बारा पर्सा हावाहुरी: टोर्नेडो के हो र नेपालमा कसरी उत्पन्न भयो?

  • 7 एप्रिल 2019
बारा पर्सा नेपाल टोर्नेडो तस्वीर कपीराइट Rss

गत हप्ता तराईका दुई जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याउनेगरी आएको शक्तिशाली हावाहुरी 'टोर्नेडो' भएको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक अध्ययनले देखाएको छ।

घटनाबारे प्राप्त विवरण र प्रकृति एवम् भू-उपग्रहबाट खिचिएका तस्बिरको विश्लेषण गरेर यस्तो प्रारम्भिक निष्कर्ष निकालिएको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताएका छन्।

उक्त घटनाबारे जानकारी लिन विभागसहित अन्य विभिन्न निकायका अधिकारीहरू बारा र पर्सामा खटाइएको छ।

आकस्मिक रूपमा विकसित भएको भन्ठानिएको सो घटनामा परेर बारा र पर्सा जिल्लामा ३० जनाको मृत्यु भयो भने कम्तीमा छ सय जना घाइते भए।

झन्डै १९ सय घरमा क्षति पुगेको र हजारौँ जना प्रभावित भएका छन्।

के हो टोर्नेडो?

टोर्नेडो अकस्मात् जमिनमा स्थानीय रूपमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरी हो।

यसलाई अङ्ग्रेजीमा ट्विस्टर पनि भनिन्छ।

Image caption बारा र पर्सामा आएको हावाहुरीको गति १००-१५० किलोमिटर प्रति घण्टा रहेको हुनसक्ने अनुमान सरकारी निकायले गरेको छ

तातो र ओसिलो हावा एवम् सुक्खा चिसो हावाको सम्मिश्रणबाट यस्तो शक्तिशाली हावाहुरी बन्ने वैद्यको भनाइ छ। त्यसो हुँदा मेघगर्जन पनि हुन सक्छ।

यस्तो किसिमको हावाहुरी केही मिनेटदेखि आधा घण्टासम्म चल्न सक्ने र त्यसको लम्बाइ ३.२ किलोमिटर सम्म हुन सक्ने न्याश्नल जिओग्राफिकले प्रकाशन गरेको एउटा रिपोर्टमा उल्लेख गरिएको छ।

टोर्नेडोमा हावाको गति सामान्यतया १५०-२०० किलोमिटर प्रतिघण्टाको रहन्छ भने अधिकतममा ४५० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ।

"टोर्नेडो मौसमसँग सम्बन्धित सबैभन्दा विनाशकारी घटना हुनसक्छ," वैद्यले भने।

सामाजिक सञ्जालमा पनि हावाहुरी र टोर्नेडोबारे चर्चा भएको छ।

वायुको गति कति थियो?

सोमवार दिउँसोसम्म मौसम विज्ञान विभागले हावाहुरीको गति यति यो भन्न सकेको थिएन।

पछि विनाशकारी हावाहुरीको गति ९० किलोमिटर प्रतिघण्टा भएको अनुमान सार्वजनिक भयो।

सो सरकारी निकायले हावाहुरीको गति १०० देखि १५० किलोमिटर प्रतिघण्टा रहेको अनुमान गरेको छ।

बारा र पर्सामा ठूला सवारी साधन, रूख र पक्की घर पनि हावाहुरीले ढालिदिएको प्रसङ्ग उल्लेख गर्दै वैद्यले बीबीसी नेपाली सेवालाई भने, "भ्याक्यूम क्लीनरले जस्तै टोर्नेडोले आफ्नो बाटोमा पर्ने सबै कुरा तानिदिन्छ।"

टोर्नेडोको आफ्नै बाटो हुन्छ र त्यसमा पर्ने कमजोर संरचना बच्ने सम्भावना एकदम न्यून हुन्छ।

"बारा र पर्सामा भएको घटनाले पनि त्यस्तै देखाउँछ। आसपासकै संरचना पूर्णरूपमा ध्वस्त हुँदा केही भने जस्ताको त्यस्तै देखिन्छ," वैद्यले थपे।

स्थानीय वृद्धावृद्धाहरू पनि आफूले त्यति शक्तिशाली हावाहुरी कहिल्यै नदेखेको बताउँछन्।

नेपालमा कसरी आयो टोर्नेडो?

