भारत निर्वाचन: 'गलत' पार्टीलाई मत हाल्ने मतदाताले आफ्नो चोरऔँला काटे

  • 19 एप्रिल 2019
पवनकुमार तस्वीर कपीराइट YOGESH KUMAR SINGH

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश "गलत" पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्।

सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएको देख्‍न सकिन्छ।

उनले खासमा एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेका तर विद्युतीय भोटिंग मशिनमा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन्।

मतदान गरिसकेपछि प्रत्येक मतदाताको चोरऔंलामा सजिलै मेट्न नसकिने मसीको चिन्ह लगाइदिने गरिन्छ।

भारतीय निर्वाचनको दोस्रो चरणमा ६१.१२ प्रतिशत मत खस्यो

भारतीय चुनावमा नेपालीको सक्रियता किन

मतदान

पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए।

भारतको आम निर्वाचनमा बिहीवार दोस्रो चरणको मतदान भएको थियो।

"म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ," पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ।

सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो। उक्त पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ।

तस्वीर कपीराइट Getty Images

निर्वाचन

भारतको निर्वाचनमा पार्टीको चुनाव चिन्हको ठूलो अर्थ रहन्छ। धेरै भागमा साक्षरता दर कम रहेको उक्त देशमा चुनाव चिन्हका कारण पार्टी चिन्न मतदातालाई सहज हुने गर्छ।

भारतमा थुप्रै क्षेत्रीय पार्टी र गठबन्धनहरू पनि छन् जसले गर्दा मतदानका बेला मतदाता अन्योलमा पर्ने सम्भावना रहने गर्छ।

पवन कुमार दलित भनिने समुदायका सदस्य हुन् जुन समुदाय बहुजन समाज पार्टीको महत्त्वपूर्ण भोट ब्याङ्क मानिन्छ।

बिहीवारको मतदानलाई भारतका शक्तिशाली क्षेत्रीय पार्टीहरूका लागि महत्त्वपूर्ण हुने ठानिएको छ, जुन पार्टीहरूले आआफ्नो राज्यमा स्थानीय राजनीतिलाई आफ्नो पकडमा राखेका छन् र तिनका नेता चर्चित स्थानीय राजनीतिज्ञहरू छन्।

भारतमा सात चरणमा आम निर्वाचन भैरहेको छ र मे २३ तारिखका दिन मतगणना हुनेछ। यो निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या ९० करोड छ र यही कारणले पनि यो निर्वाचन संसारको सबैभन्दा ठूलो निर्वाचन हो।

सम्बन्धित सामग्री