सगरमाथा आरोहण: २२ पटक सर्वोच्च शिखर पुगेका कामिरिता शेर्पा भन्छन्, 'चुचुरो पुग्ने कुरा कहिल्यै आफ्नो हातमा हुन्न'

  • प्रदीप बस्याल
  • बीबीसी नेपाली सेवा
कामिरिता शेर्पा

तस्बिर स्रोत, Facebook/Kami Rita Sherpa

तस्बिरको क्याप्शन,

यो वर्ष कामिरिताले राष्ट्रपति विद्या भण्डारीबाट सुप्रबल जनसेवाश्री विभूषण पाए। गत वर्ष उनले सर्वाधिक २२ पटक सगरमाथा आरोहण गरेको गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र पाएका थिए

सगरमाथाको चुचुरोमा कामिरिता शेर्पाको जति धेरै पाइला अहिलेसम्म कसैको परेको छैन।

गत वर्ष आफैँले बनाएको सर्वाधिक २२ पटक शिखर पुग्ने कीर्तिमान भङ्ग गर्न उनी यसपालि पुन: सर्वोच्च शिखरतर्फ लाग्दैछन्।

काठमाण्डूको बौद्धमा बीबीसी नेपालीसँग कुरा गर्दै यी ४९ वर्षीय पर्वतारोहीले भने, "म यत्तिमै हिमाल चढ्न रोकिन्न पनि। आउँदा केही वर्ष चढिरहन्छु।"

धेरैले कामिरितालाई सोधिरहने प्रश्न हो- यतिधेरै पटक सगरमाथा चढ्न कसरी सकिन्छ?

बीबीसी नेपालीले पनि उनलाई त्यही प्रश्न सोध्यो। तर उनले त्यसको कुनै सीधा उत्तर भने दिएनन्।

उनले कारण उधिन्न थाले। निजी बाध्यता र बाध्यताले बनाइदिएको पेसा, हिमालप्रतिको लगाव र सम्मान...।

उनले सगरमाथा आफ्नो रहर नभएर बाध्यता र जीविकोपार्जनको माध्यम भएको स्वीकारे।

सुरुवात

सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९९२ देखि नै हिमाल चढ्न थालेका थिए।

तस्बिर स्रोत, Getty Images

पहिला दुई वर्ष भने विदेशी आरोहीलाई असहज नहोस् भनेर उनलाई अग्रजहरूले चुचुरोमा जान दिएनन्।

ती दुई वर्ष उनी आठ हजार आसपासमा रहेको चौथो शिविरसम्म मात्र पुगे।

सन् १९९४ मा पहिलो पटक चुचुरोमा पुग्दाको उनको अनुभव बेग्लै छ।

"माथि पुग्दा मलाई ठूलै केही गरेजस्तो लागेन। तर त्यति बेला काम पाउनका लागि कम्तीमा एक पटक सगरमाथा चढेको हुनुपर्थ्यो। मलाई खुसी चाहिँ अब सजिलै काम पाइएला कि भनेर भयो।"

त्यति बेला सगरमाथा चढ्न खोज्न आरोहीहरू अहिलेजस्तो धेरै हुँदैनथे।

कामिरिताका भनाइमा अहिलेजस्तो धेरै शेर्पाहरूलाई लगिँदैनथ्यो। त्यसैले काम पाउनु निकै हम्मेहम्मे थियो।

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन,

कामिरिताको थामे गाउँमै एक्काइस पटक सगरमाथा चढेका आप्पा शेर्पा हुन् र १० पटकसम्म बिनाअक्सिजन सर्वोच्च शिखर पुगेका आङरिता शेर्पा समेत जन्मेका हुन्

"तीन महिना अघिदेखि विभिन्न आरोहण चलाउने कम्पनीहरू धाउँदै काम खोज्न जान्थ्यौँ। कोसेलीका थाक टक्र्याउँदै कम्पनीका डाइरेक्टरहरूसँग गुहार र बिन्ती गर्दै काम खोज्थ्यौँ।"

उनले काम सुरु गर्दाताका हिमाल चढ्दा लगाइने र अन्य पोसाकका लागि ५० हजार रुपैयाँ र दैनिक भत्ता पाँच सय रुपैयाँ पाउँदा रहेछन् शेर्पाहरूले।

