महिला सुरक्षागार्डः पुरुषभन्दा कम सक्षम छैनन्

  • 24 एप्रिल 2019
महिला

विगतमा प्राय: पुरुषहरूले गर्ने सुरक्षागार्डको काममा केही समययता महिलाहरूको पनि आकर्षण बढ्दै गएको देखिन्छ।

महिला पनि सुरक्षागार्डका रूपमा उत्तिकै सक्षम छन् भन्ने कुराको उदाहरण अहिले सुरक्षागार्डको भूमिका निर्वाह गरिरहेका महिलाले देखाएका छन्।

पहिला सुरक्षा निकायमा काम नगरेकाहरू पनि तालिम लिएर सुरक्षागार्डका रूपमा काम गरिरहेका छन्।

कतिपय स्थानमा महिला सुरक्षागार्डकै माग आउन थालेको सुरक्षागार्ड कम्पनीका सञ्चालकहरू बताउँछन्।

बढ्दो माग

झापा जिल्लाको अर्जुनधारा निवासी लक्ष्मी गिरीले विर्तामोडको हनुमान सेन्ट्रल शपिङ हाउसअगाडि सुरक्षागार्डका रूपमा काम गरेको झन्डै पाँच वर्ष भयो।

उनी दिनमा आठ घण्टा काम गर्छिन्। आफूले काम थाल्दा महिलाहरूमा सुरक्षागार्ड बन्ने खासै चासो नभएको उनी बताउँछिन्।

Image caption लक्ष्मी गिरी

अहिले सुरक्षागार्ड राख्नेहरूले नै खोजीखोजी महिला राख्न थालेको गिरी बताउँछिन्।

उनले भनिन्, "कहिलेकाहीँ त मादकपदार्थ सेवन गरेर महिलाहरू नै झगडा गर्न थाल्छन्, शौचालयका सिसा फुटाइदिन्छन्। उनीहरूलाई त्यहाँबाट निकाल्न पनि महिला नै चाहिन्छ। समग्रमा महिला सुरक्षागार्डको माग बढ्न थालेको छ।"

विगतमा चुनावका बेला म्यादी प्रहरी भएकाहरू सुरक्षागार्ड कम्पनीका रोजाइमा पर्ने गरेका छन्।

Image caption पूजा थापा मगर

बिर्तामोड नगरपालिका-९ की पूजा थापा मगर पनि म्यादी प्रहरी थिइन् र अहिले उनलाई सुरक्षागार्डको जागिर खान सहज भएको छ।

नबिल ब्याङ्क बिर्तामोड शाखामा सुरक्षागार्डको रूपमा काम गर्ने पूजा आत्मविश्वासका साथ काम गरिरहेको बताउँछिन्।

उनी भन्छिन्, "हामी पनि पुरुषजत्तिकै आठ घण्टा उभिएर काम गरिरहेका छौँ। आत्मबल छ। त्यो नै भएन भने कसरी काम गर्न सकिन्छ र!"

तालिम

तर म्यादी प्रहरी नभएकाहरूले पनि केही समय तालिम लिएर सुरक्षागार्ड भएका छन्।

इलाम दानाबारीकी रामकुमारी खातीले एकहप्ते तालिम लिएर झापा विर्तामोडको एउटा शपिङ सेन्टरको सुरक्षाको जिम्मा लिएकी छन्।

उनले भनिन्, "हामीले पनि ध्यान दिएर काम गर्ने हो भने सकिँदोरहेछ भन्ने मलाई लागेको छ।"

Image caption रामकुमारी खाती

आर्थिक अवस्था कमजोर भएका र शारीरिक अवस्था राम्रो भएका महिलाले सुरक्षागार्डको काम रोज्न थालेको सुरक्षागार्डका कम्पनीहरू बताउँछन्।

सुरक्षागार्ड कम्पनीका एकजना सञ्चालक विजय बस्नेत भन्छन्, "खासगरी मन्टिसोरी, स्कूल, अस्पतालजस्ता क्षेत्रमा महिलाको माग बढेको छ। पाँचजना गार्ड माग भएको ठाउँमा दुईजना महिला खोज्छन्।"

माग अनुसारको महिला सुरक्षागार्डको सङ्ख्या पुर्‍याउन अझै नसकिएको उनी बताउँछन्।

कम्पनीहरूका अनुसार महिला सुरक्षागार्डको सङ्ख्या १० प्रतिशतभन्दा बढी छैन।

त्यस्ता महिलाले १० हजारदेखि १४ हजार रुपैयाँसम्म तलब पाउने गरेका छन्। तर मेहनत अनुसार पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ।