प्रचण्ड र ओली भन्छन्, पार्टी एकताको मूल काम सिद्धियो

  • 22 एप्रिल 2019
नेकपा तस्वीर कपीराइट RSS

महिनौँसम्मको रस्साकस्सी र अन्योलको अन्त्य गर्दै माओवादी केन्द्र र एमाले मिलेर बनेको सत्ताधारी नेकपाको एकता प्रक्रियामा महत्त्वपूर्ण फड्को मारिएको दुवैजना अध्यक्ष प्रधानमन्त्री केपी ओली तथा पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसको सन्दर्भ पारेर काठमाण्डूको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई नेताले पार्टीको जिल्ला नेतृत्वसम्बन्धी विषय टुङ्गो लगाइएको बताए।

"जिल्ला नेतृत्वसम्बन्धी मुख्य गाँठो फुकेको छ," प्रचण्डले भने। "हाम्रो मिसन कम्प्लिट भएको छ (मुख्य अभियान सम्पन्न भएको छ)।"

कसरी भयो भागवण्डा? के माधवकुमार नेपाल असन्तुष्ट न्?

आइतवार साँझ नै टुङ्ग्याइएको भनिएको जिल्ला नेतृत्वको भागवण्डा पनि सोमवार नै सार्वजनिक गरियो।

७७ वटै जिल्लामा नेतृत्व तय गरिएको छ।

बताइएअनुसार एकता अगाडिसम्म जिल्लाको नेतृत्व गर्दै आएका दुबै पार्टीका अध्यक्षहरू मध्येबाट एउटालाई अध्यक्ष र अर्कोलाई सचिवको जिम्मेवारी तोकिएको छ।

जसअनुसार एमालेले अध्यक्ष पाएको जिल्लामा माओवादी केन्द्रको पूर्व अध्यक्ष सचिव भएका छन् भने माओवादी केन्द्रले अध्यक्ष पाएको जिल्लामा एमालेको पूर्वअध्यक्ष सचिव भएका छन्।

तर केन्द्रले तल्लो तहको एकता घोषणा नगरिसक्दै केही जिल्लाहरूमा जिल्लास्तरका एकता घोषणा गरिएका थिए। तिनका हकमा के हुने भन्ने कतिपयको प्रश्न छ।

कार्यक्रमका बेला बीचमै वरिष्ठ नेता माधवकुमार नेपाल उठेर हिँडेपछि कतिपयले कतै उनले उक्त भागवण्डाप्रति असन्तुष्टि दर्शाएका त होइनन् भन्ने प्रश्न उठाएका छन्।

उनी स्वयम्‌ले यसबारे हालसम्म केही बताएका छैनन्।

ओलीले गरे प्रचण्डको प्रशंसा

कार्यकर्ता तथा नेताहरूले खचाखच कार्यक्रमस्थलको मञ्चमा दुईजना अध्यक्षका अतिरिक्त सचिवालय सदस्यहरु झलनाथ खनाल, रामबहादुर थापा, बामदेव गौतम, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल पनि उपस्थित थिए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकीकरणका बाँकी प्रक्रिया केही दिनमै सक्ने बताए।

उनले खासगरि प्रचण्डको निकै प्रशंसा गरेका छन्।

"विशेषगरी कमरेड प्रचण्डलाई धन्यवाद भन्न चाहन्छु। यस एकताको प्रयासलाई त्यही गम्भीरताका साथ नलिएको भए वा फराकिलोपन र लचिलोपनका साथ ठूलो छलाङको आँट नगर्नुभएको भए यो एकता हुँदैनथ्यो।"