सुडान सङ्कट: पूर्ववर्ती सरकारका सदस्यहरू गिरफ्तार

  • 15 एप्रिल 2019
सुडान तस्वीर कपीराइट EPA

सुडानको सङ्क्रमणकालीन सैनिक परिषद्‌ले पूर्ववर्ती सरकारका सदस्यहरूलाई गिरफ्तार गरेको छ।

उसले कैयौँ हप्तादेखि प्रदर्शन गर्दै आएका प्रदर्शनकारीलाई तितरबितर नपार्ने प्रतिबद्धता जनाएको छ।

परिषद्‌का एक प्रवक्ताले विपक्षीहरूलाई नयाँ प्रधानमन्त्री छान्न आग्रह गर्दै त्यसलाई कार्यान्वयन गर्ने जनाएका छन्।

महिनौँदेखि चलेको प्रदर्शनबीच गत बिहीबार राष्ट्रपति ओमार अल-बशीरलाई पदच्युत गरी पक्राउ गरिएको थियो।

गैरसैनिक सत्ताका लागि तत्काल कदम नचालिएसम्म सडकमा प्रदर्शन जारी राख्ने प्रदर्शनकारीले अडान लिएका छन्।

सैनिक परिषद्‌ले के भन्यो?

आइतवार एउटा पत्रकार सम्मेलनमा परिषद्‌का प्रवक्ता मेजर जेनरले शम्स अद्दिन शान्तोले गैरसैनिक सरकार र विपक्षी दलहरूले गर्ने जुनसुकै सहमति कार्यान्वयन गर्न परिषद्‌ 'तयार रहेको' बताए।

विपक्षी र प्रदर्शनकारी समूहतर्फ इङ्गित गर्दै उनले भने, "हामीले प्रधानमन्त्री नियुक्त गर्नेछैनौँ। उनीहरूले नै चयन गर्नेछन्।"

सेनाले बल प्रयोग गरी प्रदर्शनकारीहरूलाई धर्नाबाट नहटाउने पनि उनले बताए।

तर मानिसहरूको सामान्य दैनिक सुरु गर्न दिन र सडक अवरोधहरू हटाउन प्रदर्शनकारीहरूलाई उनले आग्रह गरे।

तस्वीर कपीराइट EPA

सैनिक परिषद्‌ले कैयौँ निर्णय गरिएको पनि जनाएको छः

  • सेना र प्रहरीका नयाँ प्रमुख नियुक्त
  • शक्तिशाली गुप्तचर निकायका नयाँ प्रमुख नियुक्त
  • भ्रष्टाचारविरुद्ध लड्न र पूर्वसत्तारूढ पार्टीबारे अनुसन्धान गर्न समितिहरू गठन
  • सञ्चारमाध्यममाथि लगाइएका प्रतिबन्ध फुकुवा
  • प्रदर्शनकारीलाई सघाएको भन्दै पक्राउ गरिएका प्रहरी तथा सुरक्षा अधिकारीहरू रिहा
  • कूटनीतिक निकायको समीक्षा, अमेरिका र स्विट्जरल्यान्डका लागि राजदूत पदमुक्त

के हुँदैछ सुडानमा?

महँगीको विरोधमा गत डिसेम्बरमा प्रदर्शन सुरु भएको थियो, तर बिस्तारै राष्ट्रपति बशीरको राजीनामा माग्नेगरी अघि बढ्न थाल्यो।

करिब ३० वर्षदेखि सत्तामा रहिआएका बशीरलाई गत बिहीवार सेनाले पदच्युत गरी गिरफ्तार गर्‍यो।

'कू' को नेतृत्व गरेका रक्षामन्त्री अवाद इब्न औफले सेनाले दुई वर्षको सङ्क्रमणकालमा सेनाले नेतृत्व गर्ने घोषणा गरे र तीन महिने सङ्कटकाल लगाए।

तर अविलम्ब गैरसैनिक सरकारको माग गर्दै प्रदर्शनकारीले आन्दोलन जारी राख्ने बताए। भोलिपल्ट इब्न औफ र सेना प्रमुख जेनरल सलाह गोशले पद छाडे।

लेफ्टिनेन्ट जेनरल अब्देल फताह अब्देलरहमान बुर्हानले सङ्क्रमणकालीन सैनिक परिषद्‌को प्रमुख घोषणा गरियो।

तस्वीर कपीराइट AFP/Getty

शनिवार टेलिभिजनमार्फत् प्रसारण गरिएको एउटा सम्बोधनमा उनले पूर्ववर्ती सत्ताको अन्त्य गर्ने बताउँदै मानव अधिकारको सम्मान गर्ने, निषेधाज्ञा हटाउने, राजनीतिक बन्दी रिहा गर्ने, सबै प्रान्तीय सरकार भङ्ग गर्ने र प्रदर्शनकारीलाई मारेका तथा भ्रष्टाचार गरेकामाथि अनुसन्धान गरिने बताए।

तर प्रदर्शनको नेतृत्व गरिरहेको सुडान प्रोफेसनल्स एसोसिएशनले परिषद्‌को कदमले 'जनताको कुनै पनि मागलाई सम्बोधन नगरेको' भन्दै प्रदर्शन जारी राख्न भनेको छ।

उसले सुरक्षा अङ्गको पुनर्संरचना गर्नुपर्ने, 'भ्रष्ट' नेताहरूलाई पक्राउ गर्नुपर्ने र पूर्वराष्ट्रपति बशीरको पालामा सञ्चालित मिलिसियाहरूलाई भङ्ग गर्नुपर्ने लगायतको माग गर्दै आएको छ।

पूर्वनेता कहाँ छन् भन्नेबारे थाहा छैन, तर 'कू' गरेका सैनिक नेताहरूले उनी सुरक्षित स्थानमा रहेको बताएका छन्।

डार्फर द्वन्द्वका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले बशीरलाई दोषी पनि ठहर्‍याएको छ।

सैनिक परिषद्‍ले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोगको सामना गर्नका निम्ति बशीरलाई सुपुर्दगी नगर्ने पनि बताइसकेको छ।

सम्बन्धित सामग्री