भूकम्पको चार वर्ष: 'आधा काम सकियो' तर कहिले सकिएला नेपाल पुनर्निर्माण?

  • 23 एप्रिल 2019
पुनर्निर्माणमा महिला

विनाशकारी भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा समग्र पुनर्निर्माणको काम लगभग आधा सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन्।

उनका अनुसार प्राचीन स्मारक पुनर्निर्माणमा कामले धेरै गति लिन नसकेको भए पनि समग्र काम भने ५० प्रतिशत पूरा भएको छ।

विसं २०७२ मा गोरखाको बारपाक र दोलखा केन्द्रविन्दु भएका भूकम्पपछि भत्किएका निजी आवास पुनर्निर्माणको काम अहिलेसम्म ८० प्रतिशतको हाराहारीमा सकिएको उनको भनाइ छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका दुई भूतपूर्व प्रमुख कार्यकारी अधिकृतहरूले निजी आवास पुनर्निर्माणको काम सन्तोषजनक भएपनि तिनलाई अझै फरक ढङ्गले र अझै तीव्र गतिमा पूरा गर्ने ठाउँहरू रहेको टिप्पणी गरेका छन्।

प्राधिकरणमा उथपुथल

भूकम्पले विनाश निम्त्याए लगत्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्ने योजना सार्वजनिक भए पनि त्यसले मूर्तरूप लिन निकै समय लाग्यो।

मूर्त रूप पाएपछि पनि प्राधिकरणले एकाग्र भएर काम गर्न पाएन। सरकार परिवर्तन हुँदा प्राधिकरणको नेतृत्व पनि फेरियो र त्यसका काममा प्रभाव परिरह्यो।

तस्वीर कपीराइट NRA

भूकम्पको आठ महिनापछि २०७२ पुसमा गठन भएको प्राधिकरणले विभिन्न कानुनी अडचनको पनि सामना गर्‍यो।

कानुनी बाधा समाधान भएर प्राधिकरणले काम थालेको तीन वर्षको अवधिमा तीन प्रमुख कार्यकारीहरूले पाँच पटक पालो फेरिसकेका छन्।

पहिलो गोविन्द पोखरेल आए। त्यसपछि सुशील ज्ञवाली ल्याइए। फेरि पोखरेल नै ल्याइए। त्यसपछि युवराज भुसालको नियुक्ति भयो।

अहिले फेरि ज्ञवालीले नै प्राधिकरणको नेतृत्व सम्हालेर पुनर्निर्माणका कामहरू अघि बढाइरहेका छन्।

सुशील ज्ञवाली भन्छन्, "राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम थालेयता पछिल्ला वर्षमा पुनर्निर्माणका कामले गति लिएका छन्।"

उनको भनाइमा पुनर्निर्माणले संविधान निर्माण, भारतसँगको सीमानाका बन्द, तीन तहको चुनाव र अहिले सङ्घीयता कार्यान्वयनको चरणमा आइपुग्दा सन्तोषजनक गति लिइसकेको छ।

उनी भन्छन्, "हामीले (सन् २००८ को) चीनको सिचुवान भूकम्पपछिको जस्तो द्रुत पुनर्निर्माण गर्न सकेनौँ। तर हामीले (सन् २००१ को) भारतको गुजरात र (सन् २००५ को) पाकिस्तानको मुजफराबाद भूकम्पपछिको पुनर्निर्माणको गतिलाई भेट्टाएका छौँ।"

उनको भनाइमा निजी आवास पुनर्निर्माणको कामसँगै शैक्षिक संस्था, सरकारी आवास, स्वास्थ्य संस्थाका कामहरू पनि "द्रुत गतिमा अघि बढिरहेका छन्।"

भूतपूर्व प्रमुख कार्यकारी अधिकृतहरूले के फरक पार्थे

प्राधिकरणको जन्म भएलगत्तै नेतृत्व सम्हाल्ने अवसर पाएका डाक्टर गोविन्द पोखरेलका विचारमा पछिल्लो समय भूकम्पप्रभावित गाउँ तथा नगरहरूमा पुनर्निर्माणका काम सन्तोषजनक ढङ्गले अघि बढिरहेका छन्।

उनी पुनर्निर्माणको बाटोमा नेपालले भोग्नु परेका बाधाअड्चनबारे जानकार छन्।

तथापि उनका विचारमा भूकम्पले क्षति पुर्‍याएका नेपालका गाउँबस्तीलाई अझै व्यवस्थित र सुन्दर ढङ्गले पुनर्निर्माण गर्ने अवसर भने चुकेको छ।

