दादुरा: विश्व स्वास्थ्य सङ्गठन भन्छ, 'नेपालमा पनि दादुरा सङ्क्रमण बढ्यो'

  • 17 एप्रिल 2019
नेपाल दादुरा तस्वीर कपीराइट Science Photo Library

नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्न लक्ष्य लिएको थियो, तर यो रोगको सङ्क्रमण केही वर्षदेखि बढ्न थालेको विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले देखाएको छ।

विश्वका अन्य देशमा पनि दादुराबाट पीडित हुनेहरूको सङ्ख्या बढेको पाइएको छ।

विश्व स्वास्थ्य सङ्गठन सङ्गठनले यो प्रारम्भिक तथ्याङ्क भएको र वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने बताएको छ।

भाइरसबाट लाग्ने दादुराबाट प्राय: बालबालिका पीडित हुन्छन्। तर यो खोपबाट नियन्त्रण गर्न सकिन्छ।

नेपालमा के छ स्थिति?

नेपालमा सन् २०१८ मा झन्डै साढे दुई सय जनालाई दादुरा भएको पुष्टि भएको थियो भने यो वर्ष तीन महिनाभित्र ३७२ मा सो रोग लागेको पुष्टि भइसकेको छ।

सन् २०१७ मा जम्मा ७७ जनामा दादुरा भएको पाइएको थियो।

तर यी विवरणहरू सरकारी निकायमा आइपुगेको जानकारीमा मात्रै तयार आधारित भएकाले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने विज्ञहरू बताउँछन्।

सन् २०१८ मा नेपालमा दादुरा

प्रदेशदादुराको शङ्कादादुरा भएको पुष्टि
२३५
३६७१२६
२९२३२
१३३
२६८५६
१०६
६८१८
कुल१४६९२४७
Source: WHO

विश्वव्यापी रूपमै दादुरा सङ्क्रमण बढेको अवस्थामा नेपालमा मात्रै त्यसको कारण यही हो भन्न नसकिके उनीहरूको धारणा छ।

तर दादुरा नहोस् भनेर दिइने खोपको प्रयोगबारे जागरुकता बढाउन गरिने जनचेतनाका कार्यक्रम पर्याप्त र प्रभावकारी नभएकाले समस्या बल्झेको हुन सक्ने उनीहरूको अनुमान छ।

स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले बीबीसी नेपाली सेवालाई भने, "दादुरा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि हुनुको एउटा मुख्य कारण खोप लगाउनेको सङ्ख्यामा आएको कमी हुन सक्छ।"

कहिले दिइन्छ खोप?

विश्व स्वास्थ्य सङ्गठनले गरेको अध्ययनमा नेपालमा दादुराका बिरामीको सङ्ख्या तीव्र गतिमा बढेको देखिएको छ।

महामारी रोकथामका लागि खोपले ९५ प्रतिशत जनसङ्ख्यालाई छुनुपर्छ।

तर नेपालमा जन्मेदेखि एक वर्षको उमेरसम्मका बालबालिकालाई दिनुपर्ने ११ वटा खोपको तालिकानुसार खोप प्राप्त गर्नेको सङ्ख्या ८१ प्रतिशतको हाराहारीमा रहेको गौतमले जानकारी दिए।

दादुराको खोप नौ महिना र १५ महिनामा दुईचोटि लाउनुपर्ने चिकित्सकहरू बताउँछन्।

तस्वीर कपीराइट Getty Images

तर पहिलो खोप लगाउनेको सङ्ख्याको तुलनामा दोस्रो खोप लगाउने बालबालिकाको सङ्ख्या कम रहेको चिकित्सकहरू बताउँछन्।

दोस्रो खोप लगाउनेको सङ्ख्या जम्मा जम्मी ६६ प्रतिशत रहेको छ जुन पहिलो पटक लगाउनेको सङ्ख्या भन्दा १५ प्रतिशत कम हो।

के उन्मूलन सम्भव छ?

डा. गौतम भन्छन्, "अहिलेको अवस्था हेर्दा सन् २०१९ मा दादुरा पूर्ण रूपमा उन्मूलन गर्न सम्भव देखिँदैन।"

तर यसबारे छलफल गरिने उनले बताए।

संयुक्त राष्ट्रसङ्घको बालबालिका हेर्ने निकाय युनिसेफमा लामो समय काम गरेका कुलचन्द्र गौतमका अनुसार दादुराको खोपबारे विशेषगरी पश्चिमा मुलुकमा नकारात्मक प्रचारप्रसार भएकाले पनि समस्या देखिएको हो।

उनी भन्छन्, "झन्डै २० वर्षअघि दादुराका कारण विश्वव्यापी रूपमा झन्डै २० लाख मान्छेको मृत्यु हुने गरेको म सम्झन्छु। त्यो सड्ख्या घटेर एक लाखको आसपासमा आएको थियो।"

यो पनि पढ्नुहोस्

निकै राम्रो प्रगति भइसकेको क्षेत्रमा यस्तो अवस्था देखा पर्नु दुर्भाग्यपूर्ण अवस्था रहेको उनको बुझाइ छ।

"लाखौँको सङ्ख्यामा खोप लगाउनेमध्ये एकदुई जनालाई नकारात्मक असर परेको हुन सक्छ। तर त्यही एकदुई जनामाथि परेको असर हेरेर खोपको विरोध गर्नुले समस्या झन् जटिल बनाउन सक्छ।"

नेपालको हकमा पश्चिमा मुलुक जस्तो खोपविरोधी अभियान नचले पनि विगतका वर्षमा राम्रो प्रगति हासिल भएकोमा 'आत्मसन्तोष' मान्दै खोप दिने कार्यमा कमी आएकाले समस्या निम्तिएको हुन सक्ने गौतमको अनुमान छ।

कस्तो खतरा छ?

सरुवा रोगमध्ये पनि निकै चाँडो फैलन सक्ने क्षमता भएको हुँदा दादुरा नियन्त्रणलाई गम्भीरतापूर्वक लिनुपर्ने विज्ञहरू बताउँछन्।

दादुराले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलालाई ग्रस्त बनाउने चिकित्सकहरूको भनाइ छ।

दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ।

तर कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा सङ्क्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ।

केन्द्रीय तथ्याङ्क विभागले सन् २०११ मा गरेको जनगणनाका अनुसार नेपालमा चार वर्ष सम्मका बालबालिकाको सङ्ख्या २५ लाख ६७ हजार थियो। जुन कुल जनसङ्ख्याको करिब १० प्रतिशत हो।

उपचारको व्यवस्था कस्तो छ?

विकसित मुलुकमा सन् १९६३ बाट प्रयोगमा आएको दादुराको खोप नेपालमा भने सन् १९७९ मा मात्र आएको गौतम सम्झन्छन् ।

सुरुका दिनमा उक्त खोप निकै महँगो मानिने भए पनि अहिले ठूलो परिमाणमा उत्पादन हुने हुँदा मूल्य क्रमिक रूपमा घट्दै गएको जानकारहरू बताँउछन्।

गौतमका अनुसार एक जनालाई एक पटक लगाइने दादुराको खोपको मूल्य एक अमेरिकी डलर जति पर्छ।

गौतम भन्छन्, "त्यसमाथि विश्व स्वास्थ्य सङ्गठन र युनिसेफ जस्ता संस्थाले त्यस्ता खोपको खरिदमा सहयोग गर्ने हुँदा खर्च कम हुन आउँछ।"

सम्बन्धित समाचार