श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकायमाथि छानबिनको माग

तस्बिर स्रोत, Reuters
आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ।
प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन।
आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौँ विदेशी मारिएको बताइएको छ।
सूरक्षा निकायमाथि कारबाहीको माग
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्वसूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।
टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए।
तर उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्।
तस्बिर स्रोत, AFP
उक्त आक्रमणमा ३५ जना विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
घटनापछि श्रीलङ्कामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ।
श्रीलङ्कामा सरकारले लगाएको कर्फ्यु सोमवार बिहान ६ बजेबाट हटाइएको छ।
यसअघि श्रीलङ्काका एकजना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिनअगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटनाबारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए।