले उनलाई हिन्दु पुरुषत्वमा विश्वास गर्नेहरूका बीच स्थापित गर्यो।

यो फरक कुरा हो कि उनको जीवनी लेखक निलञ्जन मुखोपाध्यायले जब अहमदाबादस्थित दर्जी बिपिन चौहानलाई मोदीको छातीको नाप सोधे, उनले जवाफ पाएनन्। चौहानले दिएको एकमात्र जानकारी मोदीको छातीको नाप ५६ इञ्च थिएन भन्ने थियो।

पछि डा. भीमराव अम्बेडकर विश्वविद्यालयका अधिकारीहरूले मोदीको लागि 'अचकन' लुगा सिलाउन खोज्दा दर्जीलाई दिइएको छातीको नाप ५० इञ्च थियो।

तस्वीर कपीराइट Getty Images

बाल्यकालदेखिनै बहसको बानी

मोदी औसत विद्यार्थी थिए।

'नरेन्द्र मोदी: द म्यान, द टाइम्स'का लेखक निलञ्जन मुखोपाध्यायले मोदीलाई बीएन हाई स्कूलमा पढाएका शिक्षक प्रह्लादभाई पटेलले भनेको सम्झन्छन्: "नरेन्द्र त्यो बेला धेरै वादविवाद गर्थे। एकपटक मैले उनलाई कक्षाको मोनिटरलाई गृहकार्य देखाउन भन्दा उनले नाई भन्दै शिक्षकलाई मात्रै देखाउने बताएका थिए।"

तस्वीर कपीराइट Getty Images

जब मोदीले गोही भएको ताल पार गरे

मोदीका आलोचकहरूपनि मान्छन् कि मोदीमा आत्मविश्वासको कुनै कमी छैन।

मोदीको अर्को जीवनी लेखक एण्डी मारिनो आफ्नो 'नरेन्द्र मोदी: अ पोलिटिकल बायोग्राफी' पुस्तकमा लेख्छन्: "मोदीको बाल्यकालमा शर्मिष्ठा तालको नजिकै एउटा मन्दिर थियो। त्यो मन्दिरको शीर्षभागमा रहेको झण्डा धार्मिक महोत्सवहरूमा फेरिन्थ्यो। एक पटक झण्डा फेर्ने बेलामा ठूलो पानी परिरहेको थियो। मोदीले पौडेर मन्दिरमा पुगेर झण्डा फेर्ने निधो गरे। त्यो तालमा गोहीहरू थिए। मोदी पौडन् थालेपछि ताल नजिकै मानिसहरू जम्मा भएर गोहीलाई तर्साउन ढोल बजाउन थाले र जब मोदी झण्डा फेरेर फर्किए, मानिसहरूले उनलाई काँधमा बोके।"

यो घटनाका विभिन्न पक्षहरूको बारेमा प्रश्न उठाएर यसलाई काल्पनिक घटना भन्नेहरू पनि छन्।

तस्वीर कपीराइट Getty Images

चिया पसल

नरेन्द्र मोदी सानो उमेरदेखिनै घरको काममा सघाउँथे। विद्यालय छुट्टी भएपछि उनी वडनगरमा रहेको आफ्नो पिताको चिया पसलमा पुग्थे।

यो कुरा मोदीले जहिले पनि शानले भन्ने गर्छन्।

असममा चिया बगानमा काम गर्ने मजदुरहरूलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए: "मानिसहरूलाई तपाईँको असमको चिया खुवाएर म यो स्थानमा पुगेको हुँ।"

मोदीको जीवनी लेखकहरूले उनले वडनगर र अहमदाबादमा चिया बेचेको कुरालाई विस्तारमा लेखेका छन्।

इकोनोमिक टाइम्समा प्रकाशित एक लेखमा चिया पसलमा नै मोदीले राजनीतिक गुरु लक्ष्मणराव इमान्दारलाई भेटेको बताइएको छ।

दूरशिक्षामार्फत राजनीतिशास्त्र पढाइ

मोदीले प्राथमिक शिक्षापछि जाननगर सैनिक विद्यालयमा पढ्न खोजेका थिए तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण त्यो सम्भव भएन।

दोस्रो उनको पिता पनि उनी पढाइका लागि वडनगर बाहिर जाने कुराको विरोधी थिए। उनी त्यही शहरमा भर्ना भए तर कम उपस्थितिका कारण पढाइ छोड्न बाध्य भए।