"त्यो बेलाको हेरेर त अहिले निकै सुख छ। त्यति खेर नेपालमा हतपत राम्रो ब्रान्डको लुगा किन्न पाइँदैनथ्यो।"

"त्यतिखेर जुत्ताहरू निकै भारी हुन्थे। फिता बाँध्न नै एक घण्टा लाग्थ्यो। अहिले भने त्यस्तो छैन। उपकरणहरू पनि छरिता भए।"

सगरमाथा साइनो

एक्काइस पटक सगरमाथा चढेका आपा शेर्पा हुन् वा १० पटकसम्म बिनाअक्सिजन सर्वोच्च शिखर पुगेका आङरिता शेर्पा उनकै गाउँ थामेका अग्रज हुन्।

दाइ लाक्पारिता शेर्पा अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको तालिम लिने प्रारम्भिक नेपालीमध्ये हुन्। उनले अहिलेसम्म १७ पटक सगरमाथा चढिसकेका छन्।

कामिरिता सन् १९९५ र आफ्ना 'क्लाइन्ट'लाई लेक लागेपछि साउथ समिटबाटै उनी फर्केका थिए।

सन् २०११ मा आफ्ना आरोहीको अक्सिजन मास्क बिग्रिएपछि आफ्नो दिएर पठाएका थिए।

सन् २००१ मा सन् १९२४ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने ब्रिटिश आरोही जर्ज म्यालोरीको पदचाप पछ्याउने अभियानअन्तर्गत गएका थिए।

जर्ज म्यालोरी पुगेको ठानिएको ८३०० मिटरसम्म मात्र उक्त योजना थियो। अन्यथा आरोहण भएका सबैजसो वर्ष कामिरिता चुचुरोमा पुगेका छन्।

अन्य आरोही चढ्नका लागि बाटो बनाउँदै डोरी चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र सन् २०१३ मा उनी एकै याम दुई पटक सगरमाथा चढेका छन्।

सन् २०१२ मा चाहिँ आधारशिविर नआईकन चौथो शिविरबाटै पुन: माथि लागेर दुई पटक चढेकाले त्यो छुट्टै आरोहणका रूपमा सरकारले मान्यता दिएन।

उनी त्यस बीचमा सगरमाथामा भएका ठूला परिवर्तन र विपद्का साक्षी बने।

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन,

सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेसँगै पछिल्ला वर्षमा आधार शिविरमा निकै भिडभाड बढेको छ

सन् २०१४ मा खुम्बु आइसफलमा आएको हिमपहिरोले १६ नेपाली शेर्पाको ज्यान गएको थियो।

त्यति खेर उनी आधारशिविरमा थिए। अहिले पनि त्यहाँ पुग्दा उनलाई उक्त घटना सम्झेर भावुक बनाउँछ।

त्यस घटनापछि चाहिँ अब 'हिमाल चढ्न छाड्दिऊँ' कि भन्ने लागेछ उनलाई।

"तर पछि सोचेँ गाडी चालकले बाटो अप्ठ्यारो भए पनि काम नछाडेजस्तै त हो मेरो काम पनि। मर्न त घरै बसे नि मरिन्छ।"

आठ जनाले एकै ठाउँमा ज्यान गुमाएको सन् १९९६ को हिमआँधीका बेला उनी दोस्रो शिविरमा थिए। प्रसिद्ध पथप्रदर्शकहरू न्यूजिल्यान्डका रब हल, अमेरिकाका स्कट फिशरको मृत्यु भएको थियो।

त्यतिबेला कामिरिता शेर्पा उद्धारका लागि चौथौ क्याम्पसम्म पुगे।

उक्त घटना भएकाले उनीहरूको आरोहण रद्द भएको थियो।

त्यति खेर आरोहणमै रहेका आउटसाइड म्यागजिनका पत्रकार जोन क्य्राउकरको पुस्तक 'इनटु थिन एअर'मा लिपिबद्ध उक्त घटनालाई अहिले फर्केर हेर्दा त्यति बेला मौसम अनुमान गर्ने प्रविधि कमजोर हुनुलाई उनी कारण ठान्छन्।

मध्याह्नभन्दा धेरै पछि चुचुरोमा पुग्न खोज्ने उनीहरूको निर्णय समेत त्यसमा दोषी रहेको उनी ठान्छन्।

