बारा पर्सा हावाहुरी: केन्द्रले पठायो चिकित्सक

  • 1 एप्रिल 2019
अस्पतालमा बिरामी तस्वीर कपीराइट Madhuri Mahato

हावाहुरीका कारण घाइते भएर बारा र पर्साका विभिन्न अस्पतालमा बिरामीको चाप बढेको र त्यहाँ चिकित्सकको अभाव भएको सामाचार आएपछि त्यहाँ केन्द्रबाट चिकित्सकहरू पठाइएको गृहमन्त्रालयले जनाएको छ।

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, न्याश्नल मेडिकल कलेजलगायतका अस्पतालहरूमा घाइतेहरूको सङ्ख्या धेरै हुँदा उपचार गर्ने चिकित्सकको अभाव भएको गुनासो प्रदेश नं २ का मन्त्रीहरूले गरेका थिए।

त्यस्तो जानकारी आएलगत्तै स्वास्थ्यमन्त्रालयसँग समन्वय गरेर चिकित्सकहरू पठाइएको गृहप्रवक्ता सुवेदीले बताए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बारा र पर्सामा विनाशकारी हावाहुरीले पुर्‍याएको क्षति

समस्या अब छैन

"हामीले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर उपचारका लागि चिकित्सकहरूको व्यवस्था मिलाएका छौँ," सुवेदीले बीबीसीसँग भने, "त्यसबाहेक सेना र विभिन्न निजी अस्पतालले पनि आफ्ना चिकित्सकहरू पठाएकाले चिकित्सक अभावको समस्या अब छैन।"

राति घाइतेको उपचारका लागि रगत अभाव भएको भनिए पनि अहिले त्यो पनि समस्या नरहेको उनले बताए।

गम्भीर घाइते भएका सात जनालाई भने थप उपचारका लागि काठमाण्डू ल्याइएको उनले जानकारी दिए।

आइतवार रातिदेखि भर्ना हुन आएका बिरामीहरूको सङ्ख्या धेरै भएका कारण ती अस्पतालहरूमा घाइतेहरूले अस्पतालका बरन्डामा समेत बसेर उपचार गराइरहेको वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतोले बताइन्।

सम्बन्धित सामग्री