मनसुन अर्थात् वर्षायाम अगाडि चैतदेखि जेठसम्मको समयमा प्रिमनसुन गतिविधि हुन्छ।

यस बेला हावाहुरी आउने तथा चट्याङ र पानी पर्ने हुन्छ।

मौसमविद्‌हरूका अनुसार यसपालि प्रिमनसुन गतिविधि अलि बढी नै देखिएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बारा र पर्सामा विनाशकारी हावाहुरीले पुर्‍याएको क्षति

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार स्थानीय वायुको प्रभाव र भारतमा निम्न चापीय क्षेत्र विकसित हुँदा गत साता बारा र पर्सामा हावाहुरीले शक्तिशाली स्वरूप लिएको हुन सक्छ।

केही दिनअघि उनले चितवनतिर सिर्जना भएको वायु र पूर्वतिर सररेको तथा पर्सा र बारामा पुगेर विध्वंसकारी हावाहुरीमा परिणत भएको बताएका थिए।

हावाहुरीको गतिका आधारमा टोर्नेडोको अनुमानित शक्तिलाई विभिन्न पाँच श्रेणीमा विभाजित गरिएको छ।

श्रेणी गति (किमि/घण्टा)
ईएफ-० १०५-१३७
ईएफ-१ १३८-१७७
ईएफ-२ १७८-२१७
ईएफ-३ २१८-२६६
ईएफ-४ २६७-३२२
ईएफ-५ >३२२

सन् १९७१ मा प्राध्यापक फुजिटोले यसरी टोर्नाडोको वर्गीकरण गरेका हुन्। यसलाई फुजिटो स्केल भनिन्छ।

पूर्वानुमान सम्भव छ?

अमेरिकी वैज्ञानिक संस्था नासाका अनुसार टोर्नेडो सानो क्षेत्रमा मात्र सीमित हुने हुँदा मौसम पूर्वानुमानका लागि राखिएको रेडारले समेत त्यसबारे पूर्वसूचना दिन गाह्रो हुन्छ।

नेपालमा हालसम्म कुनै पनि स्थानमा रेडार नरहेको वैद्य बताउँछन्।

तर पूर्वमा उदयपुर र पश्चिममा सुर्खेत जिल्लामा रेडार राख्ने काम भइरहेको जानकारी उनले दिए।

वैद्य भन्छन्, "नेपाल प्राकृतिक विपत्तिका हिसाबले निकै कमजोर भएकाले त्यस्तो अवस्थामा मानिसहरूलाई सुरक्षित राख्न सकिने खाले संरचना ठाउँठाउँमा बनाउनुपर्ने हुन्छ।"

अमेरिकाजस्तो विकसित देशमा पनि यस किसिमको हावाहुरी आउनुभन्दा केही समयअघि मात्र पूर्वानुमान हुने गरेको भन्दै उनी नेपालमा त्यसो गर्न तत्काल सम्भव नभएको बताउँछन्।

अझ रेडारले दिएको सूचना अध्ययन गरेर पूर्वानुमान गर्नुपर्ने हुँदा साधन र स्रोतको अभावमा सही पूर्वानुमान गर्नु असम्भवप्राय: रहेको उनको भनाइ छ।

त्यसैले टोर्नेडो र अन्य विनाशकारी प्राकृतिक विपत्तिबाट जोगिने एउटै उपाय भनेको बलियो पूर्वाधार निर्माण भएको उनी बताउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
राहत: कसैलाई पटकपटक, कसैको खाली हात

सम्बन्धित सामग्री