भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई यौन दुराचारको आरोप

  • 21 एप्रिल 2019
भारत तस्वीर कपीराइट Reuters

भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन्।

पैँतीस वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्टोबरमा उनलाई दुई पटक यौन दुराचार गरेको आरोप लगाइएको छ।

उनले यौन उत्पीडन गरेको र त्यस्तो गर्न नमान्दा परिवारलाई विभिन्न किसिमले सताइएको दाबी गरेकी छन्।

एउटा वक्तव्यमा ६४ वर्षीय गोगोईले उनीमाथि लागेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै त्यसलाई "गलत र अपमानजनक" बताएका छन्।

उक्त आरोपलाई उनले "न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर खतरा"को रूपमा अर्थ्याउँदै "न्यायपालिकालाई अस्थिर गर्ने ठूलो षड्यन्त्र" भनेका छन्।

आरोप लगाउने महिला को हुन्?

आरोप लगाउने महिलाले एउटा उजुरीपत्र सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशहरूलाई पठाएकी छन्।

ती महिला विवाहित हुन्। भारतीय कानुनअनुसार उनको नाम सार्वजनिक गर्न मिल्दैन।

उनले आरोपपत्रमा गत अक्टोबर १० र ११ तारिखमा गोगोईको निवासमा यौन दुराचार भएको उल्लेख गरेकी छन्।

ती महिलाले आरोप लगाएकी छन्, "उनले मेरो कम्मर समाते र हातले मेरो शरीरभरि सुम्सुम्याए।"

गोगोईले नछाडेपछि आफूले "उनलाई धेकेलेर उनको कब्जाबाट छुटेको" ती महिलाको आरोप छ।

उनका अनुसार गोगोईले उक्त घटनाबारे नबताउनु र बताए "परिवारलाई धेरै दु:ख दिने" धम्की समेत दिएका थिए।

ती महिलाले आफूलाई तीन ठाँउमा सरुवा गरिएको र गत डिसेम्बरमा जागिरबाट हटाइएको आरोप लगाएकी छन्।

तस्वीर कपीराइट Reuters

उनले आफ्ना पति र भाइलाई पनि निलम्बन गरिएको बताएकी छन्।

गत मार्चमा हरियाणाको झज्जर सहरवासी एक जनाले ती महिलाले अदालतमा जागिर लगाइदिने आश्वासन दिएर घुसका रूपमा पैसा लिएको आरोप लगाएर उजुरी गरेका थिए।

उनले उक्त आरोपलाई अस्वीकार गर्दै र गत मार्चमा परिवारका सदस्यसहित प्रहरी चौकीमा उपस्थित हुँदा उनीहरूमाथि दुर्व्यवहार गरिएको बताएकी छन्।

उनले दिएको उजुरीमा भनिएको छ, "दुर्व्यवहारको उद्गम र उद्देश्यबारे नबोलुन्जेल दुर्व्यवहार, उत्पीडन र यातना रोकिने छनक देखिएन।"

गोगोई के भन्छन्?

उक्त प्रकरणमा पहिलो प्रतिक्रिया प्रधानन्यायाधीशका तर्फबाट सर्वोच्च अदालतका महासचिवद्वारा जारी वक्तव्यमार्फत् बाहिर आएको छ।

उक्त वक्तव्यमा भनिएको छ, "यो पूर्णत: गलत हो र अपमानजनक छ। यसलाई पूर्णरूपमा अस्वीकार गरिन्छ।"

उक्त वक्तव्यका अनुसार "कुनै पनि बेला ती महिलाको प्रधानन्यायाधीशसँग प्रत्यक्ष रूपमा कुराकानी समेत भएको" थिएन।

उक्त वक्तव्यमा ती महिलाविरुद्ध भ्रष्टाचारको आरोपमा लगाइएको मुद्दाको उल्लेख गर्दै "कानुनी कारबाहीबाट बच्न गरिएको एउटा दबावमूलक रणनीति"का रूपमा त्यसलाई अर्थ्याइएको छ।

त्यसमा ती कर्मचारीलाई "प्रक्रियानुसार" नै उनको "गलत आचरण"का लागि बर्खास्त गरिएको उल्लेख छ।

शनिवार सर्वोच्च अदालनको विशेष इजलाससमक्ष गोगोईले आफैँले पनि उक्त प्रकरणलाई सम्बोधन गरेका थिए।

उनले भने, "म यी आरोपहरूको जबाफ दिनका लागि एकदमै अपमानित हुन चाहन्नँ। मैले सर्वोच्च अदालतका सबै कर्मचारीहरूलाई आदरपूर्वक व्यवहार गरेको छु।"

उनले उक्त प्रकरणको पछाडि "न्यायालयलाई अस्थिर बनाउने ठूला शक्तिहरू रहेको" बताए।