पछि उनले दूरशिक्षामार्फत दिल्ली विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक र गुजरात विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि लिए।

गुजरात विश्वविद्यालयका अनुसार उनले सन् १९८३ मा प्रथम श्रेणीमा स्नातकोत्तर उतीर्ण गरेका थिए। पछि प्राध्यापक जयन्तीभाइ पटेलले मोदीले पढेका भनेका विषय कहिल्यै पढाइ नभएको भनेर दाबी गरेपनि विश्वविद्यालयले त्यसको खण्डन गरेको छ।

तस्वीर कपीराइट Getty Images

जसोदाबेनसँग विवाह

मोदी १३ वर्षको हुँदा उनको परिवारले ११ वर्षिया जसोदाबेनसँग विवाह गरिदिएको थियो। उनी विवाहको केही दिनपछि घर छोडेर हिँडे।

गुजरातको राजनीतिक वृत्तमा यो कुराको चर्चा मसिनो स्वरमा हुने गरेपनि सन् २०१४ मा चुनावको ताका उनको विवाहको कुरो बाहिर आयो।

मोदी प्रधानमन्त्री भएपछि परम्पराअनुसार जसोदाबेनलाई सुरक्षा प्रदान गरियो जसले उनलाई अनौठो अवस्थामा पारिदियो।

फस्टपोस्टलाई दिएको अन्तर्वार्तामा जसोदाबेनले आफू सार्वजनिक यातायातमा हिड्दा पनि सुरक्षा दिनेले प्रहरी गाडीमा आफूलाई पिछा गर्ने गरेको बताएकी थिइन्।

तस्वीर कपीराइट Getty Images

मोदीका गुरु

यदि कसैलाई मोदीलाई राष्ट्रिय स्वयंसेवक संघ - आरएसएसमा ल्याएको श्रेय दिने हो भने त्यो वकिल साहेब नामले चिनिने लक्ष्मणराव इमान्दारलाई दिइनुपर्छ।

वकिल साहेब त्यतिबेला गुजरातको प्रान्त प्रचारक थिए। मोदीले दिवालीको दिन आरएसएसको सदस्यता लिएका थिए। वकिल साहेब सन् १९८४ मा बिते र मोदीले राजाभाइ नेनेसँग मिलेर उनको बारेमा सेतुबन्ध नामक पुस्तक लेखेका थिए।

तस्वीर कपीराइट Getty Images

बाजपेयीको फोन कल

सन् २००१ को अक्टोबर १ मा मोदी दुर्घटनामा बितेका एक पत्रकार साथीको अन्तिम संस्कारमा सहभागी भइरहँदा उनको मोबाइलमा एउटा कल आयो। त्यो कल तत्कालिन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको थियो।

बाजेपेयीले सोधे: 'तिमी कता छौ?' त्यो दिन बेलुकी मोदी र बाजपेयी भेट्ने कुरा भयो। जब मोदी बाजपेयीको निवासमा पुगे, बाजपेयीले भने: "दिल्लीमा पंजाबी खाना खाएर धेरै मोटाएछौ, अब गुजरात जाउ।"

मारिनोले लेखेका छन्, "मोदीलाई लाग्यो उनलाई दलको कामले गुजरात पठाइँदैछ। तर प्रधानमन्त्रीले उनलाई गुजरातमा केशुभाइ पटेलको स्थानमा मुख्यमन्त्री बनाउनका लागि पठाउन लागिएको बताए। मोदीले त्यो कुरा मानेनन्।"

मोदीले आफू १० दिन बसेर त्यहाँको समस्या समाधान गर्न सक्ने बताए तर मुख्यमन्त्री हुन मानेनन्। पछि लालकृष्ण आडवाणीले उनलाई भने: "सबैजनाको एकमत भइसक्यो, तिमी जाउ र पदको सपथ ग्रहण गर।"

अक्टोबर ७ मा मोदीले गुजरातको मुख्यमन्त्रीको सपथ लिए।

तस्वीर कपीराइट Getty Images

गुजरात दङ्गा: मोदीको दाग

मुख्यमन्त्री भएको चार महिनाभित्रै मोदी एउटा काण्डमा परे। हिन्दु स्वयंसेवकहरू बोकेर अयोध्याबाट गोधरातर्फ आइरहेको एउटा रेल जलाइयो जसमा ५८ जनाको ज्यान गयो। त्यसको भोलिपल्ट विश्व हिन्दु परिषद्ले गुजरात बन्दको घोषणा गर्यो।

