विद्यार्थी राजनीति: राजनीतिक व्यवस्था परिवर्तनसँगै सुधार हुनुपर्ने आवश्यकता

  • 19 एप्रिल 2019
विद्यार्थी तस्वीर कपीराइट Facebook/All Nepal National Free Student Union

सत्ता र प्रतिपक्षी दल निकट पूर्व विद्यार्थी नेताहरूले नेपालको विद्यार्थी राजनीति 'गैर शैक्षिक' र 'अराजनीतिक गतिविधि'तर्फ उन्मुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपालको पुरानो विद्यार्थी संगठन मध्येको एक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार आफ्नो ४९ औँ स्थापना दिवस मनाउँदै गर्दा पूर्व विद्यार्थी नेताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

नेविसंघ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन हो।

पूर्व नेताहरूको यस्तो चिन्तालाई हाल विद्यार्थी राजनीतिमा सक्रियहरूले भने 'समसामयिक आवश्यकता बोध नगरेको' रूपमा अर्थ्याएका छन्।

शिक्षाविद् चाहिँ नेपालको विद्यार्थी राजनीतिमा बढ्दो विकृति अन्त्य गर्न विश्वविद्यालय र कलेजहरूमा पार्टीगत संगठनको साटो एउटै आधिकारिक गैरराजनीतिक संगठन बनाउनु पर्नेमा जोड दिन्छन्।

के भन्छन् पूर्व विद्यार्थी नेता?

राजनीतिमा सक्रिय पूर्व विद्यार्थी नेताहरूका भनाइमा पछिल्ला वर्षहरूमा विद्यार्थी राजनीति विद्यार्थीका हक हितमा भन्दा अन्य कुरामा केन्द्रित हुन थालेको छ।

त्यसले गर्दा विद्यार्थी संगठन र तिनका नेताहरूप्रतिको विश्वसनियतामाथि प्रश्न उठ्न थालेको उनीहरूको दाबी छ।

त्यस्तै मध्येकी एक हुन् सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की पूर्व अध्यक्ष एवम् सांसद रामकुमारी झाँक्री।

उनी भन्छिन्, "अहिले न विद्यार्थी आन्दोलन छ न गतिविधि नै। विद्यार्थी संगठनहरूको गतिविधि संगठित ढङ्गले अराजनीतिक र असामाजिक गतिविधिमा लागेको देखिन्छ।"

उनी विद्यार्थी संगठनहरूका गतिविधि यस्तो हुनुमा मूल पार्टीहरूकै कमजोरी रहेको बताउँछिन्।

"मूल पार्टीहरूमै नीतिगत र वैचारिक स्पष्टता छैन त्यसैले गर्दा युवा विद्यार्थी संगठनहरूका नेताहरू पनि सत्ताको ताबेदारी गर्ने भए," नेता झाँक्रीले भनिन्, "त्यसले गर्दा संगठनहरूले स्थापित औचित्य गुमाउँदै गएको देखिन्छ।"

तस्वीर कपीराइट Facebook/Nepal Students' Union

विद्यार्थी संगठनमा लाग्नेहरूकै गतिविधिले गर्दा जायज माग राखेर कुनै संगठनले आन्दोलन नै गरिहाल्यो भने पनि 'बार्गेनिङ'का लागि त्यस्तो गरेको ठान्न थालिएको उनको दाबी छ।

'सेवाभन्दा लाभमा केन्द्रित'

नेविसंघकी पूर्व महासिचव प्रतिमा गौतम विद्यार्थी राजनीति गर्नेहरू 'सेवाभन्दा लाभमा केन्द्रित' भएको बताउँछिन्।

उनी भन्छिन्, "हरेक पार्टीभित्र नेताले विद्यार्थीहरूलाई प्रयोग गर्ने प्रयोगशाला जस्तो बनाएका छन्। विद्यार्थीले पनि लाभका लागि राजनीति गरिरहेका छन्। विचलन धेरै आएको छ।"

उनले पञ्चायतकालमा विद्यार्थीहरूको क्रान्तिकारी छवि रहेको तर २०४६ सालदेखि नै त्यो छवि कमजोर बनेको बताइन्।

गणतन्त्रपश्चात् त देशको विद्यार्थी राजनीति धेरै नै बिग्रिएको उनको दाबी छ।

एकजना शिक्षाविद् सुसन आचार्य पछिल्ला वर्षहरूमा विद्यार्थी संगठनहरूका कारण शैक्षिक संस्थाहरूको साख गिर्दै गएको बताउँछिन्।

उनी चरम राजनीतिकरण हुनाले विश्वविद्यालयदेखि कलेजसम्ममा शिक्षाको गुणस्तर समेत खस्केको ठान्छिन्।

"जब शिक्षामा राजनीति हुन्छ तब अस्तव्यस्त हुन्छ," आचार्य भन्छिन्, "नेपालमा त राजनीति धेरै नै बढी भयो र त्यसमा विद्यार्थी संगठनहरूको मात्र होइन तिनका मूल पार्टीहरूको पनि दोष छ।"

उनी विश्वविद्यालयहरूमा राजनीतिक दलहरूले भागबण्डामा पदाधिकारी नियुक्त गर्न थालेदेखि नै विद्यार्थी राजनीति पनि 'गैर शैक्षिक गतिविधि'मा केन्द्रित हुन थालेको ठान्छिन्।

के भन्छन् अहिलेका नेताहरू?

