भारत निर्वाचन: चुनाव नजिकिएसँगै सीमावर्ती क्षेत्रमा नेपालीको सक्रियता

  • 15 एप्रिल 2019
भारत निर्वाचन तस्वीर कपीराइट Getty Images

भारतीय लोकसभा निर्वाचन हुने मिति नेपालसँगको सीमाक्षेत्रमा नजिकिएसँगै ती क्षेत्रमा नेपालीहरूको सक्रियता व्यापक रुपमा देखिन थालेको छ।

सीमावर्ती क्षेत्रहरूमा रहेका नेपालीहरू पनि चुनावको प्रचारप्रसारमा सक्रिय देखिन थालेका हुन्।

सीमावर्ती क्षेत्रमा नेपालीहरूबाट चुनाव प्रभावित हुने गरेको बताइन्छ।

प्रचारप्रसारका बेला हुने प्रभावलाई निरूत्साहित गर्नका लागि यसपटक भारतीय चुनावको प्रचारप्रसार गर्न सीमावर्ती क्षेत्रमा रहेका नेपाली एफएम स्टेशनहरूमाथि रोक लगाइएको छ।

यस्ता छन् भारतीय दलले नेपालीभाषीलाई गरेका चुनावी वाचा

भारतीय निर्वाचनबारे जान्नैपर्ने पाँच कुरा

'स्वभाविक प्रभाव'

बिहार राज्य मधुवनी जिल्लाको मधवापुर क्षेत्रमा चुनाव प्रचारप्रसार सुरु भइसकेको छ।

उक्त क्षेत्रमा अङ्ग्रेजी मे महिनाको ६ तारिखमा हुने चुनावका लागि नेताहरू घरदैलो गर्न थालेका छन्।

त्यस्ता घरदैलोमा नेपालीहरूको पनि उल्लेख्य सहभागिता देखिन्छ।

नेपालको महोत्तरी जिल्ला मटिहानी घर भएका सञ्जिव साह मतदानसम्म आफूहरू सक्रिय रहने बताउँछन्।

उनी भन्छन्, "बिहारमा तराइबासीको यति धेरै सम्बन्ध छ। प्रचारप्रसारमा पनि हामी जान्छौं। त्यसैले स्वभाविक रुपमै प्रचारप्रसार भइहाल्छ।"

भारतीय चुनाव प्रचारमा नेपालीहरू अत्यन्त प्रभावकारी भइरहेका छन्।

दुई देशबीच'रोटीबेटी' को सम्बन्धले चुनावमा असर हुनु स्वभाविक भएको बताइन्छ।

नेपालीको भूमिकामहत्त्वपूर्ण

महोत्तरी जिल्लाको सनुखरा माइती भएकी अञ्जु देवी १५ वर्षदेखि मधवापुरकी मेयर छिन्।

भारतको सबै तहको चुनावमा नेपालीहरूको भूमिका महत्त्वपूर्ण भएको उनी बताउँछिन्।

उनले भनिन्, "चुनाव प्रचार र घरदैलोमा नेपालीहरूको भूमिका व्यापक हुन्छ। उनीहरूको प्रभावमा परेर नै चुनावमा सक्रियता बढ्ने गरेको छ।"

नेपाल र भारतबीच दुई देशको सीमा रहे पनि अन्य व्यवहारहरूमा कुनै फरक नभएको मधवापुरका वैद्यनाथ मिश्र बताउँछन्।

"दुवै देशका नागरिकहरू एक जस्तै छन्। पारिवारिक, व्यवसायिक, सामाजिक सम्बन्धले दुवै देशका मानिसहरूलाई निकट बनाएको छ। हामीहरू एकआपसमा सामञ्जस्यमा रहेर लोक सभा चुनावमा जे सहयोग हुनुपर्छ त्यो सहयोग भारतमा गर्छौं," उनले भने।

मटिहानीका सञ्चारकर्मी कमलेश मण्डलका अनुसार सीमावर्ती क्षेत्रका थुप्रै नेपालीहरूको घर जग्गा भारतमा छ र उनीहरू त्यहाँको मतदाता पनि छन्।

"भारतीय निर्वाचनमा नेपालीहरूको अधिकतम नै सक्रियता हुन्छ। सीमावर्ती क्षेत्रमा अधिकांश मानिसहरू भारततर्फका मतदाता पनि छन्।"

तर विगतका चुनावहरू जस्तो यसपटक नेपाली एफएमहरूलाई प्रचारमा रोक लगाइएको छ।

प्रेस काउन्सिल नेपालका सदस्य समेत रहेका रेडियो सञ्चालक नवलकिशोर शरणले नेपाली सुरक्षा अधिकारीहरूले एफएम रेडियोहरूमा पत्र पठाएर भारतीय चुनावको प्रचार नगर्न आग्रह गरेको बताए।

"भारतमा चुनाव हुँदा पनि नेपालमा सीमामा रहेका एमएम रेडियोहरूमा चुनावी प्रचारप्रसार हुन्थ्यो। तर यसपटक दुवै तर्फबाट रोक लगाइएको छ।"

नेपाली सञ्चार माध्यमहरूलाई चुनाव प्रचार नगर्न सीमा सुरक्षा बैठकमा दुवै देशका अधिकारीहरूबीच सहमति भएको हो।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार