सामाजिक सञ्जालमा मानिस किन नकारात्मक र आक्रोशित देखिन्छन्?

  • 20 एप्रिल 2019
समाजिक सञ्जाल तस्वीर कपीराइट Getty Images

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो फलोअरको सङ्ख्या दुई लाख पुग्दा सबैलाई धन्यवाद दिँदै एउटा सन्देश लेखे।

सामाजिक सञ्जालमा दार्शनिक पात्रदेखि रमाइला व्यक्ति र निकै ज्ञानवान् मानिसदेखि भ्रममा बाँच्नेहरूसम्म भएकाले सामाजिक सञ्जाल चाखलाग्दो भएको उनको टिप्पणी थियो।

ज्ञवालीको ट्वीटमा धेरैले प्रतिक्रिया जनाए।

प्रतिक्रिया जनाउनेमध्येकी एक निर्मला ढकाल पनि थिइन्। उनले मन्त्री ज्ञवालीलाई यति धेरैले गाली गर्दा पनि मनोरञ्जन गर्न सक्नु भएकोमा बधाई भन्दै जबाफ फर्काइन्।

मन्त्री ज्ञवालीले रचनात्मक आलोचना ऐनाजस्तै भएको र मानिसले आफूसँग जे छ त्यही दिने भन्दै तत्काल प्रतिक्रिया लेखे।

अर्का व्यक्ति कृष्ण घिमिरेले ज्ञवालीको बुझाइको प्रशंसा गर्दै सही रूपमा बुझ्न सके आलोचना सकारात्मक विषय रहेको र आलोचनालाई नकारात्मक सम्झेर प्रतिक्रिया जनाउने प्रवृत्ति रहेको भन्दै आलोचनाप्रति सहिष्णु बन्नु र पाठ सिक्नु श्रेयस्कर रहेको प्रतिक्रिया जनाए।

ट्विटर मात्र नभएर फेसबुक र अन्य विभिन्न सामाजिक सञ्जालमा प्राय: प्रयोगकर्ता नकारात्मक प्रतिक्रिया वा टिप्पणी दिने प्रवृत्ति हाबी रहेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको पाइन्छ।

कारण

सामाजिक सञ्जालमा आखिर किन नकारात्मक मनोवृत्ति देखिन्छ?

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका प्राध्यापक डाक्टर शिशिर सुब्बा सञ्चारका अधिकांश माध्यमले सकारात्मक खबरको तुलनामा नकारात्मक सामग्रीलाई प्रोत्साहन गर्ने हुँदा सर्वसाधारणले पनि त्यसैमा बढी विमर्श गर्ने बताउँछन्।

"मानिसले जे सुन्यो त्यही विषयमा कुरा गर्ने हो," सुब्बाले बीबीसी नेपाली सेवासँग भने, "र यो नेपालको मात्र हैन विश्वव्यापी रूपमै देखिएको समस्या हो।"

नेपालको हकमा भने राजनीतिक व्यवस्थामा रहेका व्यक्तिहरूले गल्ती नस्वीकार्ने हुँदा मानिसहरू थप "प्रतिक्रियावादी" हुँदै गएको उनको अनुभव छ।

तस्वीर कपीराइट Reuters

सही गलत जे भए पनि सरकारी स्तर वा जिम्मेवार व्यक्तित्वहरूले विधिको शासनको सम्मान गर्दै आफ्नो कार्य गर्ने हो भने त्यसैले जनमानसमा भएको निराशा केही हद सम्म कम हुने सुब्बाको विश्वास छ।

सोचाइको 'प्रतिविम्ब'

ज्ञवालीको ट्वीटमा प्रतिक्रिया जनाएकी समाजशास्त्री निर्मला ढकाल सामाजिक सञ्जालमा एउटा वर्गको एउटा उमेर समूहको व्यक्तिहरूको सोचाइ कस्तो छ भन्ने कुराको प्रतिविम्ब देखिने बताउँछिन्।

तस्वीर कपीराइट iStock

मुलुकमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता र सञ्चारमाध्यममा आउने खबरका कारण पनि यस्तो अवस्था सिर्जना भएकोमा उनको पनि सहमति छ।

"उच्चमाध्यमिक तहदेखि स्नातकोत्तर तहसम्म पढाउँदा दैनिक जसो विभिन्न उमेर समूहका विद्यार्थीहरूसँग कुराकानी हुन्छ। उनीहरूसँग छलफल गर्दा सकारात्मक प्रभाव देखिँदैन। चारैतिर नकारात्मक पूर्वाग्रह देखिन्छ," त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र क्याम्पसमा अध्यापन गर्ने ढकालले बीबीसी नेपाली सेवासँग भनिन्।

"यसको कारण भनेको हाम्रो समाजमा व्याप्त नकारात्मक प्रभाव नै हो। यसले मानिसलाई निराश बनाएको छ।"

सहरमा जीवनयापन गर्नेहरू र सानो परिवारमा हुर्किने मानिसहरूमा सन्तुलित रूपमा विकास हुने वातावरण नरहने हुँदा पनि नकारात्मक प्रभाव परेको हुन सक्ने उनको अनुमान छ।

सामाजिक सञ्जालबारे निश्चित सीमा नहुनेहुदाँ पनि नकारात्मक कुरा चाँडो फैलिने गरेको उनको बुझाइ छ।

त्यसो त सामाजिक सञ्जालमा सकारात्मक बहस हुँदै नहुने भने होइन। कुनै पनि किसिमको प्राकृतिक विपत्ति होस वा नेपाली खेलाडी वा टोलीको प्रदर्शन होस् सामाजिक सञ्जालमा त्यसबारे सकारात्मक विमर्श हुने गरेको पाइन्छ।

आपत् परेकालाई रगतको जोहो गर्नेदेखि लिएर केही वर्षअघि भारतले लगाएको आर्थिक नाकाबन्दीका बेला एकअर्कालाई आफ्नो निजी सवारीसाधनमा ओसारपसार गर्ने जस्ता सराहनीय र समाजमा सकारात्मक प्रभाव फैलाउने कार्य भएको जानकारहरूको बुझाइ छ।

तर त्यस्ता किसिमका घटना परिघटना सकिनासाथ फेरि तिनै मुद्दामा नकारात्मक टीकाटिप्पणी सुरु हुने गरेको देखिन्छ.

"कुरा घुमिफिरी फेरि राजनीतिमै जोडिन आउँछ," सुब्बाले थपे।

यो पनि पढ्नुहोस्

सम्बन्धित समाचार