श्रीलङ्का आक्रमण: राष्ट्रिय शोकका माझ विस्फोटमा मारिएकाहरूको अन्तिम संस्कार

श्रीलङ्का आक्रमण

तस्बिर स्रोत, Reuters

श्रीलङ्कामा राष्ट्रिय शोककामाझ आइतवारको बम हमलामा ज्यान गुमाएकाहरूको सामुहिक रुपमा अन्तिम संस्कार गरिएको छ।

विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा मारिनेको संख्या ३२१ पुगेको र झण्डै पाँचसय जना घाइते भएका प्रहरीले जनाएको छ।

थप हमलाहरू हुनबाट रोक्न घोषणा गरिएको आपतकालिन अवस्था जारी नै रहेको छ।

मंगलवार इस्लामिक स्टेट समूहले उस्को समाचार निकाय मार्फत उक्त आक्रमणको जिम्मेवारी दावी गरेको छ।

श्रीलङ्कास्थित बीबीसी सम्वाददाता भन्छन् आइएसको दावीलाई सावधानीपूर्वक लिनु पर्छ, किनकि विगतमा उक्त समूहले ठूला हमलाहरू भएलगत्तै जिम्मेवारी दावी गर्ने गरेको छ।

श्रीलङ्काली सरकारले ती विस्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह न्याशनल तौहिद जमातलाई दोषी ठहर्याएको छ।

उक्त हमलाको सम्बन्धमा प्रहरीले हालसम्म ४० जना सन्दिग्धहरूलाई गिरफ्तार गरेको छ।

एकजना प्रवक्ताले गिरफ्तारीमा परेकाहरूमा एकजना सिरियाली नागरिक पनि छन् जस्लाई "स्थानीय सन्दिग्धहरूलाई केरकार गरेपछि" पक्राउ गरिएको थियो।

हताहत भएकामध्ये कम्तीमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ।

किन लगाइयो सङ्कटकाल?

आइतवारका घटनाहरूपछि देशभरि राति कर्फ्यू लगाइएको थियो।

नेगम्बोमा अन्तिम संस्कार गरिँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

नेगम्बोमा अन्तिम संस्कार गरिँदै

सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा राखिएको विस्फोटक पदार्थ फेला पारेका थिए।

त्यसपछि थप आक्रमण नहोस् भनेर सरकारले सङ्कटकाल लगाउने निर्णय गर्‍यो। सोमवार मध्यरातदेखि सङ्कटकाल लागु भएपछि सुरक्षाकर्मीहरूले विशेष अधिकार पाएका छन्।

सङ्कटकालको अवधिमा सुरक्षा निकायका अधिकारीहरूले अदालतको आदेशबिनै शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन गर्न सक्नेछन्।

श्रीलङ्का आक्रमण

बीबीसी संवाददाता अन्वरासन इथिराजन अहिले श्रीलङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको बताउँदै सर्वसाधारणमा विद्यमान त्रास हटाउनु अबको प्रमुख चुनौती रहेको बताउँछन्।

उनी भन्छन्, "मानिसहरू डराइरहेका छन्। सोमवार प्रहरीले थप विस्फोटक पदार्थ फेला पारेको थियो। उक्त विस्फोटक पदार्थ निष्क्रिय बनाउँदै गर्दा एउटा बम पड्किएको थियो। सुरक्षा अधिकारीहरूको अबको चुनौती भनेको सर्वसाधारणको आत्मबल फर्काउने हो।"

श्रीलङ्का आक्रमण

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन,

थप आक्रमण हुन नदिन र शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न सङ्कटकाल घोषणा गरिएको छ

किन उत्पन्न भयो विवाद?

देश शोकमग्न हुँदा श्रीलङ्काको उच्च नेतृत्वमा भने केही विवाद देखिएको छ।

सोमवार श्रीलङ्कामा आक्रमण हुन सक्ने चेतावनी सुरक्षानिकायलाई पहिला नै प्राप्त भएको विवरण सार्वजनिक भयो।

त्यसपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई त्यसको जानकारी नदिइएको मन्त्रीहरूले बताए।

श्रीलङ्का सरकारका एक प्रवक्ताका अनुसार सरकारभित्र बढ्दो विवादका कारण गुप्तचर सूचनाबारे जानकारी दिइने बैठकमा लामो समयदेखि प्रधानमन्त्रीलाई नै सहभागी गराइएको छैन।

गिर्जाघर

तस्बिर स्रोत, EPA

गत वर्ष अक्टोबरमा राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमसिङ्घलाई पदमुक्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलङ्कामा संवैधानिक सङ्कट उत्पन्न भएको थियो।

तर सर्वोच्च अदालतले विक्रमसिङ्घलाई पुनर्स्थापित गरिदियो।

त्यसयता राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी बैठकहरूमा सहभागी गराउने गरेका छैनन्।

कस्तो पूर्वसूचना थियो?

सरकारका प्रवक्ता राजित सेनारत्नेका अनुसार गुप्तचर निकायहरूले आइतवारको आक्रमण गराउने जिहादी समूहबारे एप्रिल ४ देखि नै चेतावनी दिँदै आएका थिए।

त्यसमा आधारित भएर रक्षा मन्त्रालयले प्रहरी प्रमुखलाई जानकारी गराएको थियो।

उनका अनुसार विदेशी गुप्तचर निकायले न्याश्नल तौहिद जमात नामक अतिवादी समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

अमेरिकी सञ्चारमाध्यमहरूले श्रीलङ्काका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र भारतले सम्भावित घटनाबारे चेतावनी दिएको उल्लेख गरेका छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्