सुन्दरी प्रतियोगिता: नेपालमा किन भइरहन्छ विवाद

  • गनी अन्सारी
  • बीबीसी नेपाली सेवा
सुन्दरी

तस्बिर स्रोत, The Hidden Treasure

तस्बिरको क्याप्शन,

फाइल तस्बिर

मिस नेपाल २०१९ का लागि लिइएको अडिशनका क्रममा एक किशोरीप्रति निर्णायकमण्डलकी एक सदस्यले गरेको व्यवहारको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ।

ट्विटर, फेसबुक र इन्स्टाग्राममा 'भाइरल' भएको एउटा भिडिओमा निर्णायकमण्डलकी सदस्यले रुखो शैलीमा ती किशोरीलाई शृङ्गार किन नगरेको, चस्माको सट्टा कन्ट्याक्ट लेन्सको प्रयोग किन नगरेको भनेर प्रश्न गरेको देखिन्छ।

यो घटनाले नेपालमा हुने गरेका विभिन्न सुन्दरी प्रतियोगिताको पक्ष र विपक्षमा पुनः बहस निम्त्याइदिएको छ।

सुन्दरी प्रतियोगिताको औचित्य देख्ने र नदेख्नेहरूबीच सामाजिक सञ्जालमा पनि वादविवाद भइरहेको छ।

र, यसले कैयौँ प्रश्नलाई पुनः एक पटक सतहमा ल्याइदिएको छ - नेपालमा सुन्दरी प्रतियोगिताबारे किन विवाद हुन्छ, के यहाँ सुन्दरी प्रतियोगिताको औचित्य छैन? आदि, इत्यादि।

फरकफरक बुझाइ

सामाजिक सञ्जालमा अडिशनसम्बन्धी भिडिओ व्यापक भएपछि त्यसले सुन्दरी प्रतियोगिताको 'कुरूप पक्षलाई उजागर गरिएको' भन्दै कतिपयले टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा कतिपय महिला र पुरुषले त मेकअप नगरिएको तस्बिर राख्दै "मेकअपबिाना पनि सुन्दर" भन्दै लेखेका छन्।

कतिपयले मेकअप गर्नु/नगर्नु र चस्मा लगाउनु/नलाउनु व्यक्तिको स्वतन्त्रताको विषय भएको भनेका छन्।

घटनापछि ट्विटरमा त #nomakeupandstillbeautiful ट्रेन्डिङमै आयो।

ट्विटरमा सुष्मिता महर्जन लेख्छिन्, "मैले जानेको मेकअप भनेको मस्करा र सानो टिका लगाउने मात्र हो। मेकअप हुँदा र नहुँदा पनि ममा आत्मविश्वास हुन्छ। के यो गलत हो?"

गत वर्षकी मिस नेपाल शृङ्खला खतिवडाले पनि तस्बिरसहित त्यस्तै आशयको ट्वीट गरिन्।

अर्का ट्विटर प्रयोगकर्ता सन्तोष न्यौपानेले आफ्नी पत्नी र छोरीको तस्बिरसहित ट्वीट गरे।

उनले लेखे, "म मेरी श्रीमती र छोरीलाई विनामेकअप नै धेरै माया गर्छु। प्रकृतिले सुन्दरता ल्याउँछ। मिस नेपाल प्रतियोगिताको वास्ता नगर्नूस् उनीहरूले आफ्नै काम गर्छन्।"

कोपिला अधिकारीले यस्तो ट्वीट गरिन्, "म २१ औँ शताब्दीकी केटी हुँ र मेकअप मेरो वशको कुरा होइन। यो कुरा सबैले बुझून् र यो अनादर होइन।"

सन् १९९४ देखि नेपालमा २३ पटक मिस नेपाल प्रतियोगिताको आयोजना भइसकेको छ।

प्रतियोगिताको औचित्य

विगतमा तत्कालीन माओवादीको महिला सङ्गठनले 'सांस्कृतिक अतिक्रमण' र 'महिलालाई उपभोग्य वस्तु बनाउन खोजिएको' भन्दै प्रतियोगिताको खुलेरै विरोध गर्दै आएको थियो।

हुन त पार्टी सत्तामा आएपछि उनीहरूले त्यस्तो विरोध गर्न छाडे।

नेपालमा सुन्दरी प्रतियोगिताबारे हुने विवाद चर्चाका लागि गर्ने गरिएको पनि कतिपयले तर्क गर्छन्।

