किम जङ-अन: अमेरिका 'सही मनोवृत्ति' लिएर आए वार्ताका लागि उत्तर कोरिया तयार

  • 14 एप्रिल 2019
किम तस्वीर कपीराइट KCNA via Reuters

उत्तर कोरियाका नेता किम जङ-अनका अनुसार 'सही नियत' लिएर आए उनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग तेस्रो शिखरवार्तामा भाग लिन तयार छन्।

किमको भनाइ उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले शनिवार सार्वजनिक गरेको हो।

किमले 'दुवै पक्षले स्वीकार गर्न सक्ने' खालको सहमतिको खोजीमा लाग्न ट्रम्पलाई सुझाव समेत दिएका छन्।

प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीट गर्दै किमको प्रशंसा र उनको धारणाको स्वागत गरेका छन्।

दुई नेताबीच पहिलो भेट सन् २०१८ मा सिङ्गापुरमा भएको थियो। तर त्यसपछि हनोईमा भएको अर्को वार्ता भने सफल हुन सकेन।

उत्तर कोरियाले परमाणुनिरस्त्रीकरण गरेबापत आफ्ना देशमाथि लागेका सबै प्रकारका आर्थिक प्रतिबन्ध हटाइनुपर्ने माग राखेपछि आफू उक्त बैठकबाट पछि हट्नु परेको ट्रम्पले त्यति खेर भनेका थिए।

तर अमेरिकाको उक्त भनाइलाई उत्तर कोरियाले खण्डन गरेको थियो।

किमले केही समयअघि दिएको एउटा अन्तर्वार्तामा अमेरिकाले साँच्चिकै सम्बन्ध सुधार्न चाहेको हो कि होइन भन्ने विषयमा हनोई शिखरवार्ताले 'ठूलो सन्देह' उत्पन्न गराएको बताएका थिए।

"सही मनोवृत्ति र दुवै पक्षले स्वीकार्न सक्ने खालका कुरामा सहमत हुनेगरी अघि बढ्ने हो भने हामी अर्को एक पटक प्रयास गर्ने पक्षमा छौँ," किमले भने।

अमेरिकाले अत्यधिक दबाव दिएरै जित्न सकिन्छ भन्ने गलत विश्वास लिएको बताउँदै उनले त्यस्तो प्रकारको "शत्रुतापूर्ण" रणनीति छोड्न समेत किमले आह्वान गरेका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
डोनल्ड ट्रम्प र किम जङ-अन हनोईमा आयोजित दोस्रो शिखरवार्ताका बेला

तर किमले ट्रम्पसँगको व्यक्तिगत सम्बन्ध भने "अत्यन्त राम्रो" रहेको भनेका थिए।

उत्तर कोरियाली नेता किमले अमेरिकालाई शिखरवार्ताका सम्बन्धमा 'साहसी निर्णय' गर्न यो वर्षको अन्त्यसम्म समय दिने बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले किमका त्यस्ता भनाईको प्रशंसा गर्दै आफ्नो नेतृत्वमा 'असाधारण विकास' को सम्भावना देखेको भन्दै ट्वीट गरेका छन्।

गत महिना उत्तर कोरियाकी सहायक विदेशमन्त्रीले अमेरिकाले हनोईमा "सुवर्ण अवसर" खेर फालेको भन्दै किमले अमेरिकासँग निरस्त्रीकरणको वार्ता भङ्ग गर्न सक्ने चेतावनी दिएकी थिइन्।

तस्वीर कपीराइट EPA