भारत निर्वाचन: यसपालि नरेन्द्र मोदीका नयाँ अस्त्र काम लाग्लान्?

  • 23 एप्रिल 2019
मोदी तस्वीर कपीराइट Getty Images

तेस्रो चरणको मतदानको अघिल्लो दिन सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कंग्रेसका नेताहरू चुनावी दौडाहामा व्यस्त रहे।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र गुजरातका विभिन्न चुनावी सभालाई सम्बोधन गरे भने राहुल गान्धी नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका चुनावी र्‍यालीमा सहभागी बने।

उत्तर प्रदेशबाट भारतको तल्लो सदन लोकसभामा सबैभन्दा बढी सांसदको प्रतिनिधित्व हुन्छ।

विभिन्न राज्यमा एक पटकभन्दा धेरै चरणमा मतदान भइरहेको छ।

तर धेरैको चासो प्रधानमन्त्री मोदीतर्फ केन्द्रित छ।

मङ्गलवार १४ राज्य तथा केन्द्रशासित स्थानमा गरेर कुल ११५ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ।

जादु कति बाँकी?

यसअघि दुई चरणमा मतदान भएका अधिकांश क्षेत्रमा क्षेत्रीय दलको उपस्थिति पनि बलियो रहेको बताइन्छ।

मङ्गलवार मतदान हुन लागेका मध्य प्रदेश, राजस्थान, गुजरात, झारखण्ड र हरियाणा जस्ता प्रदेशमा भाजपा अघिल्लो चुनावमा बलियो थियो। जहाँ कंग्रेससँग उसको टक्कर हुने ठानिएको छ।

तस्वीर कपीराइट Reuters
Image caption मोदीको प्रमुख प्रतिस्पर्धीको रूपमा कंग्रेसका राहुल गान्धी छन्।

पाँच वर्षअघि धेरैलाई आश्चर्यमा पार्नेगरी लामो समयपछि बहुमतको सरकार बनाउने हैसियत सिद्ध गरेको भाजपामा उसबेलाको 'जादु' बाँकी छ?

कैयौँले त्यसप्रति आशङ्का गरिरहेका बेला पाँच वर्षअघि रहेको आफ्नो 'लोकप्रियता' ढल्नबाट जोगाउने चुनौतीपूर्ण अवसर पनि हो नरेन्द्र मोदीका लागि यो निर्वाचन।

सात चरणमा हुने निर्वाचन गत एप्रिल ११ मा सुरु भएको थियो। अन्तिम चरणको मतदान मे १९ मा भएपछि मे २३ देखि मतगणना हुनेछ।

मोदीले दिल्लीमा देशको सत्तामाथि अधिकार जमाउनुअघि उनको व्यक्तित्व गुजरातको मुख्यमन्त्रीको रूपमा प्रान्तीय राजनीतिमा सीमित थियो।

त्यहाँबाट फड्को हानेर उनी सीधै राष्ट्रिय राजनीतिको शीर्ष स्थानमा पुगेका हुन्।

धेरैलाई उनको नेतृत्वको गुजरातको 'विकासको कथा' बाँकी भारतको निम्ति 'लोभलाग्दो' सपनाको रूपमा प्रचारित थियो।

विशुद्ध धार्मिक मुद्दाको भरिया भनेर चित्रित भाजपाको चुनावी रथ हाँक्ने अवसर पाएपछि मोदीले विकासको सपनालाई मुद्दा बनाए।

पुराना मोदी

गत निर्वाचनमा तुलनात्मक रूपमा कतिपय प्रदेशभन्दा पछि परेका र बेथितिले गाँजेको भनिने तर संसद्‍मा प्रतिनिधित्व धेरै रहेका उत्तर प्रदेश र बिहारसम्म टाढाको प्रदेश गुजरातमा चलेको "मोदी-मन्त्र"को प्रभाव देखियो।

भारतमा एउटा वृत्तले अधिकांश मुस्लिम मारिएको गुजरातको धार्मिक दङ्गालाई मोदीको जीवनको कालो धब्बाको रूपमा हेर्छ।

