भारतीय निर्वाचन: भारतको कङ्ग्रेस पार्टी सम्बद्ध सयौँ फेसबुक पेज बन्द

  • 1 एप्रिल 2019
फेसबुक तस्वीर कपीराइट Reuters

फेसबुकले भारतको प्रमुख विपक्षी दल कङ्ग्रेस पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेज हटाइदिएको जनाएको छ।

फेसबुकको साइबर सेक्युरिटि पोलिसीका प्रमुख नथेनिएल ग्लेचरले एउटा बक्तव्य जारी गर्दै भनेका छन्: "यो गतिविधि पछाडिका मानिसहरूले आफ्नो परिचय लुकाउने प्रयास गरेपनि हामीले गरेको समीक्षाले तिनीहरू भारतीय राष्ट्रिय कङ्ग्रेसको आइटी एकाईका व्यक्तिहरू भएको थाहा भयो।"

फेकन्यूज भनिने मिथ्या समाचार फैलिनबाट रोक्न सरकारहरूले थप कदम चाल्नु पर्छ भनि फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले आह्वान गरेका एकदिन पछि यस्तो कदम चालिएको छ।

उक्त सामाजिक सञ्जालले फेकन्यूजको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्ने देखाउन पनि सो कदम चालिएको हुन सक्छ।

तर उक्त कम्पनीले भारतीय कङ्ग्रेस पार्टिसँग सम्बद्ध त्यति धेरै पेजहरूलाई निशाना बनाएको घटना राजनीतिक दृष्टिले पनि उल्लेखनीय छ।

निर्वाचन

आगामी ११ एप्रिलदेखि भारतमा आमनिर्वाचनमा मतदान आरम्भ हुँदैछ।

अर्को सत्ताधारी भारतीय जनता पार्टी बीजेपी इन्टरनेटको सामाजिक सञ्जालको कुशल सञ्चालनमा बढी पोख्त ठानिन्छ।

र उक्त पार्टीका समर्थकहरूलाई पार्टीका विरोधी र आलोचकहरू विरुद्ध नराम्रो रूपमा प्रस्तुत हुने गरेको आरोप लाग्ने गर्दछ।

अब सार्वजनिक रूपमा नै फेसबुकले पेजहरू बन्द गरिदिएको घोषणा गरिदिएपछि कङ्ग्रेस पार्टीका लागि यो लाजमर्दो अवस्था बन्न पुगेको छ भने यसबाट बीजेपीलाई नैतिक दृष्टिले बल मिलेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई राजनीतिक विरोधीहरूले घृणाको अभियान चलाएर निशाना बनाउने गरेको प्राय:जसो आरोप लगाउने गर्दथे।

र, अब यो घटनापछि उनलाई आफ्नो दावीलाई बलियो बनाउन सहयोगी अवसर प्राप्त हुन सक्नेछ।