नोट्र-डाम गिर्जाघर: आगलागीबाट अरू संरचना जोगाउन 'आधा घण्टाको समय महत्त्वपूर्ण साबित'

गिर्जाघर

तस्बिर स्रोत, Reuters

प्यारिसस्थित साढे आठ सय वर्ष पुरानो नोट्र-डाम गिर्जाघरलाई जोगाउने काममा १५ देखि ३० मिनेटको समय महत्त्वपूर्ण साबित भएको फ्रान्सका आन्तरिक मामिलासम्बन्धी उपमन्त्रीले बताएका छन्।

उपमन्त्री लोराँ नुनिअसले गिर्जाघरको संरचना तथा दुईवटा टावर जोगाउनका निम्ति आफ्नो "ज्यान जोखिममा पारी" अग्निनियन्त्रकहरूले देखाएको "साहस तथा दृढता"को प्रशंसा गरे।

आगोले गिर्जाघरको छानामा क्षति पुर्‍याएको छ भने नोट्र-डामको प्रसिद्ध स्पायर अर्थात् सुरिलो गजुर भत्केको छ।

राष्ट्रपति एमानुएल माक्रोँले पाँच वर्षभित्र गिर्जाघरको पुनर्निर्माण गरिसकिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कारण

गिर्जाघरमा भएको आगलागीको कारण अझै स्पष्ट भइसकेको छैन।

उपमन्त्री नुनिअसले भने, "हामीलाई थाहा छ सबै कुरा १५ देखि ३० मिनेटभित्र भयो।"

प्रहरी र अग्निनियन्त्रकहरूले संरचनाको सुरक्षा र संरक्षणबारे आगामी ४८ घण्टामा निर्क्योल गर्ने उनले बताए।

प्यारिसका अभियोजनकर्ताले "दुघर्टनावश आगलागी भएको" पक्षमा आफ्नो कार्यालय रहेको बताए।

तस्बिर स्रोत, Getty Images

यद्यपि आगलागीको स्रोतबारे पत्ता लगाउने जिम्मा ५० जनालाई दिएको उनको भनाइ छ।

अरू अधिकारीहरूले गिर्जाघरमा ठूलो स्तरमा भइरहेको जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्।

अब चाहिँ नोट्र-डामको पुनर्निर्माण कसरी गरिनेछ भन्ने कुरामा ध्यान केन्द्रित हुन थालेको छ।

पुनर्निर्माण

र, राष्ट्रपति माक्रोँले "पहिलाको भन्दा पनि बढी सुन्दर" बनाइने वाचा गरेका छन्।

उनले भने, "हामीले यो विपद्‌लाई एकजुट हुने अवसरमा परिणत गर्नेछौँ।"

राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा माक्रोँले अग्निनियन्त्रकहरूको प्रशंसा गरे।

"अग्निनियन्त्रकहरूले अति जोखिम मोलेर आगोलाई नियन्त्रणमा लिए। फ्रान्सको हरेक कुना, हरेक क्षेत्रबाट २० अथवा २५ को सङ्ख्यामा थिए।"

समाचार संस्था एएफपीका अनुसार प्रसिद्ध गिर्जाघरको पुनर्निर्माणका लागि अहिलेसम्म विभिन्न कम्पनी तथा ठूला व्यापारीहरूले ८०० मिलियन युरो सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

तस्बिर स्रोत, Reuters

विश्वभरिबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी छ र युरोपेली परिषद्‌का अध्यक्ष जाँ क्लोड युङ्करले सहयोगका निम्ति युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।

एक हजार वर्ष पुरानो स्ट्राजबर्ग गिर्जाघरको पुनर्निर्माण कार्यका प्रमुख एरिक फिशरले नोट्र-डामको पुनर्निर्माणमा "दशकौँ लाग्न सक्ने" एएफपीलाई बताए।