उनले बीबीसीसँग भने, "घरहरू परम्परागत ढङ्गमै निर्माण गर्दै अझै सुन्दर नेपाली शैलीका घरहरू तथा बस्तीहरू निर्माण गर्न सकिने अवसर हामीसँग थियो। तर विविध कारणले हामीले त्यसो गर्न सकेनौँ।"

Image caption सिन्धुपाल्चोकको गिरानचौरस्थित एकीकृत बस्तीका महिलाहरू। यो बस्ती धुर्मुस सुन्तली फाउन्डेशनको सक्रियतामा बनेको हो

फलस्वरूपमा गोरखादेखि नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काठमाण्डू उपत्यका, सिन्धुपाल्चोक दोलखा सिन्धुलीजस्ता भूकम्पबाट अतिप्रभावित जिल्लाहरूमा आधुनिक शैलीका सिमेन्ट, कन्क्रिट र फलामका सामग्री प्रयोग गरिएका निजी आवासहरू निर्माण भएका छन्।

निजी आवास पुनर्निर्माणको क्रममा त्यसरी मध्य नेपालका पहाडदेखि समथर भूभागसम्ममा गाउँ गउँमा समेत कन्क्रिटका संरचनाहरू बनेकोप्रति कैयौँ संस्कृतिविद् तथा वातावरणविद्हरूले चिन्ता व्यक्त गरिरहेका छन्।

पोखरेलले जम्माजम्मी नौ महिना प्राधिकरणको नेतृत्व सम्हाले।

उनीपछि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएका युवराज भुसाल पनि नौ महिना मात्रै नेतृत्वमा रहे।

उनी पनि अहिलेको पुनर्निर्माणको गतिप्रति असन्तुष्ट छैनन्।

तर उनले बीबीसीसँग भने, "म कर्मचारी पृष्ठभूमिबाट आएको हुनाले मैलै अर्थ मन्त्रालय र अन्य निकायसँग अझै राम्रो समन्वय गरेर निजी आवास पुनर्निर्माणको काम अझै छिटो सिध्याउँथे। अहिलेसम्म म त्यो काम सक्थेँ होला।

कहिले सकिएला पुनर्निर्माणको काम

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आफ्ना काम सिध्याउन पाँच वर्षको समय दिइएको छ। द्वीपक्षीय देखि बहुपक्षीय दातृ निकायहरूको आर्थिक सहयोग तथा अनुदान जुटाएर पुनर्निर्माणको काम अघि बढिरहेको छ।

सुशील ज्ञवालीको भनाइमा पुनर्निर्माणका सबै काम सक्नका लागि नौ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च लाग्ने अनुमान छ।

उनले भने, "नेपाली सरकारले केही सहयोग गरिरहेको छ भने अन्य सहयोग विभिन्न मित्रराष्ट्रहरू तथा बहुराष्ट्रिय दातृनिकायबाट आइरहेको छ।"

"अझै पनि चार अर्ब डलरभन्दा बढीको अभाव छ।"

ठाउँ ठाउँमा पीडितहरूले आवास निर्माणको लागि सहयोग नपाएको गुनासो रोकिएको छैन। सबै ठाउँमा सुन्दर नेपाली परम्परागत ढाँचाका सुन्दर एकीकृत बस्ती निर्माण हुन सकेका छैनन्। तैपनि जसोतसो बलिया देखिने घर तथा बस्ती उठ्ने क्रम तीव्र भएकोमा धेरैले सन्तोष व्यक्त गरिरहका छन्।

ज्ञवाली भन्छन्, "अबको दुई वर्षभित्र (अर्थात् तोकिएको अवधिभित्रै) हामीले पुनर्निर्माणका सबै प्रमुख काम सक्नेछौँ।"

प्राचीन स्मारक कहिले बन्लान्

प्रश्न उठ्छ अहिले ढल्नै लागेको भनिएको नुवाकोटको साततले दरबार जस्ता स्मारकहरूको पुनर्निर्माणको काम कहिले सकिएला?

प्राधिकरणका अधिकारीहरूका अनुसार त्यो दरबारको पुनर्निर्माणको काम चिनियाँ सहयोगमा अघि बढ्दैछ।

वर्षामा त्यसलाई बचाएर सम्भवत: शरद ऋतुमा त्यसको काम अघि बढाउने योजना छ।

तर ज्ञवाली भन्छन्, "पुरातात्त्विक महत्त्वका स्मारकहरूको हकमा भने अलि बढी नै समय पनि लाग्न सक्छ। केहीको पुनर्निर्माण गर्न त अझै वर्षौँ लाग्न सक्छ।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
फेरि बन्दैछ वत्सलाको मन्दिर

सम्बन्धित समाचार