झापाको हल्दीबारीका महिला 'विकासमा पहिला'

  • 16 एप्रिल 2019
महिला

केही दिनअघि झापाको हल्दीबारी गाउँपालिका कार्यालयले महिलालाई जिम्मा दिएको विकास निर्माणको काम हेर्न जाँदा पारुखोपी टोल विकास संस्थाका पदाधिकारीलगायत उक्त गाउँका महिलाले फरुवा लिएर सडक खनिरहेका थिए।

कोही ढुङ्गाको गारो लगाउँदै थिए भने कोही स्थानीयवासीले गर्ने भनेको लगानी उठाउन गाउँ पसेका थिए।

गाउँका महिलालाई अझै पनि विभिन्न अवसरबाट वञ्चित गराइँदैछ भन्ने गुनासोबीच झापाको हल्दीबारी गाउँपालिकाले भने विकास निर्माणका सम्पूर्ण काम महिलाको नेतृत्वलाई जिम्मा दिएको छ।

यसअघि नगरेका काम गरिरहँदा कहिलेकाहीँ निकै समस्यामा पर्ने गरेको उनीहरू सुनाउँछन्।

नेतृत्वदायी भूमिका

हल्दीबारी गाउँपालिकाले गठन गरेको पारुखोपी टोल विकास संस्थाका प्रतिनिधिहरू गाउँपालिकामा गएर विकास निर्माणका कामबारे छलफल गर्न सक्ने भएका छन्।

जुन यसअघि उनीहरूका लागि असम्भवजस्तै थियो। उनीहरू घरमै सीमित थिए।

विभिन्न अप्ठ्यारो परिस्थितिबीच उनीहरू गाउँपालिका कार्यालयले जिम्मा दिएको विकास निर्माणका काममा लागि परेका छन्।

गाउँपालिका कार्यालयमा भेटिएकी उक्त संस्थाकी सदस्य चन्द्रा बनले भनिन्, "हामीले सडक खन्ने काम पूरा गर्‍यौँ। अब गाउँपालिका कार्यालयले ग्राभेल गर्नुपर्नेछ। त्यसका लागि हामी यहाँ आएका हौँ।"

गाउँपालिका कार्यालयले टोल विकास संस्था निर्देशिका २०७५ पारित गरेर साबिक गाउँ विकास समितिका वडाहरूलाई टोल बनाएर विकास निर्माण, जनचेतना अभिवृद्धिजस्ता कामको नेतृत्व महिलालाई दिएको छ।

गाउँपालिकाप्रति आभार

ती महिलाहरूका लागि गाउँपालिका कार्यालयका पदाधिकारी धन्यवादका पात्र बनेका छन्।

पारुखोपी टोल विकास संस्थाकी अर्की सदस्य टङ्ककुमारी ढुङ्गानाले भनिन्, "हामी चुल्होचौकामा सीमित रहेका महिलालाई यत्रो स्थान दिनुभएको छ। धन्यवाद दिने त शब्द नै छैन।"

'हल्दीबारीका महिला विकासमा पहिला' नारा दिएर महिलालाई अगाडि बढाएकोमा आदिवासी समुदायका महिलाले पनि सामाजिक काममा अग्रसर हुने मौका मिलेको अनुभव सुनाउँछिन् बाहुनढोका टोल विकास संस्थाकी अध्यक्ष महिमा राजवंशी।

उनले गाउँपालिका कार्यालयप्रति आभार प्रकट गरिन्।

राजवंशी भन्छिन्, "म एउटी आदिवासी समुदायकी महिला। मैले बाहिरका काम केही पनि जानेकी थिइनँ। जब टोल विकास संस्थाको नेतृत्व सम्हालेँ, सबै सिक्दै गएँ। महिला सशक्तीकरणको यो भन्दा ठूलो उदाहरण अरू के हुन्छ र!"

पारदर्शिता बढ्यो

विगतमा उपभोक्ता समितिमार्फत् गराइने काम महिलाको नेतृत्वमा रहेका टोल विकास संस्थालाई दिएपछि काममा पारदर्शिता बढेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे बताउँछन्।

"महिलाहरूले काम गर्दा काम गरेको मात्रै बिल भर्पाइ लिएर आउनुहुन्छ। बिल मिलाएर ल्याउने भन्ने हुँदैन उहाँहरूको। काममा पारदर्शिता बढेको छ।"

गाउँपालिकाका पदाधिकारी भन्छन्, महिलाका सबै कामको मूल्याङ्कन गरिसक्ने बेला त भएको छैन, तर अहिलेसम्मको प्रगति हेर्दा सन्तोषजनक छ।

सम्बन्धित समाचार