अस्ट्रेलियामा मृगले आक्रमण गर्दा एकको मृत्यु, एक घाइते

  • 17 एप्रिल 2019
मृग तस्वीर कपीराइट Getty Images

दक्षिण अस्ट्रेलियाको एउटा गाउँमा मृगले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार भिक्टोरिया राज्यमा बुधवार एक महिला र एक पुरुषलाई मृगले आक्रमण गरेको थियो।

मृगले हान्दा ती पुरुषको मृत्यु भयो भने अर्की महिलालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते महिलालाई विमानमा चढाएर अस्पताल लगिएको छ।

पशुका कारण हुने मृत्युबारे अध्ययन गरेका अनुसन्धानकर्ता रोनेल वेल्टनले सन् २००० देखि २०१३ सम्म अस्ट्रेलियामा मृगको आक्रमणबाट कसैको मृत्यु नभएको बताइन्।

आक्रमणपछि मेल्बर्नबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको वाङ्गराटानजिकै सो मृगलाई मारिएको प्रहरीले बतायो।

प्रहरीले घटनाबारे अनुसन्धान हुने बताएको छ।

झन्डै १० लाख मृग

गत वर्ष राज्य सरकारले एउटा प्रतिवेदनमा मृग देखा पर्ने क्रम र तिनबाट सर्वसाधारण असुरक्षित हुने जोखिम बढेको विवरण सामान्य बन्न थालेको उल्लेख गरेको थियो।

भिक्टोरियामा मृगको सङ्ख्या झन्डै १० लाख पुगेकाले सडक दुर्घटना र भौतिक संरचनामा क्षति भएको सरकारको भनाइ छ।

तर बुधवार कुन प्रजातिको मृगले आक्रमण गरेको थियो भन्ने प्रहरीले खुलाएको छैन।

भिक्टोरियामा साम्बर, रतुवा, लगुना र फ्यालो जातका मृग पाइन्छन्।

मृग अस्ट्रेलियाको रैथाने वन्यजन्तु हैन।

राष्ट्रिय निकुञ्ज हेर्ने सरकारी निकाय पार्क्स भिक्टोरियाले मृगले वनस्पतिलाई क्षति पुर्‍याउने गरेको छ।

यो पनि पढ्नुहोस्

सम्बन्धित सामग्री