इन्टरनेट सुरक्षा अध्ययन: अत्यधिक प्रयोग हुने पासवर्ड असुरक्षित

पासवर्ड

तस्बिर स्रोत, Getty Images

एउटा अध्ययनले लाखौँ व्यक्तिहरूले इन्टरनेटमा सजिलै अनुमान गर्न सकिने खालका पासवर्ड प्रयोग गर्ने गरेको देखाएको छ।

यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले गरेको एउटा विश्लेषणले ह्याक गरेर सार्वजनिक भएका पासवर्डहरूमा अत्यधिक प्रयोग गरिने पासवर्ड 123456 भएको देखाएको हो।

उक्त अध्ययनले मानिसहरूमा इन्टरनेट सुरक्षाको ज्ञानका कम भएका कारण मानिसहरूको संवेदनशील सूचनाहरू खतरामा रहेको देखाएको छ।

एनसीएससीले सुरक्षाका लागि सम्झन सहज तीन असम्बन्धित शब्दहरू जोडेर पासवर्ड राख्न सुझाएको छ।

संवेदनशील सूचना

ह्याक गरिएका खाताहरूको सार्वजनिक रूपमा उपलब्ध विवरणहरूको भएका पासवर्डहरू विश्लेषण गरी एनसीएससीले गरेको यो पहिलो अध्ययन हो।

त्यस्ता शब्द वा वाक्यांशहरूको सूचीमा '123456' पहिलो नम्बरमा आएको छ। त्यसलाई दुई करोड ३० लाख भन्दा बढीले पासवर्डका रूपमा प्रयोग गरेको पाइएको छ।

साइबर सुरक्षा

तस्बिर स्रोत, Getty Images

त्यस्तै दोस्रो नम्बरमा आउने '123456789' लाई पनि सहजै पत्ता लगाउन सकिन्छ।

धेरै प्रयोग गरिएका अन्य पासवर्डहरूमा "qwerty", "password" र "1111111" रहेका छन्।

प्रेमीयर लीग फुटबल समूहहरूको नाममा राखिएका पासवर्डमा लिभरपुल सबैभन्दा बढी प्रयोग भएको पाइएको छ। त्यस्तै दोस्रोमा चाहिँ चेल्सी रहेको देखिन्छ।

एनसीएससीका प्राविधिक निर्देशक डा. इयान लेभी धेरै चल्तीका शब्दहरू पासवर्डका रूपमा प्रयोग गर्नेहरूले आफैँले आफूलाई "ह्याक" हुने सम्भावनातर्फ धकेलिरहेका हुने बताउँछन्।

"उनीहरूको पहिलो नाम स्थानीय फुटबल टीम वा आफ्नो मन परेको साङ्गीतिक समूहजस्ता सहजै अनुमान गर्न सकिने पासवर्ड राखेर कसैले पनि आफ्नो संवेदनशील सूचना सुरक्षित गर्न सक्दैनन्," उनी भन्छन्।

अनुमान गर्न कठिन

एनसीएससीले मानिसहरूसँग उनीहरूको सुरक्षा व्यवहार तथा डरबारे प्रश्नोत्तर पनि गरेको थियो।

पासवर्ड

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन,

फुटबल क्लबका नाममा राखिएका पासवर्डमा लिभरपुल सबैभन्दा अगाडि देखिएको छ भने दोस्रो रोजाइमा चेल्सी छ

त्यसक्रममा ४२ प्रतिशतले आफ्नो पैसा हराउने वा अन्लाइन ठगीको शिकार हुनसक्ने चिन्ता व्यक्त गरेका थिए भने १५ प्रतिशतले मात्र आफूहरूले अपनाएका सुरक्षा विधिहरूमा आफू ढुक्क रहेको प्रतिक्रिया दिए।

यसरी प्रश्न गरिएकामध्ये आधाभन्दा कमले मात्र फरकफरक र अनुमान गर्न कठिन हुने खालका पासवर्ड आफ्नो इमेलमा प्रयोग गरेको बताएका थिए।

ह्याक गरिएका खाताहरूको विवरण सङ्कलन गर्दै आएका एक साइबर सुरक्षाविज्ञ ट्रोए हन्ट "सुरक्षित पासवर्ड राख्नु" नै सबैभन्दा सुरक्षित उपाय भएको बताउँछन्।

Presentational grey line

यो पनि पढ्नुहोस्