हिन्दु र मुस्लिमबीच दङ्गा भयो जसमा २,००० जना भन्दा धेरैको ज्यान गयो। मोदीलाई समयमै स्थिति नियन्त्रण गर्न तदारूकता नदेखाएको आरोप लाग्यो।

एउटा पत्रकार सम्मेलनमा मोदीले यस्तो कुरा भने जसले यसलाई झन विवादित बनाइदियो। उनले भनेका थिए: 'सबै कार्यको उस्तै र उल्टो प्रतिक्रिया हुन्छ।'

तत्कालिन प्रधानमन्त्री बाजपेयीका मुख्य सचिव ब्रजेश मिश्राले केही वर्षपछि एउटा अन्तर्वार्तामा गुजरात काण्डपछि बाजपेयीले मोदीको राजिनामा चाहेको तर पार्टीको नेतृत्वले त्यो नचाहेको बताएका थिए।

एक पटक मौलाना सय्यद इमामले मोदीलाई मुस्लिमहरूले लगाउने टोपी लगाउन दिँदा मोदीले अस्वीकार गर्दै टोपी लगाउँदै कोही धर्म निरपेक्ष नहुने बताएका थिए। तर सन् २०१४ को चुनावताका मोदीले शिख पगरीका साथै अन्य विभिन्न प्रकारका टोपी लगाएका थिए।

तस्वीर कपीराइट Getty Images

गुजरात मोडल

मोदीले सन् २००२ को दङ्गाका दाग मेटाउन गुजरातलाई आर्थिक विकासको नमूनाको रूपमा देखाउने प्रयास गरे।

उनी मुख्यमन्त्री भएको समयमा भएको निजी क्षेत्रको विकास, सार्वजनिक संस्थानहरूको राम्रो व्यवस्थापन र १० प्रतिशतको आर्थिक वृद्धिदर देखाउन गुजरात मोडल भन्ने शब्द विकास गरिएको थियो।

पश्चिम बंगालमा सन् २००८ मा टाटा मोटर्सको कारखानामा भएको विरोधको बेला मोदीले कम्पनीलाई गुजरातमा आउन निम्तो गरे। उनले जग्गा, कर छुट र अन्य थुप्रै सुविधाहरु प्रदान गरे। रतन टाटा यति खुशी भए कि उनले मोदीको खुब प्रशंसा गरे।

तर उनको गुजरात मोडलमाथि प्रश्न गर्नेहरू पनि छन्। गुजरात लगानी सम्मेलनहरूमा प्रतिबद्धता व्यक्त गरिएका ८४ लाख करोड भारूका धेरैजसो परियोजनाहरू अधुरो रहेको पत्रकार रुतम वोराले लेखेका छन्।

तस्वीर कपीराइट Getty Images

ब्राण्ड मोदीको निर्माता

आलोचनाका बीच पनि कसरी मोदीले ठूलो जनसमर्थन पाइरहेका छन् भन्ने प्रश्नहरू उठ्ने गर्छन्।

मोदीको जीवनका बारेमा लेख्ने अर्का लेखक उदय महुरकर लेख्छन्: "नरेन्द्र मोदी आफैले ब्राण्ड मोदी निर्माण गर्न मिहेनत गरेका छन्। उनको सानो सानो सफलतामा पनि जितको सङ्केत गर्ने बानी, आत्मविश्वास वा आक्रोश झल्किने उनको व्यक्तित्व र उनको बाहुला नभएको कुर्ता सुरूवाल सबै कुरा मिहिनरूपमा योजना बनाएर गरिएका कुराहरू हुन्।

विश्वलाई चिनाइएको मोदीको छवि भनेको ल्यापटप, आर्थिक पत्रिका र क्यामरा बोक्ने आधुनिक व्यक्तिको हो।

उनी न समाजवादी नेताजस्तो हातले बुनेको कपडाले बनेको खुज्मुजिएको लुगा लगाउने हुन् न त आरएसएस प्रचारकजस्तो खाकीको लुगा लगाउने हुन्। उनी महँगो विदेशी ब्राण्डका चस्मा लगाउँछन्, कलम बोक्छन् र छालाको ब्याण्ड भएको घडी लगाउँछन्।

आवाज बस्ने डरले उनी कहिल्यै चिसो पानी पिउँदैनन्। खल्तीमा सधैँ सानो काँइयो बोक्छन् र कहिलेपनि नमिलेको कपालमा तस्बिर खिचाउँदैनन्। उनी विहान ४:३० मा उठ्छन्, योग गर्छन र आइप्याडमा समाचार पढ्छन्। गएको दुई दशकमा उनले कहिल्यै छुट्टी लिएका छैनन्।"

