के ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्लान्

  • 30 मार्च 2019
सीमा तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताएका छन्।

सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ।

मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने बताएका छन्।

विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै ट्वीट गरेका छन्।

के भने ट्रम्पले?

शुक्रवार पत्रकारहरूलाई ट्रम्पले भने, "अर्को हप्ता मैले सीमा बन्द गराउँछुजस्तो देखिन्छ र त्यसो गर्दा मलाई कुनै समस्या हुनेछैन।"

अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ।

त्यसपछि सो विषयमा ट्रम्पले शृङ्खलाबद्ध ट्वीटहरू गरे जसमा उनले लागुऔषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु जाती हुने भनेका छन्।

तस्वीर कपीराइट Reuters

मेक्सिकोको जवाफ के छ?

बिहीवार मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले आप्रवासनको विषय मेक्सिकोमै निर्भर नभएको बताए।

उनले मेक्सिकोबाट नभई मध्य अमेरिकी देशहरूबाट समस्या सिर्जना भएको उल्लेख गरे।

"मेक्सिकोका मानिसहरूले अब अमेरिकामा काम खोज्दैनन्। अधिकांश आप्रवासीहरूमध्ये अमेरिकी देशका बासिन्दा हुन्छन्।"

तस्वीर कपीराइट Reuters
Image caption मेक्सिकोका राष्ट्रपति ओबर्‍याडोर

शुक्रवार ट्रम्पका ट्वीटपछि मेक्सिकोका राष्ट्रपति ओबर्‍याडोरले आफ्ना समर्थकहरूको एउटा भीडलाई सम्बोधन गर्दै भने, "म स्पष्ट पार्न चाहन्छु कि हामी अमेरिकी सरकारसँग झगडा गर्न गइरहेका छैनौँ। शान्ति र माया।"

आप्रवासनलाई मानव अधिकारको रूपमा व्याख्य गर्दै उनले भने, "मध्य अमेरिकी देशका नागरिकसँग कुनै विकल्प छैन। अतः उनीहरू बाँच्ने उपाय खोज्छन्।"

किन ट्रम्प सीमा बन्द गर्न चाहन्छन्?

आन्तरिक सुरक्षा मामिलामन्त्री किर्टस्न निल्सनका अनुसार एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा भएका हिंसाका कारण भागेर आउने आप्रवासीलाई सम्हाल्न सीमा सुरक्षा कर्मचारीलाई हम्मेहम्मे परिरहेको छ।

सो मन्त्रालयका अधिकारीहरूका अनुसार मार्चमा पक्राउ पर्ने गैरकानुनी आप्रवासीहरूको सङ्ख्या एक लाख नाघ्ने ठानिएको छ। यो सङ्ख्या एक दशकयताकै ठूलो हुनेछ।

हिरासतमा लिइएकामध्ये आमाबुवाको साथमा नरहेका एक हजारभन्दा बढी बालबालिका छन्।

हिरासतमा रहेका ६,६०० आप्रवासी परिवारको हेरचार गर्दा निकै समस्या उत्पन्न भएको आन्तरिक सुरक्षा मामिलामन्त्री निल्सनले बताएकी छन्।

प्रवेशविन्दुहरू बन्द गर्दैमा अमेरिका छिर्न चाहने आप्रवासीहरूको सङ्ख्यामा कसरी कमी आउनेछ भन्ने स्पष्ट छैन।

तस्वीर कपीराइट AFP

अधिकांश आप्रवासीहरू अनौपचारिक विन्दुमा आइपुग्छन् र कानुनी सहायताका निम्ति औपचारिक प्रवेशविन्दुमा पुग्छन्।

सो मन्त्रालयका अनुसार प्रदेशविन्दुबाट साढे सात सय कर्मचारीलाई स्थानान्तरण गरेर औपचारिक प्रवेशविन्दुमा खटाइएको छ ताकि उनीहरूले शरण लिन चाहनेहरूलाई सघाउन सकून्।

के असर पर्न सक्छ?

मन्त्री निल्सनले अमेरिकीहरूले यो आपत्‌कालका असर महसुस गर्न सक्ने चेतावनी दिइन्। कर्मचारी अभावको असर पहिल्यैदेखि छ।

सीमा बन्द गरिए त्यसको ठूलो आर्थिक असर पर्न सक्छ, पर्यटनका साथै अमेरिका र मेक्सिकोबीचको व्यापारमा असर पर्न सक्छ।

अमेरिकी तथ्याङ्क अनुसार गत वर्ष दुई देशबीचको व्यापार ६१२ अर्ब डलर बराबरको थियो।

तस्वीर कपीराइट Reuters

मेक्सिकोको तिजुआनास्थित सीसीई व्यापारिक समूहका प्रमुख कुर्ट होनोल्डले अर्बौँ डलर बराबरको घाटा हुनेछ।

"यो कुरा स्पष्ट कि उनले आफूले भन्ने कुराको मापन गरिरहेका छैनन्।"

यसको पृष्ठभूमि के हो?

सन् २०१५ को राष्ट्रपतीय चुनावी अभियानमा ट्रम्पले गैरकानुनी आप्रवासीमाथि कडाइ गर्ने बताएका थिए।

मेक्सिकोले सीमाबाट "लागुऔषध, अपराध र बलात्कारीहरू" पुर्‍याएको उनको आरोप थियो।

कंग्रेसले बजेट दिन अस्वीकार गरेपछि मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने उनको लोप्रिय वाचा पूरा हुन सकेको छैन।

हुन त ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरिसकेका छन्।

सन् २०१६ चुनावयता ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी पटक पटक दिँदै आएका छन्।

बिहीवार मिसिगनमा समर्थकहरूको एउटा र्‍यालीमा ट्रम्पले भने, "बन्द गर सीमा।"

शुक्रवार मेक्सिकोका राष्ट्रपति ओबर्‍याडोरले पत्रकारहरूलाई भने, "आप्रवासीका यी लस्कर लगायतका कुरा राजनीति र अमेरिकी चुनावी अभियानसँग सम्बन्धित छन्। यसकारणमा म त्यसमा मुछिन्नँ।"