फेरिएको सगरमाथा

सगरमाथामा आरोहीका सङ्ख्या मात्र बढेको छैन, उनीहरूको स्वभावमा फनि फेरिएको छ।

उनी भन्छन् - अहिले कम्पनीहरू जथाभावी खुले अनि त्यसले गर्दा हिमाल चढाउने अस्वस्थ प्रतिस्पर्धाले भएको छ।

"सबै शेर्पामा मात्र भर परेर आउन थालेका आरोहीले गर्दा अहिले आरोहण कठिन बनेको छ।"

चार वर्षअघिको भूकम्पपछि आइसफल भने सजिलो भएजस्तो लाग्छ।

बरफका ढिक्काहरू जोडिएकाले अहिले पहिलेजस्तो धेरै भर्‍याङ राख्नु नपर्ने उनको अनुभव छ।

तर त्यसलाई कतिपय पश्चिमा आरोहीहरूले भने बढ्दो तापमानका कारण अस्थिर बन्ने गरेको समेत बताउँछन्।

तस्बिर स्रोत, PRADEEP BASHYAL/BBC

तस्बिरको क्याप्शन,

खुम्बु आइसफलमा सन् २०१४ मा १६ नेपालीले हिमपहिरोका कारण ज्यान गुमाउँदा कामिरिताले आरोहण व्यवसाय छाड्नेबारे समेत सोचेका थिए

"पहिले १२/१३ वटा भर्‍याङ चढ्नुपर्थ्यो भने अहिले तीन-चारवटाले पुग्छ।"

जलवायु परिवर्तनका अनेक असर उनले देखेका छन्।

"पहिले क्याम्प टूमै कति धेरै हिउँ हुन्थ्यो। अहिले हिमनदी मात्र छ। इलेभन रकतिर पहिले ५० मिटरजति मात्र ढुङ्गा देखिन्थ्यो अहिले त्यो एक सय मिटरसम्म देखिन थालेको छ। बाल्कोनीभन्दा माथि कम्मरसम्म हिउँ हुन्थ्यो अहिले ढुङ्गामात्र देखिन्छ।"

हिउँ पग्लने जस्ता नयाँ चुनौती बढेपनि नियम, गियर र मौसमी प्रविधिजस्ता कुरामा धेरै सुधार भएको छ। सानो छँदा गाउँका बूढापाकाहरूले तारा हेर्दै मौसम पूर्वानुमान गर्न सिकाउँथे।

पहिले चौथो शिविरभन्दा माथि आफैँ डोरी टाँगेर पुग्नुपर्ने एउटा ठूलो चुनौति हुनेगर्थ्यो। आरोहीहरू पुराना डोरीका भरमा चढ्थे। तर अहिले वर्षेनि नयाँ डोरी टाँगिन्छ।

"सजिलै कीर्तिमान बनाउनका लागि चढ्ने आरोहीलाई सहज हुँदा पनि शेर्पाका दु:खकष्ट धेरैजसो उस्तै छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ,

‘भीगन’ शैलीमा सगरमाथा

शेर्पाका सास्ती

पूरै याममा ४० पटकसम्म शेर्पाहरू ओहोरदोहोर गर्नुपर्ने कामिरिता सुनाउँछन्। यसले शेर्पालाई सधैँ जोखिममा पार्छ। हिमालमा पनि आराम खोज्ने आरोहीहरूले गर्दा शेर्पाको काममा धेरै धपेडी हुन थालेको छ।

"हामीले आधार शिविरमा सम्याउँछौँ। क्याम्प टूसम्म घरमा जसरी कुर्सी बोक्छौँ। उनीहरूका खाना र अक्सिजनका बोतल ओसार्छौँ। तर शेर्पाले ज्यान फ्याँकेर दु:ख गरेपछि विदेशीले सगरमाथा सहज छ भन्छन्।"

विदेशीहरूले त्यही शेर्पाको योगदानलाई लुकाएर आफूमात्र साहसी भन्ने देखाउँछन्।

विदेशीमात्र नभएर सरकारले समेत शेर्पालाई सित्तैमा पाएको जस्तो व्यवहार गरको मा उनको दु:खेसो छ।

