प्रधानमन्त्री ओली भन्छन्, 'नेपाली कांग्रेसको असन्तुष्टि भागबन्डामा'

  • 31 मार्च 2019
ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सबै ठाउँमा भागबन्डा र मोलतोल गर्न खोजेको आरोप लगाएका छन्।

निर्वाचन आयोगका प्रमुख आयुक्तको नियुक्ति लगायतका विषयमा देखिएको कांग्रेसको पछिल्लो असन्तुष्टिलाई प्रधानमन्त्री ओलीले भागबन्डासँग जोडेका हुन्।

संवैधानिक परिषद्को हालैको बैठकले प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्ति गर्ने निर्णय गरेको थियो।

तर सहभागी नभएको बैठकले गरेका निर्णय अमान्य हुने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य नेताले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

गृहनगर झापा जाने क्रममा आइतवार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्तको नियुक्तिबारे कांग्रेस सभापति देउवासँग पर्याप्त छलफल गरेको दाबी गरे ।

कांग्रेसले भागबन्डा खोजेको र त्यो नपाएकोमा संवैधानिक परिषद्को बैठकमा पार्टीको संसदीय दलको बैठकको बहाना बनाएर देउवा अनुपस्थित रहेको ओलीको आरोप थियो।

प्रधानमन्त्री ओलीले भने, "हामीले एकलौटी पनि गरेको होइन। हाम्रो पार्टीको मान्छे पनि नियुक्त गरेको होइन, उहाँसँगै परामर्श गरेर बैठक डाकिएको हो।"

"तर उहाँ त्यो बैठकमा बस्न मान्नुभएन।"

लगानी सम्मेलन 'ऐतिहासिक'

शनिवार राजधानीमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन ऐतिहासिक र पूर्ण रूपमा सफल भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।

सो सम्मेलनले विकासको ढोका खुलेको उनको भनाइ थियो ।

एशियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, भारत , चीन , युरोप र अरब मुलुकबाट धेरै उत्साहपूर्ण रूपमा लगानीको प्रतिबद्धता आएको भन्दै ओलीले भने, "लगानी सम्मेलनबारे प्रश्न उठाउने र खोट लगाउने कुनै ठाउँ छैन।"

गत वर्षलाई आधार वर्षको रूपमा लिएको र आगामी दिनलाई लगानी र विकासको वर्षको रुपमा अघि बढाइने प्रधानमन्त्री ओलीले बताए ।

उनका अनुसार अब नेपालको विकासलाई कसैले रोक्न सक्दैन।

अदालत 'स्वतन्त्र'

प्रहरीले पक्राउ गरेका नेत्रविक्रम चन्दको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई अदालतले धामधम छोडेको विषयालाई प्रधानमन्त्री ओलीले त्यसलाई स्वाभाविक रूपमा लिए।

उनले त्यसलाई अदालतको स्वतन्त्रतासँग जोड्न खोजे।

"कहीँ कतै प्रक्रिया र प्रमाण नपुगेर उनीहरू छुटे होलान्, तर यसलाई लिएर अदातल र सरकारबीच अन्तरविरोध निम्त्याउनु हुन्न। सरकार र न्यायालय अलगअलग हुन्।"

केही हप्ताअघि चन्द समूहले देशका विभिन्न स्थानमा हिंसात्मक गतिविधि बढाएपछि सरकारले कडाइ गर्न थालेको छ।

प्रधानमन्त्री स्वयंले सो समूह र त्यसका नेताको चर्को आलोचना गर्दै उनीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

विराटनगरबाट गाडी चढेर ओली झन्डै ६५ किलोमिटर पर झापामा अर्को कार्यक्रममा सहभागी हुन पुगे।

सम्बन्धित सामग्री