श्रीलङ्कामा भएका हमलाबाट नेपालले के पाठ सिक्न सक्छ

  • 24 एप्रिल 2019
श्रीलंकामा शोकाकुल मानिस तस्वीर कपीराइट Reuters

श्रीलङ्काका प्रधानमन्त्रीले ३५० जनाभन्दा बढीको ज्यान लिनेगरी आइतवार गरिएका आक्रमण विदेशीको संलग्नता विना सम्भव नभएको भन्दै त्यसबारे अनुसन्धान अघि बढाइएको बताएका छन्।

त्यहाँ 'गुप्त सूचना' विवाद चर्किँदै गर्दा सुरक्षा प्रणाली बदल्ने प्रस्ताव अघि आएको छ।

श्रीलङ्का आक्रमणमा विदेशी संग्लनताबारे अनुसन्धानहरू अघि बढ्दै गर्दा प्रश्नहरू उठ्न सक्छन्:

श्रीलङ्काबाट अलि टाढै भए पनि के नेपालमा पनि त्यस्तै खाले आक्रमण हुने जोखिम रहला?

यदि जोखिम छ भने नेपालले के पाठ सिक्न सक्छ?

के त्यस्ता सुनियोजित आक्रमण रोक्न नेपाली सुरक्षा निकायहरू सक्षम होलान्?

यदि छैनन् भने नेपालले कस्ता पूर्वतयारी गर्नुपर्ला?

नेपाली सुरक्षाविद्हरू भन्छन्, विश्वभरिका मानिसहरूलाई स्तब्ध तुल्याउनेगरी श्रीलङ्कामा भएका हमला र केही साताअघि न्युजिल्यान्डमा भएका जस्ता आक्रमणहरू नेपालमा नहोला भन्न सकिन्न; यहाँ पनि कुनै पनि बेला त्यस्ता घटना हुन सक्छन्।

पूर्वतयारी गर्नु र सतर्क रहनु नेपालका लागि उत्तम हुने उनीहरू बताउँछन्।

नेपालमा कस्तो जोखिम?

तस्वीर कपीराइट Sharma/Facebook

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले बीबीसी नेपाली सेवासँग भने, "इस्लामिक स्टेट विद्रोही सङ्गठनसँग लडिरहेका अमेरिका, ब्रिटेन र रुस जस्ता देशहरूको कूटनीतिक नियोग नेपालमा छन्। हाम्रो सुरक्षा निकाय अत्यन्त सजग हुन जरुरी छ।"

अन्य देशहरूमा पनि अमेरिकी नियोगलाई निशाना बनाइएको उदाहरण दिँदै उनले "नेपालमा रहेको अमेरिकी दूतावास त एशियाकै ठूलोमध्येको" भएकोले पनि चर्चा बटुल्नका लागि मात्रै पनि "विभिन्न आतङ्कवादी समूहले" हमलाका लागि नेपाललाई पनि रोज्न सक्ने जोखिम कायमै रहेको बताए।

उनको विचारमा नेपालमा विभिन्न थरी विदेशीहरूको आगमन र चलखेल हुने गरेको छ।

उदाहरणका लागि सन् १९९९ को डिसेम्बर २४ मा काठमाण्डूबाट दिल्ली जानुपर्ने इन्डियन एअरलाइन्सको उडान आईसी-८१४ को अपहरणमा एक इस्लामवादी समूहको संग्लनता रहेको थियो।

भारतसँगको खुला सिमानाका कारण पनि नेपालले विभिन्न सुरक्षा चुनौतीहरूको सामना गर्दै आएको छ। भारतीय सुरक्षा निकायले पनि आफ्ना सुरक्षा चुनौती र जटिलताको दोष नेपालसँगको खुला सिमानालाई लगाउने गरेका छन्।

शर्मा भन्छन्, "नेपालमा पाकिस्तान वा कश्मीरमा सक्रिय समूहमात्र होइन चीनको सिन्जियाङ्गमा सक्रिय इस्लामवादीहरूको पनि आउजाउ रहिरहन्छ।"

