स्पेनस्थित उत्तर कोरियाली दूतावासमा 'छापा मार्ने' अमेरिकी सैनिक पक्राउ

  • 20 एप्रिल 2019
उत्तर कोरियाली दूतावास तस्वीर कपीराइट Getty Images

स्पेनको राजधानी म्याड्रिडस्थित उत्तर कोरियाली दूतावासमा छापा मार्ने समूहमा संलग्न भएको आरोप लागेका अमेरिकी मरिन कोरका एक सैनिकलाई अमेरिकी अधिकारीहरूले पक्राउ गरेको समाचार सार्वजनिक भएको छ।

क्रिस्टोफर आन नामक ती सन्दिग्ध व्यक्तिलाई लस एन्जलिसस्थित एउटा अदालतमा पेस गरिने बताइएको छ।

गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनबीच भियतनाममा शिखरवार्ता हुनुभन्दा केही दिनअघि सो घटना भएको थियो।

उक्त घटनामा संलग्न भएको आशङ्कामा कसैलाई पक्राउ गरिएको यो पहिलो पटक हो।

स्वघोषित मानवाधिकारवादी समूह 'फ्री जोस-अन'ले आफू सो घटनामा संलग्न भएको दाबी गरेको छ।

अमेरिकी सङ्घीय अधिकारीले उक्त समूहका एक अगुवा एड्रिअन हङको घरमा पनि छापा मारेको वाशिङ्टन पोस्टले जनाएको छ।

आश्चर्य व्यक्त

बीबीसीले प्रतिक्रियाका लागि गरेको आग्रहमा अमेरिकी न्याय विभागले तत्कालै कुनै उत्तर दिएको छैन।

तस्वीर कपीराइट GOOGLE MAPS
Image caption दुईतल्ले भवन भएको उत्तर कोरियाली दूतावासमा पौडी खेल्नका लागि पोखरी पनि रहेको छ

फ्री जोस-अनले एउटा विज्ञप्तिमा पक्राउपुर्जी जारी गरिएकोमा आश्चर्य व्यक्त गरेको छ।

"किम सत्ताको हिरासतबाट घर फर्किएका अन्तिम अमेरिकी नागरिक यातनाका कारण घाइते भएका थिए र उनी बाँचेनन्," विज्ञप्तिमा प्रवक्ता ली वुलोस्कीले भने, "हाल उसले निसाना बनाएका अमेरिकी नागरिकहरूको सुरक्षाबारे हामीले अमेरिकी सरकारबाट कुनै पनि खालको प्रत्याभूति पाएका छैनौँ।"

"उत्तर कोरियालाई स्वतन्त्र बनाउन खोज्ने एउटा मानवाधिकार आन्दोलनका सदस्यहरू" भनेर चिनाउने १० जनाको एउटा समूह गत फेब्रुअरी २२ स्पेनस्थित उत्तर कोरियाली दूतावासमा बलपूर्वक पसेको थियो।

त्यस घटनामा एक सहचारीसहित दूतावासका अन्य अधिकारीहरूलाई नियन्त्रणमा लिइएको थियो।

ती सहचारीलाई उनीहरूले आफू दोषी रहेको जबरजस्ती स्वीकार गराउने प्रयास गरेका थिए।

डेटा चोरी

उक्त समूहका सदस्यहरूले कम्प्युटर र हार्ड ड्राइभ बन्द गरिदिएको र तिनमा सङ्कलित डेटा लिएर अमेरिकी अधिकारीहरूलाई पठाइएको आरोप लागेको छ।

उत्तर कोरियाले उक्त घटनालाई "गम्भीर आतङ्कवादी आक्रमण" भनेको थियो।

पहिले छोलिमा सिभिल डिफेन्स (सीसीडी) भनेर चिनिने फ्री जोस-अनले भने उसका सदस्यहरूलाई दूतावासले बोलाएको थियो भन्ने दाबी गर्ने गरेको छ।

गत महिना स्पेनको एउटा अदालतद्वारा जारी गरिएको एउटा पत्रमा उक्त सङ्गठनका अगुवाहरूको नाम उल्लेख छ।

तीमध्ये केही अमेरिकामा बसोबास गरिरहेको भन्ठानिएको छ। उक्त अदालतले उनीहरूको सुपुर्दगी खोजिरहेको छ।

सो समूहले उत्तर कोरियाली नेता किम जङ-अनलाई अपदस्थ गर्न चाहेको बताइन्छ।

घटना संलग्न को थिए?

एड्रिअनबाहेक अन्य दुई व्यक्ति पनि सो घटनामा संलग्न रहेको बताइएको छ। उनीहरू अमेरिकी नागरिक साम र्‍यू र दक्षिण कोरियाका उ रान ली हुन्।

सो समूहले दूतावासका कर्मचारीहरूलाई घण्टौँसम्म बन्दी बनाएका थिए।

एक महिला झ्यालबाट भाग्न सफल भएकी थिइन् र गुहार माग्दै कराएकी थिइन्। लगत्तै छिमेकीहरूले प्रहरी बोलाएका थिए।

घटनास्थलमा प्रहरी आइपुग्दा उनीहरूलाई एड्रिअनले स्वागत गरेका थिए। उत्तर कोरियाली नेता किमको तस्बिर अङ्कित बिल्ला भएको पहिरन लगाएका उनले दूतावासमा केही समस्या नरहेको बताएका थिए।

उक्त समूहका अधिकांश व्यक्ति दूतावासको सवारीसाधन प्रयोग गरेर भाग्न सफल भएका थिए।

एड्रिअन र अन्य केही त्यसपछि पछिल्लो भागमा रहेको प्रवेशद्वारबाट दूतावासकै गाडी प्रयोग गरेर निक्लिएका थिए। उनीहरू चार समूहमा बाँढिएर पोर्चुगलतर्फ लागेका थिए।

यो पनि पढ्नुहोस्

उक्त समूहबारे के थाहा छ?

फ्री जोसनको नाम बाट समेत परिचित छोलिमा सिभिल डिफेन्स (सीडीसी) उत्तर कोरियामा किम वंशको शासन अन्त्य गर्न चाहन्छ।

किमका भतिजा किम ह्यान-सोललाई मकाऊबाट भगाउन सफल भएको श्रेयसँगै सीडीसीले ठूलो चर्चा पाएको थियो।

सन् २०१७ मा उत्तर कोरियाली शासक किमका सौतिनी दाजु किम जङ-नामको मलेशियाको विमानस्थलमा हत्या गरिएको थियो।

आफ्नो बुवाको हत्यापछि उत्तर कोरियाबाहिर बस्दै आएका ह्यान-सोलले आफू उत्तर कोरिया फर्कन चाहेक बताएका छन्।

उनले किमलाई 'तानाशाह' को संज्ञा दिएका छन्।