यूक्रेनमा हास्य कलाकार जेलेन्स्की राष्ट्रपति निर्वाचित

  • 22 एप्रिल 2019
वोलोदीमीर जेलेन्स्की तस्वीर कपीराइट Reuters

युक्रेनको राष्ट्रपतीय निर्वाचनमा हास्य कलाकार (कमेडियन) वोलोदीमीर जेलेन्स्की भारी मतले विजयी भएका छन्।

मतगणना अन्तिमतिर पुग्दा उनले ७३ प्रतिशत मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोले २४ प्रतिशत मात्रै मत पाएका छन्।

"म तपाईँहरूलाई निराश बनाउने छैन," जेलेन्स्कीले विजयोत्सवमा सहभागी समर्थकहरूलाई भनेका छन्।

अग्रस्थान

तीन हप्ता पहिले भएको पहिलो चरणको मतदानमा उनी सबैभन्दा अग्रस्थानमा थिए।

जेलेन्स्कीले यूक्रेनका राष्ट्रपति पोरोशेन्कोलाई चुनौती दिएका थिए।

आफ्नो हार स्वीकार गरिसकेका पोरोशेन्कोले राजधानी कियभमा समर्थकहरूलाई सम्बोधन गर्दै राजनीति भने नछोड्ने बताएका छन्।

जेलेन्स्कीले भने: "म आधिकारिक रूपमा राष्ट्रपति भइसकेको छैन। तर यूक्रेनको नागरिकको हैसियतले म सोभियत सङ्घपछि स्थापना भएका सबै राष्ट्रलाई भन्न सक्छु - हामीलाई हेर। सबै कुरा सम्भव छ।"

पाँच वर्ष पदमा रहने

मत सर्वेक्षणले गरेको सङ्केत सही रहेमा उनी पाँच वर्षका लागि राष्ट्रपति निर्वाचित हुनेछन्।

यूक्रेनका राष्ट्रपतिको सुरक्षा, रक्षा र वैदेशिक मामिलाजस्ता विषयमा निकै ठूलो प्रभाव रहन्छ।

सन् २०१४ देखि राष्ट्रपति रहेका पोरोशेन्कोले करिब २५ प्रतिशत मत प्राप्त गर्ने सम्भावना देखिन्छ।

तस्वीर कपीराइट Getty Images

यूक्रेनमा भएको प्रदर्शनपछि रुसलाई समर्थन गर्ने राष्ट्रपतिले पद छोड्नु परेको थियो। अर्बपति पोरोशेन्को त्यसपछि राष्ट्रपति चुनिएका थिए।

पोरोशेन्कोको राजनीति कता?

"चुनावको नतिजाले हामीलाई अनिश्चितता र अप्रत्याशित घटनातर्फ लानेछ,"चुनावपछि उनले भने।

"मैले राष्ट्रपति पद त्याग गरे पनि म द्दढताका साथ भन्न चाहन्छु कि - मैले राजनीति छोड्ने छैन," उनले भने।

४१ वर्षीय जेलेन्स्की हास्य नाटक 'सर्वेन्ट अफ द पीपल' का कारण चर्चित छन्। उक्त नाटकमा उनले भूमिका निर्वाह गरेको पात्र झुक्किएर यूक्रेनका राष्ट्रपति बन्न पुग्छन्।

उक्त नाटककै नाममा रहेको राजनीतिक दलबाट उनी चुनाव लडेका थिए।

राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्सकीको चुनावी अभियान ठोस राजनीतिक मुद्दाभन्दा पनि विपक्षी दलका उम्मेदवारमाथि उनको मतभेदमा केन्द्रित थियो।

३० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै उनले प्रथम चरणको चुनाव जितेका थिए। दोस्रो स्थानमा रहेका पोरोशेन्कोले १५.९५ मत प्राप्त गरेका थिए।

सम्बन्धित सामग्री