नोट्र-डाम गिर्जाघरः आगलागीपछि चर्चामा आएको तस्बिरमा भएको परिवार भेटियो

  • 19 एप्रिल 2019
तस्बिर तस्वीर कपीराइट Brooke Windsor

प्यारिसस्थित नोट्र-डाम कथिड्रलमा आगलागी शुरू हुनुभन्दा केही समयअघि सो गिर्जाघरबाहिर खिचिएको तस्बिरमा भएको एउटा परिवार भेटिएको छ।

त्यतिखेर त्यहाँ पुगेकी २३ वर्षीया पर्यटक ब्रुक विन्डसरका अनुसार उनले त्यो तस्बिर गिर्जाघरमा आगलागी हुनुभन्दा करिब एक घण्टाअघि खिचेकी थिइन्।

तस्बिरमा ८५० वर्ष पुरानो सो ऐतिहासिक स्मारकबाहिर एक पुरुषले एक बालिकालाई उचालेर घुमाइरहेको र दुवैजना प्रसन्न मुद्रामा भएको देखिन्छ।

आगलागीपछि उनले ती दुईजना कहाँ होलान् भन्दै उनले त्यो तस्बिर सामाजिक सञ्जाल ट्विटरमा राखिदिएकी थिइन् जुन व्यापक शेअर भयो।

खोजी

विन्डसरले सो परिवारसँग आफूले सम्झनाहरू साट्न चाहेको बीबीसीलाई बताएपछि अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको खोजी हुन थाल्यो।

उक्त परिवार भेटिएको पुष्टि गर्दै विन्डसरले ट्वीट गरेकी छन्: "खोजी कार्य पूरा भएको छ! तस्बिर त्यसमा भएका बुवा र परिवारकहाँ पुगेको छ।"

नोट्र-डामबाहिर खिचिएको यो तस्बिरको व्यापक चर्चा

तस्बिरमा भएका व्यक्ति र उनको परिवारले पहिचान सार्वजनिक गर्न नचाहेको उनले बताइन्।

उनका अनुसार ती व्यक्तिले उनलाई एउटा सन्देश पठाएका छन्, जसमा भनिएको छः "सुन्दर तस्बिरका लागि फेरि पनि धन्यवाद छ, हामीले त्यसका लागि एउटा विशेष ठाउँ खोज्नेछौँ।"

विन्डसरले गरेको ट्वीट २ लाख ४० हजार पटक शेअर भएको थियो भने ४ लाख ६७ हजार पटक लाइक गरिएको थियो।

नोट्र-डामलाई विशेष बनाउने खजानाहरू

नोट्र-डाम जोगाउन आधा घण्टा 'महत्त्वपूर्ण साबित'

ट्विटर प्रयोगकर्ताले नोट्र-डाममा आगलागीले पुर्‍याएको क्षतिबाट संसार स्तब्ध भइरहँदा उनले खिचेको तस्बिरलाई "ऐतिहासिक" र "विशेष क्षण"को भनेका थिए।

विन्डसरले त्यो क्षणलाई हेर्दा उनीहरू बाबुछोरीजस्तो आफूलाई लागेको बताएकी थिइन्।

उनले ट्विटरमा सन्देश लेख्दै ती दुई जनालाई फेला पार्न आफूलाई सहयोग गर्न सार्वजनिक आग्रह समेत गरेकी थिइन्।

उनले ती पुरुष पनि आगलागी भएपछि आफूजस्तै आहत भएको हुन सक्ने बताएकी थिइन्।

तस्वीर कपीराइट Getty Images

विन्डसरका अनुसार आगलागी भएपछि उनले पनि हजारौँ मानिससँगै उभिएर त्यो दन्किएको हेरिरहिन्।

उनले बीबीसीसँग भनिन्, "हामीले प्यारिसवासीले जस्तै अत्यन्त स्तब्ध भएर कथिड्रल जलिरहेको दृश्य हेर्‍यौँ।"

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले उक्त गिर्जाघरको पुनर्निर्माण गरिने प्रतिबद्धता जनाएका छन्।

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको सो गिर्जाघरको निर्माणका लागि अहिलेसम्म ८०० मिलियन युरो सहयोगको प्रतिबद्धता आइसकेको छ।