तस्वीर कपीराइट Getty Images

तर सयौँ मानिस मारिएको उक्त दङ्गालाई हिन्दू तीर्थालु चढेको रेलमा गरिएको आगजनीको 'उत्तर' ठान्ने कट्टरपन्थी सोच पनि एकथरीको छ।

अयोध्यामा राममन्दिर निर्माणको उत्कट अभिलाषा अझै जीवित रहेको देखिने उत्तर प्रदेश र बिहारका कट्टर बिचार राख्नेले त्यो दङ्गा रोक्न पहल नगरेको आरोप लागेका मोदीलाई नायक ठान्नु अस्वाभाविक पनि भएन।

मोदी विकासका नायक र 'हिन्दूत्वका गहना' दुवै बने।

तर मोदी पाँच वर्षपछि नयाँ रहेनन्, पाँचवर्षे परीक्षणमा परिसकेका पुराना नेता भइसकेका छन्।

नयाँ हतियार

उनले नयाँ चुनावी हतियार प्रयोग गरेको देखिएको छ।

उनले पाँच वर्षअघि पुरातनपन्थी नाराभन्दा भिन्न लाग्ने "कंग्रेस मुक्त भारत", "मेड इन इन्डिया", "डिजिटल इन्डिया", "मेक इन इन्डिया" जस्ता नारा अघि सारेका थिए। ती नाराले जनजिब्रो समातेको पनि देखियो।

तस्वीर कपीराइट Getty Images
Image caption यो निर्वाचनमा पाकिस्तान पनि प्रमुख मुद्दा बनेको बताइन्छ

तर यसअघि भएको प्रादेशिक निर्वाचनमा उनको दलले कैयौँ स्थानमा अनपेक्षित परिणाम भोग्नुपरेको थियो।

त्यसलाई प्रारम्भिक परीक्षणमा उनीप्रतिको आकर्षण वा विश्वास घट्दै गएको रूपमा समेत लिइयो।

अहिलेको निर्वाचनमा उनले "मोदी छन् र सम्भव छ" भन्ने नारा लगाउँदै आफूले अघि सारेका कामहरूको प्रतिरक्षा गरिरहेका छन्।

त्योभन्दा बढी प्राथमिकताका साथ उनले सेना, पाकिस्तान र हिन्दूत्वलाई चुनावी अस्त्रको रूपमा अघि सारेको पाइन्छ।

आफ्ना निर्वाचन सभामा उनी पाकिस्तानलाई चुनौती दिँदै भन्छन्, "पाकिस्तानसँग रहेको परमाणुअस्त्रसँग डराउँदैनौँ। हाम्रा परमाणुअस्त्र हामीले दीपावलीको निम्ति (तिहारमा पड्काउन) राखेका हैनौँ।"

हिजो विकास 'नायक' थियो, तर आज सभाहरूमा उनी दोहर्‍याइरहन्छन् - मैले पाकिस्तानलाई भनेको थिएँ हाम्रा सिपाहीलाई अलिकति कोतरियो भने पनि बबन्डर हुन्छ।

दुई महिनाअघि कश्मीरको पुलवामामा ४० जना सुरक्षाकर्मी मारिनेगरी भएको आत्मघाती आक्रमणपछि भारतले आफ्नो सैनिक विमानले पाकिस्तानस्थित 'आतङ्कवादीको शिविर' नष्ट गरेको बताएको थियो।

'घरभित्र पसेर कुटेको'

भारतीय सैन्य विमानले आफ्नो देशको हवाई सीमा अतिक्रमण गरेपछि उक्त विमान खसालेर चालकलाई नियन्त्रणमा लिएको पाकिस्तानको भनाइ थियो।