तस्वीर कपीराइट Getty Images

रोजगारी सिर्जना गर्न असफल

मोदीले सन् २०१४ मा निर्वाचन जित्नुको दुई कारण थियो। प्रतिस्पर्धी कँग्रेस पार्टीको विश्वसनीयता माटोमा मिलेको थियो। उनले युवाहरूकालागि वर्षको एक करोड अर्थात महिनाको आठ लाख ४० हजार रोजगारी सिर्जना गर्ने वाचा गरेका थिए।

उनको कट्टर समर्थकहरू पनि उनले वाचा गरे अनुसारको रोजगारी सिर्जना गर्न नसकेको मान्छन्। १३३ करोड जनसङ्ख्या भएको भारतमा महिनामा कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छ। मोदी सरकारको सबैभन्दा ठूलो असफलता त्यही हो।

भारतको हालैको त्रैमासिक आर्थिक वृद्धिदर ६.६ प्रतिशत छ जुन धेरै विकसित देशहरूको भन्दा बढी हो तर गएको पाँच वर्षमा भारतमा सबैभन्दा कम हो।

बालाकोटले नयाँ मोड

यति मात्रै होइन भारतका कृषकहरूपनि मोदी सरकारसँग खुशी छैनन्। केही समय अगाडि हजारौँ कृषकहरू नयाँ दिल्लीमा विरोध प्रदर्शनमा थिए।

गएको केही महिनामा मोदी आफैले प्रचारप्रसार गरेपनि तीन वटा प्रदेशमा उनको पार्टीले स्थानीय चुनाव हारेको छ। यसै कारणले मोदीले लोकसभाको निर्वाचनमा पार्टीलाई जिताउन सक्ने कुरामा शङ्का व्यक्त गर्न थालिएको थियो।

तर कश्मीरमा हालै भएको आतंककारी हमला र त्यसपछि एक हप्ता पाकिस्तानसँग भएको मुठभेडले मोदीको चर्चा बढाएको छ।

तस्वीर कपीराइट Getty Images

लडाईँमा फर्किए मोदी

भारतीय मतदाताका लागि भारतीय सेनाले पाकिस्तानमा लक्ष्य हासिल गर्न नसकेको वा त्यहाँ भारतीय विमान खसालिएको विषयले खासै महत्व राख्दैन। उनीहरुको लागि सबैभन्दा महत्वपूर्ण भनेको पाकिस्तानले भारतमाथि हमला बोल्यो र प्रधानमन्त्री मोदीले त्यसको तुरुन्तै जवाफ दिए भन्ने हो।

उनले 'मेरो हिसाब बराबर गर्ने बानी छ र आक्रमणकारी समुद्रको फेदमा लुकेको भएपनि म भेट्टाउँछु' भन्दा ठूलो ताली बजेको थियो।

कार्नेगी एनडाउमेन्ट अफ इन्टरनेसनल पिसका दक्षिण एशिया निर्देशक मिलन वैष्णव भन्छन्: "पाकिस्तान समस्याले मोदीलाई स्वर्णिम मौका दियो। राष्ट्रिय सुरक्षाको मामिलामा तत्काल निर्णय चाहिन्छ र यसले आममानिसलाई नेतृत्व क्षमता देखाउने यथेष्ट मौका दिन्छ। मोदी आफूसँग ती क्षमता भएको देखाउन सफल भए।"

ब्राउन विश्वविद्यालयस्थित सेन्टर फर कन्टेम्पोररी साउथ एशियाका निर्देशक प्राध्यापक आशुतोष वार्ष्णेय भन्छन्: "यस्तो लाग्छ कि मोदी खेलमा पुर्नप्रवेश गरेका छन्। तर कथामा मोड आउन सक्छ किनभने मतदाताको असन्तुष्टी कायम छ र निर्वाचन अभियान भर्खरै शुरू भएको छ। मोदीले आफ्नो सबै अस्त्र प्रयोग गरिसकेको सोच्नु मुर्ख्याईँ हुनेछ।"

भारतको संसदीय निर्वाचनको एकमात्र अजेण्डा नरेन्द्र मोदी हुने कुरामा दुईमत छैन तर के मतदातामा उनको जादु अझै चल्छ?

सम्बन्धित सामग्री

सम्बन्धित समाचार