उनको विचारमा जोखिमको विषय अन्य पन‌ि हुन सक्छ: "नेपालका धेरै युवा-युवती इस्लामिक स्टेट आईएस र अन्य इस्लामवादी अतिवादी समूहहरू सक्रिय रहेको सिरिया, इराक सहितका अन्य खाडी देशहरूमा कार्यरत छन्। तीमध्ये केहीलाई त्यस्ता समूहले प्रलोभन वा दबावमा पार्न सक्ने जोखिम पन‌ि रहन्छ।"

तस्वीर कपीराइट Thapa/Facebook

शर्माको सुरक्षा चिन्तासँग सशस्त्र प्रहरी बलका पूर्वएआईजी रविराज थापा सहमत देखिन्छन्।

उनका विचारमा नेपाल सरकारले देशभित्र सक्रिय विभिन्न असन्तुष्ट समूहका गतिविधिलाई पनि ध्यान दिन जरुरी छ।

ती समस्या बेलैमा समाधान नभए तिनले उग्र रूप लिन सक्छन् र स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने उनको चिन्ता छ।

थापाले बीबीसी नेपाली सेवासँग भने, "खाटमुनि सर्प छ भनेर ढुक्क भएर सुत्न सकिन्न। भोली खाडी पुगेका युवालाई प्रयोग गरेर आक्रमण गराइयो भने के गर्ने?"

नेपालले सिक्नु पर्ने पाठहरू के हुन्?

अब प्रश्न उठ्न सक्छ उच्च गतिको इन्टरनेट र विभिन्न ठूला शहरहरूसित जेट विमान उडानमार्फत् जोडिएको नेपाल कसरी सुरक्षित रहिरहन सक्छ?

तस्वीर कपीराइट Nepal Army

सुरक्षाविद्हरू भन्छन्, नेपालको आन्तरिक सुरक्षा अवस्थालाई अझै सबल बनाउने हो भने नेपाली सुरक्षा निकायहरूले बदलिँदो सूचना प्रविधिबारे जानकार हुन र तिनको प्रयोग तथा नियन्त्रण गर्न अभ्यस्त हुन ढिलो भइसकेको छ।

साथै उनीहरू आपसमा मिलेर काम गर्नुको कुनै विकल्प छैन।

नेपाली सेनाका पूर्व सहायक रथी दिलिप रायमाझीले बीबीसी नेपाली सेवासँग भने, "यस्तो खालको जोखिमसँग जुध्न नेपालका सबै सुरक्षा निकायहरूले एकीकृतरूपमा गोप्य सूचना प्राप्त गर्ने र तत्कालै साटासाट गरेर कारबाही थालिहाल्ने संयन्त्रको तत्काल विकास गर्नु पर्छ।"

उनले भने, "संवेदनशील सूचनाको विषयमा आपसमा प्रतिस्पर्धा गर्ने होइन। तत्कालै गोप्य सूचना साटासाट गरेर कारबाही अघि बढाइहाल्नुपर्छ।"

राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख शर्माका विचारमा नेपाल आउजाउ गर्ने नेपालीका अतिरिक्त सबैखाले सन्दिग्ध विदेशी तथा स्वदेशीका गतिविधिको निरन्तर निगरानी हुनु अत्यावश्यक भइसकेको छ।

उनी भन्छन्, "त्यसका लागि राज्यका सबै सुरक्षा निकायहरू सतर्क रहन आवश्यक छ।"

'हमला त भुइँचालो जस्तै हो'

सुरक्षाविद्हरू भन्छन्, सुरक्षाका सम्बन्धमा विगतको पाठलाई बिर्सनु हुँदैन। त्यसका आधारमा भविष्यको लागि समयसापेक्ष रणनीति बनाइहाल्नु पर्छ।

सशस्त्र प्रहरी बलका पूर्वएआईजी थापाका अनुसार नेपालका आन्तरिक "अतिवादी समूहले विगतमा देशका ठूला राजनीतिक नेताहरूको हत्या गर्ने असफल प्रयास गरिसकेका छन्।"

उनले भने, "त्यस्तो र अझै ठूलो जोखिम कायमै छ। तर नेपाल सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको छैन। शङ्का गर्ने ठाउँ धेरै छ … श्रीलङ्कामा भएको जस्तो हमला भुइँचालो जस्तै हो। त्यो (विना कुनै चेतावनी) अचानक आइपर्नसक्छ।"