काठमाण्डूमा पनि आएको थियो हावाहुरी, दुई दर्जनभन्दा बढी उडान प्रभावित

  • 1 एप्रिल 2019
उडान प्रभावित
Image caption तीव्र वायुका कारण साँझ ‍६ बजेर ४ मिनेट देखि ६ बजेर ४१ मिनेटसम्म विमानस्थल बन्द गर्नुपरेको थियो।

काठमाण्डू उपत्यका र मध्य नेपालका विभिन्न स्थानमा आइतवार साँझ तीव्र गतिको हावा चल्यो।

हावाका कारण साँझ ‍६:०४ मिनेटदेखि ६:४१ मिनेटसम्म विमानस्थल बन्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले जानकारी दिए।

त्यसबाट दुई दर्जनभन्दा बढी उडान प्रभावित भएका थिए।

मौसममा भएको बदलीका कारण उत्पन्न हावाहुरीले २२ वटा आन्तरिक र चारवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको पौडेलले बताए।

काठमाण्डूमा उत्पन्न हावाहुरी र बारा तथा पर्सा जिल्लालाई साढे सात बजेपछि प्रभावित पार्ने हावाहुरीबीच सम्बन्ध भएको हुन सक्ने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजु कुमार वैद्य बताउँछन्।

चितवनमा उत्पन्न भएर बारा र पर्सातिर सरेको हावाहुरीले ती दुई जिल्लामा धनजनको ठूलो क्षति पुर्‍याएको छ।

अन्तर्राष्ट्रिय उडान भारततिर फर्काइयो

विमानस्थलका अधिकारीहरूका अनुसार दोहाबाट काठमाण्डू आउँदै गरेको कतार एअरवेजको विमान भारतको कोलकातातिर मोडिएको थियो।

त्यस्तै चीनबाट उडेको चाइना सदर्न र दुबईबाट उडेको फ्लाई दुबईको विमानले भारतकै अर्को सहर लखनऊमा अवतरण गरेका थिए।

काठमाण्डू विमानस्थलबाट उड्न तयार अवस्थामा रहेको इतिहाद एअरको विमानलाई पार्किङ स्थलतर्फ फर्काइएको थियो।

पछि विमानस्थल सञ्चालनमा आएपछि उक्त विमान उडेको थियो।

सबै आन्तरिक उडान स्थगित

आन्तरिकतर्फ भने विमानस्थल बन्द भएपछि सबै उडान रद्द गरिएको थियो।

काठमाण्डूबाट विभिन्न जिल्लातर्फ उडान गर्ने तयारी अवस्थामा रहेका १२ र काठमाण्डू आउने १० वटा उडान स्थगित भएका थिए।

"ती सबै उडान सोमवार बिहान सम्पन्न भइसकेको छ," पौडेलले बीबीसी नेपाली सेवासँग भने।

सम्बन्धित सामग्री