#NepaliSat-1 भू-उपग्रह प्रक्षेपणअघि सामाजिक सञ्जालमा चर्चा

तस्बिर स्रोत, NASA
नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह पठाउने समय नजिकिँदै गर्दा सामाजिक सञ्जालमा त्यस विषयमा टिकाटिप्पणी हुने क्रम पनि बढिरहेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको पहिलो भू-उपग्रह अमेरिकी पूर्वी समय ईडीटी ४.४६ बजे साँझ (नेपाली समय अनुसार १८ एप्रिल, बिहीवार बिहान २.३५ बजे) भर्जिनिया राज्यको अमेरिकी पूर्वी तटीय क्षेत्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिँदैछ।
त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स् उडान केन्द्र रहेको छ।
NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक अन्तरिक्ष यानमा रहने सिग्नस् कार्गो विमानले बोक्नेछ।
योजना
तस्बिर स्रोत, NASA
बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भूउपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याउने कार्यक्रम रहेको नासाले जनाएको छ।
बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाउन लागिएको हो।
त्यो वायुयानभित्र रहने कार्गो विमानले करिब ७,६०० पाउण्ड (३४४७ किलोग्राम) सामग्री बोकेर अन्तरिक्षमा लैजाने कार्यक्रम छ।
ट्विटरमार्फत एक सन्देश लेख्दै नासाले बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम आफ्नो वेबसाइटमा राखिएको लिङ्क मार्फत प्रत्यक्ष हेर्न सकिने जनाएको छ।
कस्ता प्रतिक्रिया आइरहेका छन्?
नेपालले पहिलो पटक आफ्नै भू-उपग्रह अन्तरिक्षमा पठाउन लागेको विषयमा सामाजिक सञ्जालमा अहिले विभिन्न टिप्पणीहरू आउने क्रम जारी छ।
ट्विटरमा सन्देश लेख्दै पदम बुढाले नेपाली वैज्ञानिकहरूले जापानमा आफ्नै भू-उपग्रह बनाएको उल्लेख गरेका छन्।
निशान्त खनालले चाहिँ अहिले नेपालले आफ्नो देशको झन्डा भएको भू-उपग्रह अन्तरिक्षमा पठाउनु मात्रै ठूलो उपलब्धि नहुने टिप्पणी गरेका छन्।
दिनेश पौड्यालले यो ठूलो क्षण हुने भन्दै खुसी व्यक्त गरेका छन्।
उत्तमबाबु श्रेष्ठले चाहिँ चुनौतीहरू बाँकी नै रहेको उल्लेख गरेका छन्। उनले केही आलोचना गरेका छन्।
आफ्नो फेसबुक पेजमा लेख्दै नेपाल खगोलशास्त्र समाज (नासो)ले नेपाली भू-उपग्रह प्रक्षेपण हुन लागेको क्षण हेर्न सबैलाई तयार रहन आग्रह गरेको छ।