हाल विद्यार्थी संगठनहरूमा सक्रिय नेताहरू भने पूर्व विद्यार्थी नेताहरू र शिक्षाविद्को भनाइलाई खण्डन गर्छन्।

उनीहरू भन्छन्-"एकाध व्यक्तिहरूले गरेका गल्तीलाई एउटै डालोमा राखेर हेर्नु गलत हो।"

सत्तारूढ नेकपाको भातृसंगठन अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बराल भन्छिन्, "हिजोको अभ्यासका आधारमा बनाइएको दृष्टिकोण आजको अवस्थामा मिल्दैन। त्यसैले हिजोको जस्तै काम भएन भनेर विभिन्न लाञ्छना लगाउने काम भएको छ। आजको आवश्यकता फरक छन्। भूमिका पनि फरक बनाउनु पर्ने अवस्था छ नि त!"

उनले विद्यार्थी संगठनहरू पनि पार्टीका भातृ संगठन भएकाले पार्टीको सफलताका लागि प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्दा त्यसलाई गलत गतिविधिमा लागेको भन्न नमिल्ने तर्क गरिन्।

उनले विद्यार्थी नेताहरू स्वार्थमा केन्द्रित बनेको भन्ने आरोप गलत भएको बताइन्।

प्रतिपक्षी नेपाली काङ्ग्रेसको भातृ संगठन नेविसंघको केही महिनाअघि विघटन भएको केन्द्रीय समितिमा उपाध्यक्ष रहेकी उर्मिला थपलियाले पनि अहिले सबै विद्यार्थी संगठन बिग्रिए भनेर आरोप लगाउन नमिल्ने बताइन्।

उनले भनिन्, "उठाउनु पर्ने जति सबै मुद्दा उठाउन नसकिएको होला तर आरोप लगाउनेहरूले आरोप लगाएजस्तो विद्यार्थी नेताहरू गलत क्रियाकलापमा संलग्न भएको भन्न मिल्दैन।"

उनले अहिले पनि विद्यार्थी संगठनहरूले जनताको पक्षमा बोलिरहेको बताइन्।

कस्तो सुधार आवश्यक?

नेपालको विद्यार्थी राजनीतिमा देखिएको समस्या सुधार गर्न मूल पार्टीहरूले मुख्य भूमिका खेल्नुपर्नेमा भने धेरै पूर्व र वर्तमान विद्यार्थी नेताहरू सहमत छन्।

उनीहरूका अनुसार मूल पार्टीमा सुधार भए विद्यार्थी राजनीतिमा पनि सुधार आउनेछ।

त्यस्तै शिक्षाविद् भने शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण अन्त्य गर्न दलगत विद्यार्थी संगठनहरूको साटो स्वतन्त्र खालका संगठनहरू बनाउनु पर्नेमा जोड दिन्छन्।

रामकुमारी झाँक्री भन्छिन्, "पार्टीहरूले चाहेमा अहिले पनि विद्यार्थी राजनीतिमा सुधार हुन्छ। भोलिको भविष्य भनेकै विद्यार्थी भएकाले पार्टीहरूले त्यसमा ध्यान दिनुपर्छ।"

उनी पार्टीले नियमित प्रशिक्षण दिने, अनुशासन कायम गराउने, अनैतिक कार्य र भ्रष्टाचारमा सामेल भएकालाई कारबाही गर्ने गरेमा सुधार आउने बताइन्।

गौतम चाहिँ विद्यार्थी राजनीति शैक्षिक कुराहरूमा मात्रै केन्द्रित भए धेरै सुधार आउने ठान्छिन्।

उनी भन्छिन्, "विद्यार्थी राजनीति भनेकै शैक्षिक कुरामा केन्द्रित हुने हो। त्यसबाट नबरालिए धेरै सुधार हुन्छ।"

शिक्षाविद् आचार्य हाल विभिन्न दलहरूका संगठन रहेकाले समस्या निम्तिएको बताउँछिन्।

उनी भन्छिन्, "सबै दलका संगठनहरूको संयुक्त एउटा मात्र आधिकारिक युनियन जस्तो बनाउने परिपाटी बसाउन सके सुधार हुने थियो।"

बराल पनि संगठनका गतिविधिमा सुधार जरूरी देख्छिन् भने थपलिया चाहिँ सबै दलका विद्यार्थी संगठनहरू साझा मुद्दामा एकै स्थानमा उभिन सके समस्या हल हुने ठान्छिन्।