"पर्वतारोहण उद्योग धानिरहेका शेर्पाहरू केही वर्षमा विस्तारै यो पेसाबाट हराउनेछन् त्यतिखेर सरकारले यसको मूल्य चुकाउनुपर्नेछ।"

हिमालमा शेर्पा नहुँदा अन्य आरोहीको आत्मबलमै समस्या हुने उनी ठान्छन्।

त्यसका छिटफुट प्रभाव त अहिले नै पनि देखिन थालेका छन्।

उनलाई आफ्नो परिचय र आरोहणको लागि पनि आन्दोलन गर्नुपर्दा सबैभन्दा बढी नमज्जा लाग्छ।

दुई वर्षअघिसम्म नेपाल सरकारले सगरमाथा चढ्ने शेर्पालाई 'हाई अल्टिट्युड पोर्टर' भन्ने गर्थ्यो। पछि 'क्लाइम्बिङ गाइड हो हामी' भनेर आन्दोलन गरेपछि अहिले सरकारले त्यस्तो मान्यता दिएको छ।

"शेर्पालाई त पर्वतारोहणको सेनाजस्तो सोच्नुपर्छ। सरकारले अबको दश वर्षपछि शेर्पाको महत्त्व थाहा हुन्छ तर त्यति बेला ढिलो भइसक्छ। त्यस बेलासम्म थुप्रै शेर्पाहरू यस क्षेत्र छाडिसकेका हुन्छन्। अहिले नै हेर्नूस्, पहिले हामी जागिरका लागि बिन्ती गर्दा पनि कम्पनीले दिँदैनथे। अहिले कम्पनीहरू आफैँ हत्ते गर्दै आउँछन्।"

तस्बिर स्रोत, PRADEEP BASHYAL/BBC

अहिले नै पनि बिनाशेर्पा हिमाल चढ्ने अनुमति आरोहीहरूलाई दिइँदा अक्सिजन चोरी हुन्छ। सरकारी सम्पर्क अधिकृत आधारशिविरभन्दा माथि जान सक्दैनन्।

त्यहाँभन्दा माथि नियमकानुन लागु गर्न शेर्पासँग समन्वयको विकल्प देखिँदैन।

उनले त्यही पेसागत असुरक्षाका कारण आफ्ना एक छोरा र छोरीलाई आरोहणबाट पर राखेका छन्।

'हिमाल सजिलो कहिल्यै हुँदैन'

सगरमाथाबारे एउटा चर्चित भनाइ छ- चुचुरोमा पुग्ने कुरा कहिल्यै आरोहीको हातमा हुँदैन, त्यो निर्णय सगरमाथाकै हुन्छ।

कामिरिता सुनाउँछन्, "जति तगडा भएपनि भगवान्‌ले साथ दिनुपर्छ। सन् २००६ मा डोरी समातेर हिँड्दा छेवैको मानिसमाथि ढुङ्गा खसेर ज्यान गुमाएको थियो। मसहित अगाडिका दुई जनालाई केही भएन पछाडि तीन जना ढुङ्गा लागेर ज्यान गुमाए। लास नै दुई वर्ष पछि भेटियो।"

उनले हिमाल चढ्नुभन्दा एक महिना अघिदेखि गुम्बाहरूमा पूजा गर्न सुरु गर्छन्।

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन,

सगरमाथा आधार शिविर

"प्रत्येक हिमालमा देवीको बास हुन्छ। वहाँलाई कसरी चित्त बुझाउने? तपाईँको शरीरमा पाइला टेक्नुपर्‍यो भनेर माफी माग्दै पूजा गर्छु। चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीन पटक ढोगेर माफी माग्छु।"

सगरमाथाको आनन्द भनेको आफ्नो आरोहणभन्दा पनि विदेशीको सफलतामा लाग्दो रहेछ उनलाई।

आरोहणमा उनको कुनै रोल मोडल छैनन्। बरु उनका आफ्नै नियम र मान्यता छन्। भन्छन्- तालिम एउटा पक्ष भए पनि मिलनसार र सहयोगी स्वभाव सगरमाथामा महत्त्वपूर्ण हुन्छ। सकारात्मक सोच्नुपर्छ।

"रेकर्ड बनाउँछु भन्ने सोच नै थिएन। रेकर्ड छ भन्ने पनि थाहा थिएन। भएको भए त मैले अझै धेरैपटक चढिसक्थेँ।"