पछि पाकिस्तानले भारतीय वायुसेनाको उक्त विमानका चालकलाई भारतलाई बुझाएको थियो।

उक्त प्रकरण मोदीको एउटा मुख्य चुनावी मुद्दा बन्न पुगेको छ।

उनले पाकिस्तानलाई उसकै "घरभित्र पसेर कुटेको" र आफ्नो धम्कीपछि आफ्ना सेनालाई पाकिस्तानले फिर्ता गरेको चित्रित गर्ने गरेका छन्।

सेनाको 'सहादत' वा 'साहस' दुवैलाई चुनावी प्रचारको पुँजी बनाउन थालेपछि केही भूतपूर्व उच्च सैनिक अधिकृतले राजनीतिकर्मीलाई सेनालाई चुनावी मुद्दा बनाउन नदिन राष्ट्रपतिलाई लिखित आग्रह नै गरे।

निर्वाचन आयोगमा उजुरी पनि पर्‍यो।

'राष्ट्रवाद' र 'देशभक्ति' दर्शाउने ती दुई विषयसँगै उनी अघिल्लो संसदीय निर्वाचनभन्दा 'हिन्दू राष्ट्रवाद'को मुद्दामा पनि थप मुखर भएको देखिन्छन्।

घोषणा पत्रमै विशाल मन्दिर बनाउने प्रण सार्वजनिक गरेर अयोध्यामा राममन्दिरको सपना जागृत गराउन खोजेको भाजपाले आफूले एक संसदीय क्षेत्र मात्र जितेको जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिएको संविधानको प्रावधान हटाउने घोषणा पनि गरेको छ।

तस्वीर कपीराइट .

त्यस मामिलामा मोदी पार्टीको पुरानो छविको सहारा लिन पुगेको ठानिएको छ।

कैयौँले त्यसभित्र हिन्दू मतदातालाई धार्मिक भावनाले तरङ्गित बनाउने र विश्व हिन्दू परिषद् तथा राष्ट्रिय स्वयम् सेवक सङ्घ जस्ता कट्टर संस्थाको साथ र विश्वास पनि जोगाइरहने उद्देश्य लुकेको मान्छन्।

अन्त्यसम्म अन्योल

धार्मिक दङ्गा भएको गुजरात राज्यको अहमदाबादकी शैली दिल्लीमा जागिर गर्छिन्।

मोदी सरकार र भाजपाको कामबाट असन्तुष्ट उनले चुनावबारे आमाबुवासँग सोमवार कुराकानी गरिन्।

तर उनको इच्छाविपरीत उनका आमाबुवाले चित्त प्रसन्न नहुँदानहुँदै पनि मोदीकै दललाई भोट दिने खबर सुनाएछन्।

यसरी निर्वाचनले उनको घरभित्र मत विभाजन गरिदिएको छ। छोरीको शुभेच्छा एकातिर र आमाबुवाको अर्कैतिर छ।

यसको प्रभाव मतपेटिकामा कस्तो पर्ला भन्नेबारे अझै धेरैमा अन्योल रहेको देखिन्छ। कैयौँले त धेरै लामो समयको अन्तरालपछि अड्कल गर्न निकै गाह्रो निर्वान भइरहेको बताउँछन्।

निर्वाचनलाई प्रभावित तुल्याउने कुनै अनपेक्षित वा नाटकीय घटना भएन भने अन्तिम दिनसम्म यो अन्योल रहिरहने उनीहरूको विश्लेषण पाइन्छ।

प्रतिरक्षात्मक स्थितिमा देखिएका मोदी पुलवामा घटनापछि आक्रामक बनेको ठान्ने एकथरी विश्लेषकहरूका अनुसार बहुमतभन्दा निकै कममा भाजपालाई खुम्च्याएर मोदीलाई विस्थापित गर्न हरेक विकल्प खुला राखेर विपक्षी दलहरू निर्वाचनमा होमिएका छन्।

सात चरणमा हुने निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन्। निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुनिनेछन्।

लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ।

सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए। परिणाम मोदीको दलको पक्षमा गयो

तर यसपालि चुनावी पासा कसको पक्षमा पल्टिनेको हो त्यो अन्योलको अन्त्य हुन अझै एक महिना लाग्नेछ।