तर नेपालमा सुन्दरी प्रतियोगिताप्रति एकै खालको बुझाइ नहुनु पनि त्यस्ता प्रतियोगिता विवादमा परिरहनुको एउटा कारण भएको कतिपयको धारणा छ।

राजनीतिक विश्लेषक आहुति सुन्दरी प्रतियोगिताको औचित्यमाथि नै प्रश्न गर्छन्।

तस्बिर स्रोत, Facebook/Aahuti

तस्बिरको क्याप्शन,

राजनीतिक विश्लेषक आहुति

"कोही सुन्दर छ भन्ने कुरा कसले किटान गर्ने, सुन्दरताको त मापन हुनै सक्दैन," उनी भन्छन्।

"फरकफरक संस्कृतिका मान्छेले, फरकफरक मानिसलाई, फरकफरक अवस्थामा सुन्दर वा कुरूप देख्छन्। त्यसकारण सुन्दरताबारे बनिबनाउ नियम हुनै सक्दैन।"

सुन्दरताको मापक के?

समाजमा एकथरी यस्ता पनि छन् जसलाई नेपालमा सुन्दरी प्रतियोगिताको आयोजना गर्ने र त्यसमा सहभागी हुनेहरूसँग कुनै गुनासो छैन।

गुनासो छ त केवल त्यस्ता प्रतियोगिताका आयोजकले बनाएका सुन्दरता र बौद्धिकताका मानकसँग। त्यस्तै धारणा राख्नेमा पर्छिन् लेखक तथा अधिकारकर्मी सावित्री गौतम।

"त्यो गर्नेले गरून्, उनीहरू स्वतन्त्र छन् तर त्यसलाई महिला सशक्तीकरणको नाम दिएर, बौद्धिक विकास र सुन्दरताभन्दा धेरै परको कुरा भनेर झूटो दाबी चाहिँ नगरियोस्।"

तस्बिर स्रोत, Facebook/Sabitri

तस्बिरको क्याप्शन,

अधिकारकर्मी सावित्री गौतम

नेपालमा सुन्दरी प्रतियोगिताबारे हुने विरोध र विवादलाई मानसिकतासँग जोडेर हेर्ने अर्काथरी छन्।

समाजशास्त्री निर्मला ढकालको त्यस्तै तर्क छ।

"हरेक प्रतियोगिताका केही निश्चित मापदण्ड हुन्छन् जसलाई प्रतियोगीले मान्नुपर्ने हुन्छ। नेपालमा चर्चामा आउन पनि कतिपय कुराको विरोध गर्ने प्रवृत्ति छ।"

नेपालमा सुन्दरी प्रतियोगिताको औचित्यलाई लिएर समाजशास्त्रीबीच पनि मतैक्य छैन।

अर्का समाजशास्त्री डा. चैतन्य मिश्र भन्छन्, "म आफैँ औचित्य देख्दिनँ, तर नेपाल अथवा विश्वको अर्थतन्त्र जसरी चलेको छ त्यहाँ सुन्दरी प्रतियोगिताको उपादेयता भएरै ती भइरहेका होलान्।"

कतिपयको तर्क छ - हरेक कुराको सकारात्मक तथा नकारात्मक पाटो हुने गर्छ र सुन्दरी प्रतियोगिता अपवाद हुन सक्दैन।

त्यस्ता प्रतियोगिताले महिलाको व्यक्तित्व तथा क्षमताको विकासमा पनि मद्दत पुर्‍याउने गरेको पक्षधरहरूको तर्क हुने गरेको छ।

विश्वव्यापीकरणको प्रभाव

समाजशास्त्री ढकाल थप्छिन्, "जित्ने तीन जना देशविदेश जान पाउँछन्, त्यहाँका रहनसहन बुझ्न पाउँछन्। त्यसरी जानुअघि र गएर आएपछि तुलना गर्दा तपाईँले धेरै फरक पाउनुहुन्छ।"

"संसारभरि चलिरहेको कुरालाई हामी रोक्छौँ अथवा हाम्रो संस्कृतिको विरुद्ध छ भनेर अघि बढ्छु भन्नु एकदम मुर्ख्याइँजस्तो मलाई लाग्छ।"

समाजशास्त्री ढकालले प्रविधिको विकास र विश्वव्यापीकरणको प्रभावलाई चाहेर पनि रोक्न नसकिनेतर्फ सङ्केत गरेको देखिन्छ।

तस्बिर स्रोत, Twitter/Nirmala

तस्बिरको क्याप्शन,

समाजशास्त्री निर्मला ढकाल

तर राजनीतिक विश्लेषक आहुतिको विचारमा विश्वव्यापीकरणले सिर्जना गरेका प्रत्येक कुरालाई उपयुक्त नै मान्नुपर्छ भन्ने छैन।

"विश्वव्यापी के बन्छ/बन्दैन मुख्य कुरा होइन। के कुराले मानवको अस्तित्वलाई अपमान गर्छ/गर्दैन, समाज वा व्यक्तिलाई बिक्रीको वस्तु बनाउँछ/बनाउँदैन भन्ने कुरा मुख्य हो।"

सुन्दरी प्रतियोगितामा सहभागी हुनका लागि उमेरदेखि शरीरको उचाइसम्मका कुरा निर्धारण गरिएको हुन्छ।

नेपाल सुन्दरी वा विश्व सुन्दरीको उपाधि उचालेपछि विजेताले निश्चित समयसम्म बिहे गर्न नपाउने र आफूले सम्झौता गरेको पक्षको अनुमतिविना सार्वजनिक टीकाटिप्पणी गर्न नपाउनेजस्ता कैयौँ सर्तको कडाइका साथ पालना गर्नुपर्ने हुन्छ।

यो पनि पढ्नुहोस्

खुल्ला समाज र विश्वव्यापीकरणका कैयौँ पक्षलाई अझै स्वीकार्न नसकेको नेपाली समाजका कतिपयले सुन्दरी प्रतियोगितालाई पनि पचाउन नसकेको तर्क गर्नेहरू पनि छन्।

तर त्यस्तो तर्कसँग अधिकारकर्मी गौतम विमति राख्छिन्।

"पचाउनै नसकेको भए कुनै जमानामा सुन्दरी प्रतियोगिताको विरोधमा प्रदर्शन गर्नेहरू आज आएर त्यस्तो प्रतियोगिताले बौद्धिकताको मापन गर्छ भनेर भोट माग्ने थिएनन्।"

"महिलालाई वस्तुकरण"

गत वर्षकी मिस नेपाल शृङ्खला खतिवडाको सहभागिताबारे कतिपयले प्रश्न गरेका थिए। कारण थियो उनी नेकपाका सांसद विरोध खतिवडाकी छोरी हुनु।

त्यतिबेला उनले त्यसलाई बेकारको बहसको सङ्ज्ञा दिँदै "बौद्धिक क्षमताको प्रतिस्पर्धामा भाग लिए व्यक्तित्व विकास हुन्छ भन्ने लागेर छोरीलाई सहभागी हुन भनेको" भन्ने अभिव्यक्ति दिएका थिए।

तर कम्मर, घाँटी, कपाल लगायत शरीरका अङ्गलाई मूल्याङ्कनको आधार मान्ने प्रतियोगिता बौद्धिकताको मापक हुन नसक्ने अधिकारकर्मी गौतमको तर्क छ।

विरोध गर्नेहरू सुन्दरी प्रतियोगितालाई "महिलालाई वस्तुकरण गर्ने अस्त्र" का रूपमा पनि अर्थ्याउने गर्छन्।

तस्बिर स्रोत, The hidden Treasure

तस्बिरको क्याप्शन,

फाइल तस्बिर

त्यही भएर सुन्दर देखिने महिलाहरूलाई पुँजीवादी समाजमा विज्ञापनका लागि एउटा साधनका रूपमा प्रयोग गरिने गरेको उनीहरूको तर्क छ।

अधिकारकर्मी गौतम चाहिँ त्यसलाई मोडलिङसँग जोडेर मात्र हेर्न नसकिने बताउँछिन्।

"पहिलादेखि नै महिलाहरू अर्काका लागि राम्रो बनिदिनुपर्ने चलन छ। बिहेका लागि केटी हेर्न जाँदा केटी अरूका लागि सजिनुपर्ने, टाउको निहुराएर कुरा गर्नुपर्ने, हाँस्दा कतिसम्म दाँत देखाउनुपर्ने भन्ने कुरा हुन्छन्।"

"यसरी हेर्दा महिलालाई वस्तुकरण गर्ने काम मोडलिङमा मात्रै नभई घरघरमा र समाजका विभिन्न कुरामा छ।"

तर अधिकारकर्मी गौतमले त्यसरी तर्क गरिरहँदा अर्कोथरीको के तर्क छ भने "वस्तुकरण"का लागि आफू तयार हुने वा नहुने कुरा धेरै हदसम्म त्यस्ता प्रतियोगिता अथवा पेसामा संलग्न हुने महिलामा पनि निर्भर गर्छ।